९ वर्षसम्म पनि पुर्पक्षका लागि थुनामा !

९ वर्षसम्म पनि पुर्पक्षका लागि थुनामा !

बर्दिवास: सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षकालागि थुनामा छन्।

आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आफूविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्ष थुनामै कारागार बस्न बाध्य भएका हुन्।

दुई पक्षबीचको झैंझगडाका क्रममा २०६४ जेठ २३ गते गाउँकै बिशेश्वर मण्डलको हत्या गरेको अभियोगमा तत्काल पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा कारागार पठाइएका तीनै दाजुभाइसम्बन्धित मुद्दा फैसला हुन नसक्दा उनीहरुको थुना अवधि बढेको हो। महोत्तरी कारागारमा रहेका रामनन्दन र रामदुलारले आफूहरु सम्बन्धित मुद्दा किन फैसला हुन नसकेको भन्ने बारे जानकारी नभएको बताएका छन्।

'घरका तीनै दाजुभाइ जेलमा बन्द छौं, कारागारमा उनीहरुको मुद्दाबारे बुझ्न पुगेका सञ्चारकर्मीसँग रामदुलार यादवले भने, 'मुद्दाबारे बुझिदिने कोही नहुँदा फैसला हुन नसकेको बारे केही बुझेका छैनौँ।' पुर्पक्ष थुनामा तीनै दाजुभाइ एकसाथ महोत्तरी कारागार पठाइएका भए पनि कान्छा वीरेन्द्र यादवलाई केही महिनाअघि कारागार सरुवा गरी हाल सप्तरी कारागार राजविराजमा पठाइएको महोत्तरी कारागार प्रशासनले जनाएको छ।

तीनै दाजुभाइलाई महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा राखिएको र कान्छा वीरेन्द्रलाई ठाउँ अभावले कारागार सरुवा गरिएको महोत्तरी कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए। पूर्पक्ष थुनाको अवधि नौ वर्ष चार महिना हुँदासम्म पनि तीनै दाजुभाइबारे अन्य कुनै व्यहोराको अदालतबाट आदेश नआएको जेलर ठाकुरको भनाइ छ।

यसैबीच, दुई बर्षमा टुङ्गिनुपर्ने मुद्दा नौ वर्षभन्दा बढी लम्बिनुमा मुद्दाबारे बीचमा भएका घटनाक्रम कारण बनेको महोत्तरी जिल्ला अदालतले जनाएको छ। यो मुद्दा फैसलाको अन्तिम चरणमा पुगेकै बेला २०६८ साल फागुन १५ गते मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेसँगै तत्सम्बन्धी पत्र पाएपछि २०७० साल जेठ २३ गतेको निर्णयले मुल्तबी रहेको अदालतका स्रेस्तेदार जानकीरमण यादवले जानकारी दिए।

मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा परेको उजुरीबारे २०७२ साल पुस ३० गते संवैधानिक इजलासले फिर्ता लिन नमिल्ने निर्णय गरेपनि सोसम्बन्धी विस्तृत विवरण प्राप्त हुन नसक्दा मुद्दा मुल्तबीमै रहेकाले फैसला हुन नसकेको स्रेस्तेदार यादवको भनाइ छ।

थुनामा रहेका रामनन्दनले सरकार र अदालतले के गर्दैछन् ? आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दोहोर्याएका छन्। अदालत र सरकारको कामले आफूहरु सम्बन्धित मुद्दा फैसलामा ढिलाइ हुँदा तीनै दाजुभाइ अन्यायमा परेका रामनन्दनले बताए। अदालतका स्रेस्तेदार यादवले अब संवैधानिक इजलासको फैसला विवरण प्राप्त हुनासाथै मुद्दा तत्काल फैसला हुनसक्ने गरी अङ्ग पुगिसकेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.