मुटु हाँसे जीवन हाँस्छ
काठमाडौंः ‘मुटु हाँसे जीवन हाँस्छ, मुटु रोए जीवन रुन्छ' यी हरफ वीर अस्पतालका कार्डियोलोजिस्ट डा. प्रकाशराज रेग्मीले ‘मुटु र जीवनको नाता' शीर्षकको कवितामा लेखेका छन् । मुटुलाई स्वस्थ बनाउन वा हँसाउन सक्नेको जीवन हाँसिरहेको छ । व्यस्त र अस्वस्थकर जीवनशैली अपनाउनेको मुटु बिगिँदै गएको पाइन्छ । मुटुको समस्या लिएर अस्पताल जानेहरूको संख्या बढ्दै छ ।
मुटुको अस्पताल खोल्ने र स्वास्थ्य सेवाको व्यापार गर्ने पनि बढ्दै छन् । बिहीबार विश्व मुटु दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा चिकित्सकहरूले यिनै वास्तविकबारे चर्चा गरे । र मुटुलाई माया गर्न सबैलाई आग्रह गरे । मुटुरोग भनेको सामान्यतया मुटुमा आउने कुनै पनि समस्या हुन । जसको तत्कालै समाधान खोजे निको हुन्छ । बेवास्ता गरे दीर्घकालीन समस्याका रूपमा रहन्छ । पछिल्लो समय हरेक घरमा मुटुका बिरामी देखा पर्न थालेका छन् र त्यो संख्या बढ्दो छ ।
विश्व मुटु महासंघका अनुसार संसारभर बर्सेनि एक करोड ७५ लाख मानिस मुटुको कुनै न कुनै रोगबाट ग्रसित छन् । यीमध्ये विकासोन्मुख र अविकसित मुलुकमा बर्सेनि यो रोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी पाइन्छ । मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेका अनुसार करिब ६० वर्षपहिले संक्रामक रोगका कारण धेरैले ज्यान गुमाउँथे ।
तर अहिले मुटुलगायत नसर्ने रोगबाट ज्यान जानेको संख्या ठूलो छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल मुटुरोगबाट मृत्यु हुनेको संख्या विकसित मुलुकहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख मुलुकहरूमा २५ प्रतिशत पुगेको छ । संगठनले सन् २०३० सम्ममा मुटु रोगबाट मात्रै विश्वभर मृत्यु हुनेको संख्या बर्सेनि दुई करोढ ५० लाख पुग्ने अनुमान गरेको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसंख्याको २० प्रतिशतलाई मुटुरोग भएको अनुमान छ । करिब ३० प्रतिशत वयस्क उच्च रक्तचापको समस्याबाट ग्रसित छन् । २० प्रतिशतलाई कोलेस्टेरोल छ । ६ प्रतिशतलाई मधुमेह छ । प्रतिष्ठानका अनुसार बालबालिकामा बाथ मुटुको रोग बढ्दो छ । नेपालका ९० प्रतिशत मानिसले मुटुमैत्री खाना नखाने गरेको पाइएको छ ।
मुटुमा विभिन्न प्रकारका रोगहरू देखा पर्न सक्छन् । नेपालीमा धेरै देखिएका केही मुटुरोगको चर्चा गरौं ।
जन्मजात मुटुरोग
कार्डियोलोजिस्ट डा. मृगेन्द्रराज पाण्डेका अनुसार जन्मजात मुटुरोग नेपाली बालबालिकामा धेरै देखिने गरेको छ । डा. पाण्डे भन्छन्', जन्मजात मुटुरोग भएका शिशुको मुटु कमजोर बन्ने भएकाले चाँडै नै मुटुले काम गर्न छोड्छ र उनीहरूको मृत्यु पनि हुन सक्छ । नेपालका लागि यो ठूलो चुनौतीका रूपमा देखा परेको छ ।
अमेरिकी हर्ट एसोसिएनका अनुसार जीवित जन्मिने एक हजार शिशुमध्ये पाँचदेखि आठ जनालाई यो समस्या देखिने गरेको छ । विकसित राष्ट्रहरूमा पनि यो रोग भएका एक तिहाइ शिशुले जीवनको पहिलो वर्ष पूरा गर्न नपाएको पाइन्छ । जन्मजात मुटुको रोग भएका बच्चाहरूको मुटुका विभिन्न कोठाहरूबीचको पर्दा र रक्तनलीहरूमा प्वाल परेको हुन्छ ।
विश्व मुटु महासंघका अनुसार संसारभर बर्सेनि एक करोड ७५ लाख मानिस मुटुको कुनै न कुनै रोगबाट ग्रसित छन् । यीमध्ये विकासोन्मुख र अविकसित मुलुकमा बर्सेनि यो रोगबाट मृत्युहुनेको संख्या ८० प्रतिशतभन्दा बढी पाइन्छ ।
यसले गर्दा मुटुमा कतै रगत नपुग्ने र कतै धेरै हुने गर्छ । रगत नपुगेको भाग सुक्दै तथा बढी भएको भाग फुल्दै गएर मुटुले काम गर्न छोड्छ र बच्चाहरू मृत्युको मुखमा पुग्न सक्छन् । मुख्यतया जन्मजात मुटुको समस्या लिएर जन्मने शिशुहरूमा श्वासप्रश्वासको समस्या देखिने, शारीरिक वृद्धि एकदमै कम हुने, धेरबेर खेलेमा शरीर नीलो हुने, ज्वरो आउनेलगायत समस्या देखिन्छ । शिशुको अवस्था हेरेर कसैको शिशु अवस्थामै, कसैको स्कुल जाने बेलामा कसैको वयस्क भएपछि चिकित्सकले शल्यक्रिया गर्ने गरेका छन् । जुन सुविधा नेपालमै छ ।
बाथ मुटुरोग
नेपालमा विद्यालय जाने उमेरका बालबालिकामा बाथ मुटुको रोग देखा पर्ने गरेको छ । बाथ मुटुरोगबारे जनचेतना फैलाइरहेका डा. रेग्मीका अनुसार विद्यालय जाने उमेरका बालबालिकामा दोहोरिँदा ज्वरो र घाँटीको दुखाइ पटकपटक बाथ ज्वरो र बाथ मुटुरोग निम्त्याउँछ । घाँटीको सामान्य संक्रमणबाट सुरु हुने बाथ ज्वरोबाट बाथ मुटुरोग देखिने गरेको छ ।
उनी भन्छन्, ‘चिसो र गुम्सिएको ठाउँमा धेरैबेर बस्दा बाथज्वरो देखा पर्न सक्छ । बालबालिकाको कक्षाकोठा घाम र हावा राम्ररी पस्ने खालको हुनुपर्छ ।' यो समस्याबाट नेपाली बालबालिका ग्रसित हुने क्रम बढ्दो छ । बाथ ज्वरो आएका ५० प्रतिशतभन्दा बढी बालबालिकामा मुटुका भल्भ खराब भइरहेको अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिएक लाख बालबालिकामध्ये सय जना यस रोगबाट पीडित छन् । दस प्रतिशत मृत्युको कारण यही समस्या हो । नेपालमा एक लाख बालबालिकामा प्रतिवर्ष तीन सयदेखि पाँच सय जनासम्म पीडित हुने गरेका छन् ।
हृदयाघात (कोरोनरी मटुको रोग)
औद्योगीकरण र जीवनशैलीको परिवर्तनसँगै हृदयाघातको समस्या बढ्दै गएको छ । विज्ञहरूले सन् २०३० सम्ममा हृदयाघात संसारकै मृत्युको पहिलो कारण बन्ने अनुमान गरेका छन् । नेपालमा सबैभन्दा धेरै हृदयाघातको समस्या देखिने गरेको छ । पछिल्लो समय यसले युवा उमेरका मानिसको पनि ज्यान लिन थालेको छ ।
सहिद गंगाल हृदय रोग केन्द्रका कार्डियालोजिस्ट डा. यादव भट्टका अनुसार मटुका मांसपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुँदा हृदयाघात हुने गरेको छ र सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ । नेपालमा यो रोगबाट ज्यान गुमाउने मानिसको संख्या बढ्दै गएको छ । विशेषगरी मोटोपनका समस्या भएका र अत्यधिक तनावयुक्त वातावरणमा काम गरिरहेका मानिसमा यो समस्या देखिन थालेको छ । यो विषयबारे संसारभरि नै बहस हुन थालेको समेत छ ।
मुटुरोगबाट मानिस ग्रसित हुने क्रम बढेसँगै यसका कारक तत्व केके हुन् र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा चर्चा पनि हुन थालेको छ । मुटुरोगका मुख्य कारक तत्वबारे यस्ता छन्ः
गर्भवती सचेत नहुँदा
जन्मजातरूपमा हुने मुटुरोगको कारण अझै यकिन भइनसकेकाले यसबाट बच्ने उपायबारे पनि स्पष्ट हुन सकिएको छैन । तर पनि चिकित्सकहरू वंशाणुगत कारणले धेरै जसो यो रोग हुने बताउँछन् । गर्भवती महिलामा दादुरा, रुबेला, भाइरल ज्वरो धेरै देखिँदा र उनीहरूले सेवन गर्ने छारेरोग केही मानसिक रोगका औषधिहरूले पनि शिशुमा उक्त समस्या निम्तिन सक्छ ।
उच्च रक्तचाप
ग्रान्डी इन्टरनेसनल हस्पिटलका कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिल उच्च रक्तचापका कारण लाखौं मानिसले मुटुको रोग बोक्नु परेको छ । त्यसमा युवाको जमात धेरै छ । मुटुको धमनीमा रगतको प्रवाहमा अवरोध आउँदा हृदयाघात हुने गरेको छ । कतिपयलाई वंशानुगत रूपमै उच्च रक्तचापको समस्या देखिन सक्छ भने कतिपयलाई अस्वस्थकर जीवनशैलीका कारण निस्कने गर्छ । मिर्गौलामा समस्या भएका, थाइराइड भएका, नुनचिनी अत्यधिक प्र्रयोग गर्ने, मधुमेह, अल्कोहललगायतको सेवन गर्नेहरूमा उच्च रक्तचापको समस्या देखिन्छ ।
मोटोपन
मोटोपन अहिले आम मानिसको समस्या बनेको छ । मोटोपनको विकसित मुलुकका लागि मात्र नभई विकासोन्मुख मुलुकमा पनि समस्या बन्दै गएको छ । नेपालका सहरी क्षेत्रमा बालबालिकाले खाने जंकफुडले मोटोपनको समस्या ल्याइरहेको छ । उमेर बढ्दै जाँदा उनीहरूमा मुटुको विभिन्न समस्या देखिने चिकित्सक बताउँछन् । जुन अध्ययनले समेत पुष्टि गरेको छ । सामान्यतया मुटुको रोग युवा अवस्थामा पुगेपछि देखिने भए पनि पछिल्लो समयमा दुई वर्षदेखि १२ वर्ष उमेरका बालबालिकामा यसको खतरा देखिन थालेको नेदरल्यान्डमा हालै गरिएको एक अध्ययनले देखाएको हो ।
थाइरोड, मधुमेह र मुटुरोग
थाइरोडको समस्याले मुटुको चाल असामान्य हुनुका साथै हृदयरोगको सम्भावना बढाउँछ । हालै भएको अध्ययनले अकस्मात हृदयाघात भएर हुने मृत्युलाई पनि थाइरोडबाट हुने समस्यामा जोडेको छ । अध्ययनअनुसार सामान्य अवस्थामा रहेको भनिएको थाइरोड हार्मोनको स्तर माथि छ भने अकस्मात हृदयाघात भएर मृत्यु हुन सक्ने सम्भावना हार्मोनको स्तर तल भएकाहरूभन्दा चार गुणाले बढ्छ ।
यसअघि अकस्मात हुने हृदयाघातपछिको मृत्युलाई हृदयरोगसँग जोडिएका अन्य कारकहरू जस्तै शरीरमा बढी कोलेस्ट्रोलको मात्रा, उच्च रक्तचाप आदिसँग जोडेर हेरिन्थ्यो । मधुमेहका कारण पनि मुटुमा समस्या आउन थालेको छ । मधुरोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो ।
इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन्छ । इन्सुलिनले कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन जान्छ । यसमा असन्तुलन पैदा हुँदा मुटुमा पनि समस्या ब्ढ्दै जान्छ ।
शारीरिक निष्क्रियता
शरीरलाई निष्क्रिय बनाउने अर्थात् शारीरिक व्यायाम गर्न झन्झट मान्दा मुटुका अनेकौं समस्या निम्तिन सक्छ । चिकित्सकले सबैभन्दा धेरै जोड दिने विषय यही हो । उनीहरू भन्छन्, ‘शरीर जति फुर्तिलो बनाउन सक्यो त्यति नै मुटु रोगबाट टाढा रहन सकिन्छ ।' दिनभरि कुर्सी-टेबुलमा बसेर काम गर्ने, टीभी हेर्ने, किताब पढ्ने, कम्प्युटरमा काम गर्ने, भिडिओ खेलमा अल्मलिने, मोबाइल फोनका कार्यक्रम चलाइरहने ‘स्क्रिन टाइम' मा घन्टौंसम्म अल्मलिने र तास वा चेस खेल्नेजस्ता जीवनशैली लामो अवधिसम्म अपनाउँदा शरीरमा अनेकौं विकार पैदा हुन्छन् । बिहान-बेलुकी हिँड्ने वा व्यायाम नगर्ने हो भने हाम्रो शरीर नै रोगको घर बन्नपुग्छ । यसको असर मुटुलाई नै पर्छ । कम्तीमा बिहान वा साँझ आधा घन्टा शारीरिक व्यायाम गर्न सकियो भने त्यसले शरीरमात्र होइन मन पनि फुर्तिलो बनाउँछ ।
तनाव
अहिलेका मानिसका दैनिकी भागदौडमै बित्ने गरेको छ । सधैं व्यस्त रहने भएकाले अनेकौं जिम्मेवारी पनि उनीहरूलाई थपिएको छ । दैनिक अनेकौं समस्या सुल्झाउन परेको छ । जसका कारण उनीहरू तनावमय जीवन बिताउन बाध्य छन् । मुटुरोगको सामना पनि उनीहरूलै गर्नु परेको छ । डा. पाण्डे अहिलेको अति व्यस्त जीवनले अनेकौं किसिमको तनाव सिर्जना गरेको बताउँछन् । मानिसको निद्रा हराएको छ । राम्रो निद्रा नपर्दा मानिस तनावमा पर्ने गर्छ र उसको मुटुमा असर पुग्न थालेको छ । चिकित्सकहरू तनावमुक्त जीवन जिउन हौस्याइरहेका छन् ।
अस्वस्थकर खानाको बढ्दो प्रयोग
स्वस्थ खानाको अभावले मानिसमा मुटुको समस्या धेरै देखिन थालेको छ । अत्यधिक भुटेको, तारेको माछामासु, चिल्लो पिरो खाना दैनिक खाने, व्यस्तताको नाममा जंकफुड, कोल्ड ड्रिङ्स, आल्कोहलको अत्यधिक प्रयोगले मानिस मुटुरोगबाट ग्रसित हुन थालेका छन् ।
मुटुरोगका लागि जोखिम तत्वहरू कोलेस्टेरोल, धूमपान गर्ने बानी पनि हुन । यस्ता समस्या भएका मानिसले समयमै चिकित्सकको सल्लाह लिन जरुरी छ।
मुटुरोगका लक्षणहरू
.छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने
. धेरै पसिना आउने
. सास फेर्न कठिनाइ हुने
. वाकवाक लागिरहने
. बोल्दा कठिनाइ हुने, जिब्रो लर्बरिने
. शरीरको कुनै अंगले काम गर्न छाड्ने
. हात झमझमाउने तथा चेतनाविहीन बन्ने
. खुट्टा सुनिने
.रिंगटा लाग्ने
. आलस्य भई कमजोरी हुने
. कुनै काम नगरेको अवस्थामा पनि स्वाँ स्वाँ हुने
. पिसाब कम हुने
मुटुरोगको उपचार विधि
मुटुरोगको उपचार विभिन्न तरिकाले गर्न सकिन्छ । सहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक एवं कार्डियोसर्जन डा. जोतेन्द्र शर्माका अनुसार मुटुका समस्या भएका मानिसको औषधि, क्याथ ल्याब वा शल्यक्रियाबाट उपचार गर्ने गरिन्छ ।
पहिलो स्टेजमा आएका बिरामीको सामान्यतया औषधि खुवाएर रोग निको पार्ने कोसिस गरिन्छ । अलि धेरै समस्या बोकेर आएकालाई क्याथ ल्याबका विधि अपनाएर उपचार गरिन्छ र गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको शल्यक्रिया गरिन्छ । यी सबै सेवा नेपालमै उपलब्ध छन् ।
अन्तर्राष्ट्रिय मुलुकमा मुटु नै प्रत्यारोपण गर्ने प्रविधिको विकास भइसकेको छ । पछिल्लो समय सबैभन्दा धेरै चिन्ताको विषय हृदयाघातको बनेको छ । उपचारका लागि एन्जियोप्लास्टी वा बाइपास सर्जरीको आवश्यकता पर्ने गरेको चिकित्सक बताउँछन् ।
कसरी स्वस्थ राख्ने त मुटुलाई
मुटुलाई माया गर्नु भनेको पूरै शरीरलाई माया गर्नु हो । सबैभन्दा पहिले मानिस तनावमुक्त वातावरणमा बाँच्नुपर्छ र त्यसका लागि उपायको खोजी गर्नुपर्छ । मुटुरोग निम्ताउने जे जति कारक तत्वको चर्चा गर्यौं त्यसबाट टाढा रहनु नै मुटुरोगबाट बच्नु हो । हामीले बिर्सेका हाम्रै संस्कृति र परम्पराका राम्रो स्वास्थ्यवद्र्धक कुराहरूलाई जीवनमा अपनाउने हो । डा. रेग्मी भन्छन्, ‘आंशिक शाकाहारी, कम कार्बोहाइड्रेट र बढी फाइवरयुक्त आहार, धूमपान त्याग, योगासन, ध्यान, तनावमुक्ति, सकारात्मक चिन्तन र मायाप्रेम नै मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।'
विश्व मुटु महासंघको सन्देश
.आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
. स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल जाँच गर्ने र पेटको नाप र मोटोपनबारे जानकारी लिनुपर्छ ।
. आफूलाई रहेको खतराबारे जानकारी पाएपछि स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिनुपर्छ ।
. हृदयाघातको लक्षण नदेखिन पनि सक्छ । त्यसका लागि नियमित रक्तचाप जाँच गर्नुपर्छ । बढी भएको जानकारी पाउनासाथ त्यसको नियन्त्रणमा लाग्नुपर्छ ।
. नियमित व्यायाम गर्ने, नुन चिल्लो र चिनी कम खाने, चुरोट, सूर्ती नखाने र मोटो पनि नियन्त्रणमा राख्ने काम आफैंले गर्नुपर्छ ।
. मानसिक तनावबाट टाढा रहनुपर्छ ।
. दैनिक प्रशस्त फलफूल र हरियो तरकारी खानुपर्छ ।
. तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ ।
. युरिक एसिड बढेकाहरूले खानामा ध्यान दिनुपर्छ ।