भारत र चीनका राजदूतको संसदीय सुनुवाइ
काठमाडौः व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ ।
सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो ।
प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरेका थिए ।
आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अठोट गरेका थिए । उनीहरुले नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वाससमेत दिलाए ।
कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ’ उनीहरुले भने । रासस