सार्कको दुर्भाग्य

सार्कको दुर्भाग्य

साझा सपना र समृद्धि अनि क्षेत्रीय स्तरमा सहयोगको अवधारणा बोकेर ठीक ३१ वर्षअघि जन्मेको क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य पटकपटक धरमरमा परेको छ । स्थापनादेखि नै भारत र पाकिस्तानको द्वन्द्वको छायामा यसका समस्त सम्भावनाहरू असान्दर्भिक जस्तै बन्न पुगेका छन् । विगतमा प्राय सबै अवसरमा कुनै सदस्य राष्ट्रले प्रतिकात्मक विरोधस्वरूप शिखर सम्मेलनमा भाग नलिने निर्णय गर्दा त्यसको पछाडि मुख्यतया भारत नै रहेको देखिन्छ ।

यसपल्ट त भारत स्वयंले अगाडि आएर दुई महिनापछि पाकिस्तानमा निर्धारित १९ औं शिखर सम्मेलनमा सहभागी नहुने निर्णय सार्वजनिक गर्‍यो र त्यसको लगत्तै बंगलादेश र भुटानले पनि आफू अनुपस्थित रहने निर्णय गरे । दुई पक्षीय तिक्तताले क्षेत्रीय सम्भावना मर्नु दुर्भाग्यपूर्ण हो, तर सार्कको हकमा यो दुर्भाग्य उसको निरन्तर नियति बन्न पुगेको छ ।

पक्कै पनि भारत र पाकिस्तानबीचको तिक्तताले एउटा डरलाग्दो आयाम लिएको छ अहिले, दुई स्वतन्त्र राज्यबीचको उनीहरूको ऐतिहासिक सम्बन्ध त्यही अनुपातमा खल्बलिएको छ । भारतभित्रै सत्तापक्षबाट पाकिस्तानले भारतमा आतंकवादी घुसपैठ र यता आएर सेनाको उरीस्थित केन्द्रमा आक्रमण गराएको आरोपका साथ चेतावनीस्वरूप युद्धमा जानुपर्ने दबाब सरकारमाथि परेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापारिक दृष्टिकोणले पाकिस्तानलाई दिइएको ‘मोस्ट फे वार्ड नेसन' को हैसियतसँगै भारत विभाजन र पाकिस्तानको जन्मका समयमा गरिएका मुख्य ६ नदीहरूको पानीको बाँडफाँटसम्बन्धी सहमति रद्द गर्ने सम्भावनालाई पनि अगाडि बढाएको छ ।

त्यो सहमतिलाई भारतले एकतर्फी रूपमा रद्द गर्न नमिल्ने र त्यसो भएमा पाकिस्तान अन्तर्राष्ट्रिय अदालतमा जान सक्ने चेतावनी इस्लामावादबाट आएको छ । एकातिर सार्क छिन्नभिन्न हुने अर्कोतिर यस क्षेत्रका दुई महत्वपूर्ण मुलुकको द्वन्द्व अन्तर्राष्ट्रिय कारण हुने सम्भावना दुर्भाग्यपूर्ण र अशुभ संकेत हो ।

सर्वसम्मति र सबैको उपस्थितिमा सञ्चालित हुने शिखर सम्मेलन हाल सार्कको अध्यक्षता गरेको नेपालले सम्पन्न गराउन खासै भूमिका खेल्न सक्ने देखिँदैन । निर्धारित मुलुक या अबको नेतृत्व लिने तयारीमा रहेको पाकिस्तानबाहेक अन्यत्र सम्मेलन सम्पन्न गर्न नसकिने हुँदा कमसेकम त्यस प्रयोजनका लागि भारत र पाकिस्तानले सौह्रार्दता र कूटनीतिक परिपक्वता देखाएमा सार्कलाई अझै पनि ‘भेन्टिलेटर' बाट बाहिर ल्याउन सकिने छ ।

हो, उग्रवाद र आतंकवाद अनि एउटा छिमेकीले अर्को देशमा असहज परिस्थिति उत्पन्न गर्न उनीहरूसँग सहकार्य गरेका प्रशस्त उदाहरण छन् यस क्षेत्रमा । त्यसैले आतंकवाद तथा उग्रवादविरुद्ध द्वैधताविहीन व्यवहार द्वन्द्वग्रस्त दुई मुलुकसहित सबैले अपनाएमा क्षेत्रीय हैसियत प्रवल हुनेछ दक्षिण एसियाको ।

तर दुई मुलुकले आतंकवाद र उग्रवादबारे आन्तरिक र बाह्य राजनीतिमा फरक-फरक मान्यता र व्यवहार राख्ने हो भने त्यसले प्रचुर सम्भाव्यतायुक्त दक्षिण एसियाली क्षेत्रलाई अस्थिरता र भयकै भुमरीमा राखिरहने छ । सार्क शिखर रद्द हुनुले तनाव र द्वन्द्वको सम्भावना बढाउँछ । त्यसैले सम्मेलन रद्द गर्नुभन्दा कुनै तरिकाले त्यसलाई सम्पन्न गराउने प्रयास क्षेत्रीय हिसाबले बढी विवेकसम्मत हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.