रोयको पेम्बा अनुभूति
ठाउँअनुसार फरक संस्कृति भएको नेपालको हिमाली भेगमा बहुपति प्रथा अझै कायम छ । यो प्रथामा महिला त अन्यायमा परेका छन् नै, पुरुषलाई पनि न्याय भएको छैन ।
बहुपति प्रथाकै विषयमा शिल्पी थिएटरमा प्रदर्शन भएको नाटक ‘थांगला'मा उक्त अवस्थाको चित्रण गरिएको थियो । नाटकका मुख्य पात्र पेम्बाको भूमिकामा रोय दीप छन् । आमासमानकी भाउजूलाई श्रीमती भन्नुपर्दाको पीडालाई अभिनयमा उतारेका रोयले वास्तविक जीवनमा यस्तो कल्पना पनि गरेका छैनन् ।
केही वर्षदेखि यो प्रथा घट्दै गए पनि अझै कहीँकतै भेटिन्छ ।
रोयले अभिनयको अनुभव सुनाउँदै भने, ‘पेम्बाको चरित्रमा आफूलाई ढाल्न निकै कठिन भयो ।' नाटकको अन्तिम ‘सबो'सम्म पनि उनले उक्त चरित्रलाई शतप्रतिशत प्रस्तुत गर्ने प्रयास गरे । कलाकारले अभिनय गर्नुपर्ने परिस्थिति सबै आफैंले भोगेको हुँदैन ।
तर, त्यो परिस्थिति दुरुस्तै पार्न सकेन भने चरित्रमाथि न्याय हुँदैन । रोय आफूले अभिनय गर्नुपर्ने चरित्रहरूलाई सकेसम्म ती परिस्थिति भोगेका मानिसहरूबाट सुन्ने गरेको बताउँछन् ।
छोरा समानको व्यक्तिलाई श्रीमान् भन्नुपर्ने, शारीरिक सम्बन्ध राख्नुपर्ने । नाटकमा श्रीमतीको भूमिकामा दिया मास्के देखिएकी थिइन् । दुवैको मनले एकअर्कालाई श्रीमान् श्रीमतीका रूपमा स्वीकार गरेको हुँदैन । तर, समाजका अगाडि उनीहरूले घुँडा टेक्नु परेको कुरा नाटकमा देखाइएको थियो । बाध्यतामा कतिले आफ्नो चाहनाको हत्या गरेका छन् त कतिले आत्महत्या गरे होलान् । नाटकमा पनि पेम्बाले आत्महत्या गरेको दृश्य हुबहु उतारेका थिए ।
पेम्बाको दुःख महसुस गर्दै जाँदा बहुपति हुनुको पीडा रोयले महसुस गरे । भन्छन्, ‘आमा समानकी महिलालाई श्रीमती भनेर सम्बन्ध बनाउनुभन्दा ठूलो पीडा के होला ? ' पेम्बाको संसार हिमालभित्रै सीमित हुन्छ । उसले अरू समाज देखेको बुझेको हुँदैन ।
धर्मकै बाटो समाएर, समाजले देखाएको गोरेटोमा हिँड्ने एक अशिक्षित पेम्बाको ठाउँमा जन्मिएको भए आफ्नो नियति पनि त्यस्तै हुने कल्पनाले उनलाई पीडा दिन्छ । भने, ‘तर शिक्षित रोय त्यो ठाउँमा भइदिएको भए त्यसविरुद्ध लड्ने थियो ।' नाटक असोज १५ गतेसम्म मञ्चन हुनेछ ।