एमाले आकाशमा उड्ने बाज हो, अरु सबै भुइँको बट्इः ओली
काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताएका छन् । देशलाई अग्रगामी दिशा र समृद्धि बनाउनका लागि एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी उनको छ ।
एमाले सम्पर्क समन्वय समितिले बिहीबार गरेको शुभकामना कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।’
ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा उनले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए।
प्रधानमन्त्रीको चर्को आलोचना गर्दै ओलीले भने, ‘सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शक मात्र भएर हुँदैन, समाधानमा पहल गर्न सक्ने हुनुपर्छ ।’
सार्कका सदस्य मुलुक भारतले पाकिस्तानसँगको तनावका कारण पाकिस्तानमा कात्तिकमा हुने शिखर सम्मेलनमा भाग नलिने जानकारी गराइसकेको छ।
भारत र पाकिस्तानको विवादका कारण अन्य केही सदस्य मुलुकले पनि सहभागि नहुने जानकारी गराएका छन् ।