मदिरा ट्रेन्ड
काठमाडौं: रियल स्टेट र सेयर मार्केटको सोझो व्यापार महँगा मदिरासँग छ । तिनको भाउ उकालो चढ्दा महँगा मदिराको व्यापार गर्माउँछ, ओरालो लाग्दा व्यापार ठण्डा हुन्छ । 'इजी मनी हुँदा मदिरामा मन खोलेर खर्च गर्ने मानवीय प्रवृत्तिनै हो,' मदिरा व्यवसायी अमित अग्रवाल भन्छन्, 'एकदम मेहनत/दिमाग प्रयोग भएको छ भने पैसा भए पनि पैसाको लोभ हुन्छ ।'
२२ वर्षको मदिरा कारोबारमा यस्ता धेरै प्रवृत्ति अमितले देखेका छन् । व्यापार सुरु गर्दा र अहिलेको जमानाबीच उनको अनुभव नेपाली समाजमा कति बदलिएको छ भन्ने प्रमाण पनि हो । त्यो जमानामा स्कचका पारखी नभएका हैनन् । तर उच्च आम्दानी गर्नेले पनि रेड लेबल, ब्ल्याक एन्ड ह्वाइट, ह्वाइट हर्स पिउँथे ।
यसपछि रेड लेबल र भ्याट ६९ को जमाना आयो । 'ब्ल्याक लेबल/सिवास रिगल पिउने त एकदम हाइक्लासका मानिन्थे,' उनी सम्झिन्छन्, 'अहिले यी मदिरा मध्यमवर्गको ड्रिंक हुन पुगे ।' मुलुकमा ब्लु लेबल र रोयल सल्युटलाई पपुलर बनाउने काम क्यासिनोले गरे । महँगा (१५ हजारमाथिका अल्ट्रा प्रिमियम) मदिरा किनेर पिउने कमै हुन्छन् ।
गिफ्ट दिन प्रयोग हुन्छ । क्यासिनोले 'राम्रा' ग्याम्बलरका लागि ब्लु लेबल र रोयल सल्युट सर्व गरेपछि पपुलर भयो । अहिले पनि अति महँगा मदिरा नियमित सेवन गर्नेले किन्ने हैन, गिफ्ट दिनकै लागि हो । अमितको ग्रिनलाइनमै पाँच लाख रुपैयाँ पर्ने कोन्याक लुई १३ पनि छ । तर वर्षमा एकाध बोतल बिक्री हुने उक्त मदिरा गिफ्टमै प्रयोग हुन्छ ।
त्यो जमानामा जसले ब्ल्याक लेबल/सिवास पिउँथे, त्यो क्लास अहिले विरलै त्यो ड्रिंक पिउँछ । कम्तीमा पनि डबल ब्ल्याक/१८ वर्षको सिवासमा सिफ्ट भएको छ । कति ब्लु लेबल/रोयल सल्युटमा उक्लिए । धेरैजसोचाहिँ सिंगल मल्ट पिउने भएका छन् । पाँच वर्षभित्रमा सिंगल मल्टप्रति क्रेज देखेर अमित पनि छक्क परेका छन् । उमेरमा ४० नाघेको र उच्च आम्दानी गर्नेमा सिंगल मल्ट फेसनका रूपमा पपुलर हुँदैछ । नेपालीको विदेशमा आवतजावत बढेको छ ।
इन्टरनेटका कारण संसारभरिको ट्रेन्ड तुरुन्त थाहा हुन्छ । यसैले पनि महँगो मदिरा भन्नासाथ ब्ल्याक लेबल, सिवास रिगल, ब्लु लेबल थाहा हुनेलाई अरू मदिराबारे पनि थाहा हुन थाल्यो । यसबीचमा उत्पादकले पनि सिंगल मल्टको प्राइसमा रिभ्यु गरे । पहिला छोइनसक्नु मँहगो हुने सिंगल मल्ट रिजनेबल प्राइसमा पाइन थालेको छ ।
सिंगल मल्टको डिमान्ड बढेकाले बजारमा यसको धेरै रेन्ज पाइन थालेको छ । ग्रिन लाइनले यसपालिको दसैंका लागि ४० वर्षको सिंगल मल्ट ल्याएको छ, जसको मोल दुई लाख ८० हजार रुपैयाँ पर्छ । १०, १२, १५ वर्षका सिंगल मल्ट यसअघि नै उपलब्ध थिए । अन्तर्राष्ट्रिय ट्रेन्ड पनि त्यस्तै छ । ड्युटी फ्री पसलहरूमा १०—१२ लाख रुपैयाँ पर्ने सिंगल मल्ट देखिन थाल्यो ।
त्यस बेला प्रिमियम प्रडक्ट (ब्ल्याक लेबलदेखि माथि) का पिउनेमा राणा, ठकुरी, भारदार खलक, नेवार साहुजी परिवार हुन्थे । खरिदकर्तामा विविध जातजाति हुन्थेनन् । एउटा पैसाको कमी, अर्को जानकारी थिएन, थाहा पाउने अहिलेजस्तो सञ्चार सुविधा थिएन । विदेशी मदिरा राणाकालीन दरबारमै पहिला भित्रिएका थिए । पैसा र जानकारी दुवै तिनकै वरपर सीमित थिए । अहिले जुनसुकै जातको मान्छे पनि प्रिमियम प्रडक्ट खरिद गर्न थालेको देख्न सकिन्छ । यसले पैसा सीमित घेराबाट फैलिँदै गएको देखाउँछ । सूचनाको पहुँच सबैमा पुगेको छ ।
दुईतीन वर्षमै युवा समूहमा ज्याक ड्यानियलको क्रेज पनि छक्क पर्ने खालकै छ । जेडी अमेरिकामा नेपालीको आवतजावत एउटा कारण हुनसक्छ । अमेरिकामा जेडी नम्बर वान ब्रान्ड हो । यस्तै समाजमा दिउँसै मदिरा सेवन गरेका वा साँझमै पनि युवाले मदिरा पिएको राम्रो मानिन्न । जेडी कोकमा मिसाएर पिउने चलन छ । यसैले देख्नेलाई कोक पिएको भान पार्न सकिन्छ । फेरि नेपाली यसै पनि गुलियो खान्छन् । भर्खर मदिरा पिउन थालेकालाई मदिराको स्वाद मिठो नलाग्न सक्छ । तर कोक मिसाएपछि गुलियो हुन्छ, मदिराको तितोपन पनि कम हुन्छ ।
दुई दशकमा अमितले देखेको अर्को ट्रेन्ड महिलामा मदिरा मोह हो । दुई दशकअघि उनले भेट्नेमा सयकडा दुई महिलाले मदिरा पिउँथे, अहिले ४० पुगेको अनुमान लगाउँछन् । तैपनि महिलामा पुरुषजस्तो रेगुलर ड्रिंकरचाहिँ अहिले पनि कमै छन् । मदिरामा महिला अनुशासित छन् ।
तिनले मदिरा जमघट, उत्सव, पार्टीमा पिउँछन् । त्योभन्दा बढी पिउनेले विकेन्ड (शुक्रबार) मा पिउँछन् । वाइनलाई महिला ड्रिंक मानिएको छ । तर पछिल्लो समयमा भोड्काले वाइनलाई उछिन्दैछ । महिला बिस्तारै भोडकामा आकर्षित हुनुको कारण पनि जेडीको जस्तै छ । ह्वाइट स्पिरिट मदिरामा पर्ने भोड्का पानी रङकै हुन्छ । यसमा क्यानबेरी जुस वा पानी मिसाएर पिउँदा अरूले देख्दा मदिरा नपिएको भ्रम पार्न सकिन्छ ।
विकेन्ड पार्टीेको संस्कृति फैलिँदै छ । ग्रिनलाइनमै अरू दिनको भन्दा शुक्रबार मदिरा व्यापार एक तिहाइ बढी हुन्छ । मापसे परीक्षण सुरु भएपछि सहरको पिउने तरिका फेरिएको छ । मापसेमा परिने डरले मन भए पनि कतिपयले मदिरा पिउँदैनन् । रेस्टुरेन्टको सट्टा घरैमा पिउने चलन बढेको छ । घरमा पिउँदा सस्तो पर्ने भएकाले बरु प्रिमियम प्रडक्टनै पिऊँ भन्ने पनि बढेका छन् ।
तैपनि मुलुकमा महँगा मदिराको माग एकदम उच्च भन्न सकिने अवस्था छैन । बर्सेनि अन्तःशुल्क वृद्धिले आयातीत मदिराको भाउ अकासिइरहेको छ । यस्तै डलरको विनिमय दरले पनि यसको भाउ बढाउँछ । नाकाबन्दीका समयमा आयातका क्रममा रहेका मदिराको ड्याम्रेज÷डिटेन्सन शुल्कले पनि भाउ गडबढ बनाइदियो । अबसोल्युट भोड्काको दाम पाँच हजार पुगिसकेको छ । ब्ल्याक लेबल÷सिवास रिगल ६ हजार नजिक पुगेका छन् । यसैले कतिपय पियक्कड नेपाली ब्रान्डतिर आकर्षित भइरहेका छन् ।
विदेशी मदिरा नेपालमा बोटलिङ गरिएको ओल्ड दरबार यस्ता पारखीले रुचाउने ब्रान्ड हो । 'रेड लेबल÷भ्याट ६९ मात्र हैन, ब्ल्याक लेबल÷सिवास रिगल पिउने पनि ओल्ड दरबार रोज्न थालेको उदाहरण प्रशस्त छन,' अमित सुनाउँछन् ।
अब विदेशी मदिरालाई नेपालमै ब्लेन्डिङ, बोटलिङ गर्ने सरकारले प्रोत्साहित गर्ने खालका नीति ल्याउनपर्ने उनको सुझाव छ । भारतमा यही भइरहेको छ । चार हजार रुपैयाँ पर्ने बकार्डी एकदम सस्तो भएको छ ।
चाडपर्वमा गिफ्टका रूपमा मदिरा दिने चलन पुरानो हो, विश्वव्यापी छ । नेपालमा त विकसित मुलुकको देखासिकीमा सुरु भएको हो । चीनमा गिफ्टमा केक दिने मुनकेक भन्ने पर्व छ । अब केकको ठाउँ वाइनले लिइसक्यो । कर्पोरेट कल्चर विकास हुँदै गएपछि गिफ्टमा मदिरा दिने चलन व्यापक भयो । दिनुपर्ने व्यक्तिको ओहोदाअनुसार मदिरा दिने चलन छ ।
बरु पछिल्लो एकाध वर्षयता मदिरा गिफ्ट दिने चलन घट्न थालेको अमित बताउँछन् । उनका अनुसार सरकारी निकायले गिफ्ट दिने चलन नियन्त्रण गर्यो । यस्तै कतिपय सरकारी पदाधिकारीले पनि गिफ्ट अस्वीकार गर्न थाले । गिफ्टमा आएको मदिरा कार्यकक्षमै बुझ्न लाज मान्न थालियो । अमितका अनुसार पहिला ब्ल्याक लेबल पाउनु नै ठूलो कुरा हुन्थ्यो । अब ब्ल्याक लेबल पाउनेले नाक खुम्च्याउनपर्ने अवस्था बन्यो ।
तीजको दर भन्दै वाइन बोकेर जाने संस्कृति बन्न थालेको थियो । गएको तीजमा त्यो पनि खासै देखिएन । अमितका लागि गत वर्षको दसैं मदिरा व्यापार सुरु गरेयताकै सबैभन्दा निराश रह्यो । भूकम्प, नाकाबन्दी आदिले । पैसा हुनेले पनि खुलेर खर्च गर्न डराउन पर्ने अवस्था थियो । यसपालि माहोल मदिरा अनुकूल छ । सेयर र जग्गाको भाउ उकालो लागेको छ ।