पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसँगको त्यो भेट
काठमाडौं: बेनी नगरपालिकाबाट साडे दुई किलोमीटर उत्तरतर्फ रहेको गलेश्वर क्षेत्रमा उहाँहरु नौ जना आउनुभएको थियो । यस ठाउँलाई मुक्तिनाथ प्रवेशदर पनि भनिन्छ । पूर्व मुख्य सचिव एवं गृहमन्त्री माधव घिमिरेको फुपुको छोरा त्यहाँको सहायक सिडियो हुनुहुँदा रहेछ । उहाँकी करिव १२, १३ वर्ष जति देखिने छोरी पनि सँगै आएकी थिइन् । यस क्षेत्र नौ रोपनीको एउटै पत्थरमा अवस्थित छ।
कालीगण्डकीको भित्रबाट करिव ५० फिट माथि उठेको यस गोलाकार ढुंगा विश्वकै एक अलौकिक सृजना हो । यसलाई चक्र शिवशीला पनि भनिन्छ । यहाँ आफै उत्पत्ति भएको ज्योतिरलिंग गलेश्वर शिवालय मन्दिर, शालीग्राम, नाग नागिनीहरु, गणेष, शंक चक्र, भगवानको पद चापहरु देख्न पाइन्छ । गोलाकार ढुंगाको सबैभन्दा उच्च भागमा दक्षिणदेखि उत्तरतर्फ फैलिएको करिव पाँच मिटर लम्बाई र तीन मिटर चौडाई भएको एउटा बराह कुण्ड छ । कुन्डको कतैबाट पनि पानी आएको देखिन्न । तर त्यहाँ कहिले पनि पानी सुक्दैन । यस कुण्डलाई ढपक्क ढाक्ने गरी फैलिएको काठे पिपलको रुख पनि छ । यी सबै अलौकिक बस्तुहरुको दर्शन गराएर त्यो सबै क्षेत्र उहाँहरुलाई घुमाएँ ।
घुमिसकेपछि शिवालय सचिवालय अगाडि हामी सबै जना चिया खान बस्यौं । त्यहाँ पनि उहाँले मन्दिर र यसको विकासको बारेमा कुरा गर्नुभयो । यस क्षेत्रभन्दा बाहिर हामीले गलेश्वर धाम जेष्ठ नागरिक आ श्रम खोलेका छौं । म नै त्यसको अध्यक्ष पनि हुँ । त्यहाँ अनाथ, असहाय, अपहेलित, अशक्त ६० जना वृद्धवृद्धा बसोबास गर्छन् । यसलाई हामीले नितान्त रुपमा भक्तहरुको सहयोगमा चलाइरहेका छौं । यसको बारेमा पनि थाह पाएर उहाँ निकै खुसी हुनु भयो । यति विकट ठाउँमा पनि तपाईंको नेतृत्वमा यति धेरै विकास भएको रहेछ भन्दै उहाँले मेरो प्रशंसा गर्नुभयो ।
तपाईं काठमाडौं आए मलाई भेट्नु म आफूले सक्ने र अरु मन्त्रालयमा भनेर मिल्ने जति सहयोग जुटाइदिउला पनि भन्नु भएको थियो । उहाँले गलेश्वर क्षेत्रमा प्रवेश गर्दा आफूलगायत अन्य सबैको नाम र ठेगाना लेख्नुभएको थियो । घटनाको बारेमा थाह पाएपछि मलाई त्यो पुस्तिका पल्याएर हेर्न पनि मन लागेको छैन । क्षेत्र घुमाउने क्रममा आमालाई गाह्रो भएर दुई जनाले पाखुरीमा समातेर घुमाएको पनि झलझली याद आउँछ । चिया पिएर हिँड्ने बेलामा उहाँले हात मिलाउनुभयो र गाडीमा जानुभयो । गाडी भित्र पसीसकेपछि पनि मलाई हात हल्लाउँदै बाइ गर्नुभएको थियो ।
मैले उहाँहरुलाई मुक्तिनाथबाट फर्कदा यहीँ बास बस्न अनुरोध गरेको थिएँ । उहाँले सयम मिले हेरौंला भन्नुभएको थियो । तर पछि समय नपुगेर सिँधै बेनी गएर बस्नुभएको खबर पाएँ । भोलिपल्ट काठमाडौं आउँदाको घटना सुनेर म छानाबाट खसेजस्तै भएँ । दुख लाग्यो , चिन्ता लाग्यो । सपना हो की विपना पत्याउनै सकिन । अनि उहाँहरुसँगको सम्झनालाई सदाको लागि सम्हाल्न फेसबुकमा त्यो तस्विर राखें ।
(गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष कार्कीसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानीमा आधारित)