काठमाडौँ–सिन्धुलीगढी साइकल यात्रा हुँदै
काठमाडौंः समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा कात्तिक २३ र २४ गते काठमाडौं–सिन्धुली साइकल यात्रा गर्ने भएको छ । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा ऐतिहासिक स्थल सिन्धुलीगढी पुगेर टुंगिने छ ।
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । हरेक बर्ष कात्तिक २४ गते गोर्खालीले विजय उत्सव मनाउने गरिन्छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रुपमा आयोजना गर्ने उक्त विजय उत्सवले सरकारी मान्यता पाएको छ । आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको दुई सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले उत्सवलाई वर्षभरी विशेष कार्यक्रम गरेर मनाउने योजना बनाएको छ । काठमाडौँ–सिन्धुली साइकल यात्रा त्यसैको सुरुवात भएको आयोजकले बताएका छन् ।
‘राइड टु सिन्धुलीगढी’ यात्रा गर्न इच्छुक साइकल यात्रीका लागि आवेदन खुल्ला गरिएको छ । प्रतिव्यक्ति हजार रुपैयाँ तिरेर सहभागी हुन सक्नेछन् । यात्रीका लागि आयोजकले खाने र बस्ने व्यवस्था गरेका छन् । त्यसका साथै टिसर्ट, बीम र फर्कदा सवारी साधनको समेत व्यवस्था समेत आयोजकले गर्नेछन् ।
साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाह समेत सहभागी हुँदै छन् ।