एन्फा मैदानमै पिटिए रेफ्री
काठमाडौः अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन र लापरबाहीका कारण मंगलबार रेफ्री पिटिएका छन् । सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा न्युरोड टिम (एनआरटी) विरुद्धको खेल सकिएपछि श्रीकुमारी क्लबका अफिसियलसहितको भीडले मैदानभित्रै पसेर मुख्य रेफ्री सुदिश पाण्डे तथा लाइसम्यानद्वय पदम भुजेल र युनाल मल्ललाई आक्रामण गरेको थियो । लछारपछारसँगै कुटपिट हुँदा रेफ्री पटकपटक भुइँमा लडेका थिए ।
खेलको अन्त्यतिर लाइन्स म्यान पदम भुजेलको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै नाराबाजी गरेका श्री कुमारीका अफिसियल त्यसको केही मिनेटपछि मैदानमै प्रवेश गरेका थिए । तर खेल सामान्यरूपमा सकिएको थियो । लाइन्सम्यान पदमलाई आक्रमण गर्न आएको भीडलाई पन्छाउन जाँदा सुदिश र युनाल पनि पिटिएका थिए । यति ठूलो घटना भइरहँदा पनि त्यहाँ कुनै सुरक्षा अधिकारीको उपस्थिति देखिएन, न त त्यहाँ एन्फा पदाधिकारी नै गम्भीर देखिए ।
जनरल कोअर्डिनेटर राजेन्द्र न्यौपाने घटना भइरहँदा दर्शक बन्दै मैदान छिरेका थिए । पर्याप्त सुरक्षाकर्मीबीच खेल खेलाउनुपर्ने प्रावधान रहे पनि त्यतिबेला दुई जना प्रहरीमात्र त्यहाँ थिए । खेलको सबै जिम्मेवारी निर्वाह गर्ने म्याच कमिस्नरसमेत खेलमा उपस्थित देखिएन ।
एन्फाले सो खेलका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरलाई म्यान कमिस्नर तोकेको थियो । तर तुलाधर सोमबार नै भारत पुगेका छन् । नेपालमै नभएका कर्मचारीलाई म्याच कमिस्नर बनाइनु एन्फाको चरम लापरबाही देखिन्छ ।
रेफ्री कमिसन प्रमुख तथा पूर्वफिफा रेफ्री सुरेन्द्र सिखाकारले कुनै ठोस कारबाही नभएसम्म रेफ्रीले खेल बहिष्कार गर्ने बताए । ‘रेफ्री पिटिन्छ भने उसले कसरी खेल खेलाउन सक्छ ? रेफ्रीको सुरक्षा हुनुपर्यो र दोषीमाथि कारबाही हुनुपर्यो', उनले भने ।
श्री कुमारी क्लबका अध्यक्ष नकुल हमालले आफ्नो क्लबबाट गल्ती भएको स्वीकार गरे । ‘रेफ्री पिटिएपछि हाम्रो गल्ती हुने नै भयो । नहुनुपर्ने घटना भयो । रेफ्रीका निर्णयले हाम्रा समर्थक पटकपटक आक्रोशित थिए । उनीहरूले त्यसलाई नियन्त्रण गर्न सकेनन् । मैले छुट्याउने प्रयास गरेँ पनि असफल भएँ', उनले भने ।
एन्फा आफैं अन्योलमा
रेफ्री पिटिँदासमेत एन्फाको कुनैपनि समितिको आपत्कालीन बैठक बसेर चासो देखाउन सकेन । एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधानसँगै सीईओ तुलाधार एसियाली फुटबल महासंघ (एएफसी) कंग्रेसमा सहभागी हुन भारत पगेका छन् । यस्ता घटनामा अनुशासन कमिटीको चासो देखाउनुपर्ने भए पनि यो कमिटी नै निष्क्रिय जस्तै छ ।
महेश विष्टको संयोजकत्वमा रहेको तीन सदस्यीय अनुशासन कमिटीका पदाधिकारीको उपस्थिति प्रायः खेलमा देखिँदैन । हरेक खेलमा म्याच कमिस्नर अनिवार्य हुन्छ जसले खेल भइरहँदा सबै पक्षको व्यवस्थापन गरिरहेको हुन्छ । तर म्याच कमिस्नरबिना नै एनआरटी र श्री कुमारीबीचको खेल सञ्चालन गरिएको थियो ।
म्याच कमिस्नर, मुख्य रेफ्री, रेफ्री एसेसर र खेलको फुटेजलाई अध्ययन गरेर अनुशासन कमिटीले निर्णय गर्ने गर्छ । एन्फाले आयोजना गर्ने हरेक खेलमा सेक्युरिटी अफिसर, इन्ट्रिग्रिटी अफिसर, जनरल कोअर्डिनेटर, रेफ्री अफिसर, मिडिया अफिसरको अनिवार्य उपस्थिति हुनुपर्छ । यद्यपि सुरक्षा व्यवस्थापनसम्बन्धी निर्णय गर्ने सेक्युरिटी अफिसरको व्यवस्था भएको छैन । एन्फाका सहायक महासचिव सञ्जीव मि श्रले पर्याप्त संयन्त्रको अभावमा तत्काल कदम चाल्न नसकिएको स्वीकार गरे ।
महत्वपूर्ण थियो खेल
उक्त खेलमा एनआरटीले श्रीकुमारीलाई १-० गोलले हराएको थियो । हारपछि श्रीकुमारी ११ खेलबाट २१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ११ खेलपछि २२ अंक भएको च्यासल शीर्षस्थानमा छ । समान खेलपछि २२ अंक भएको एनआरटी दोस्रोमा छ । प्रतियोगितामा हरेक टोलीले १३ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष दुई टोली ए डिभिजनमा बढुवा हुने भएकाले उक्त खेलको नतिजा दुवै टोलीलाई महत्वपूर्ण थियो ।