रहरले डोर्याएको बाटो
‘कहिले सुखमात्रै हो लाग्छ, कहिले दुःखमात्रै जस्तो’, कलाकार शिल्पा खड्काले जीवनको ठ्याक्कै परिभाषा गरिनन् । उनले भनिन्, ‘यो हर्ष पनि हो, आँसु पनि हो, जो होस् जीवन संषर्घ अवश्य हो ।’
दोलखाको विकट सुरी- ५ मा उद्धवबहादुर खड्का र आमा शान्ति खड्काको दोस्रो सन्तानका रूपमा जन्मिएकी शिल्पा यतिबेला कलाकारिताको मसिनो गोरेटोमा यात्रारत छन् ।
बाल्यकालदेखि नै गाउने, नाच्ने खुबै रहर गर्ने शिल्पाले जान्नेबुझ्ने भएपछि यही बाटो रोजिन् । ‘सानो हुँदा नै मलाई स्कुल, घरटोलका कार्यक्रममा गाउन, नाच्न रुचि हुन्थ्यो’, शिल्पाले भनिन्, ‘मैले यही क्षेत्रमा क्यारियर देखेँ, यतै लागेँ ।’
दोलखाकै कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी गरेपछि उनी राजधानी पसिन् । नोबेल कलेजबाट उच्च शिक्षा लिइन् । त्यसपछिमात्रै उनले आफूभित्रको रहरलाई व्यवहारमा प्रयोग गर्ने काम थालिन् । ‘मेरो पारिवारिक वातावरण शैक्षिक खालको भएकाले पनि पहिलो प्राथमिकता मैले पढाइलाई दिएँ’, शिल्पाले भनिन् ।
‘दिउँ त बाटुली’ हास्यव्यंग्य सिरियलबाट कलाकारितमा प्रवेश गरेकी उनलाई यो क्षेत्रमा पाइला राख्न शिव विकेले सहयोग गरेको सम्झना गर्छिन् । सोही सिरियलको १६ औं भागमा पुगेकी उनले यसबीचमा मिलन लामा र ऋचा बुलुम तामाङको ‘ठमेल बजारमा’, गोपाल तिमल्सिना र देवी घर्तीको ‘देख्न पाए हुन्थ्यो’, राधिका थपलियाको ‘स्कुलमा दर खाने’लगायतका करिब डेढ दर्जन म्युजिक भिडियो गरिसकेकी छन् ।
बुवा उद्धवको प्रेरणा र हौसलाले हिम्मत दिने गरेको बताउने शिल्पाले भनिन्, ‘मोडलिङलाई हेर्ने नजर राम्रो त छैन्, आफू राम्रो कसरी हुने भन्ने कुरा मेरा लागि अर्थ राख्छ ।’ सबैले पच्नेसम्मको कलाकारिता दिगो र सम्मानित हुने बुझेकी शिल्पाले भनिन्, ‘सबैथोक उघारेर, छचल्काएर मलाई हिट हुनु छैन ।’
भेट टाइम म्यागेजिनमा समेत कार्यरत शिल्पालाई अनेक खाले अफर भने नआएका होइनन् । चिन्दै नचिनेकाहरूले गोवा, दार्जिलिङ, सिक्किम जाउँ भन्ने गरेको उनले सुनाइन् । मानिसहरूमा धेरैथरी नियत हुने बुझेकी उनले भनिन्, ‘जीवनमा यस्ता धेरैसँग ठोकिनुपर्छ, तर सम्हालिने आफैंले हो ।’
प्रेमलाई सृष्टिको नियम भन्न रुचाउने उनी प्रेमबिना कोही एकपल बाँच्न नसक्ने बताउँछिन् । प्रेम भन्नेबित्तिकै युवायुवतीबीचको बुझिए पनि प्रेम बाबा, आमा, दाजुबहिनी, वा कुनै पनि नातासम्बन्धमा हुने उनको बुझाइ छ ।
सजीव प्राणी सबैमा सेक्सको आवश्यकता हुने बताउँदै उनले भनिन्, ‘यो प्रकृतिले निर्माण गरेको आवश्यकता हो, तर यसको सदुपयोग हुनुपर्छ, यहाँ दुरुपयोग बढी भएको छ ।’ जीवन रहुन्जेल संघर्ष रहिरहने बुझेकी उनी अझै केही समय चलचित्रमा काम नगर्ने बताउँछिन् । ‘मलाई अझै परिपक्व हुनु छ अनिमात्रै चलचित्रमा प्रवेश गर्छु ।’