चीनको कुनमिङमा १९ व्यक्तिको हत्या अाशंकामा एक युवक पक्राउ
साङघाई: चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ।
युनान प्रान्तको कुनमिङ सहर नजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार राति आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले बिहीबार बिहानै १९ जना गाउँले उनीहरुकै घरमा मृत अवस्थामा फेला परेका जनाएको थियो।
मृतकमध्ये ११ जना पुरुष र आठ जना महिला रहेको बताइएको छ। मृतकमा तीन वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धा रहेका छन्।
युनान प्रहरीले १९ जनाको मृत्यु भएको कुरा पुष्टि गरेको छ। यद्यपि यसमा कुनै आतङ्कवादी समूहको संलग्नता रहेको नभेटिएको चिनियाँ प्रशासनले जनाएको छ। रासस/एएफपी