प्रधानमन्त्री प्रचण्डले फरार अभियुक्तलाई दिल्लीमा भेटेको प्रमाण संसद्मा पेस
काठमाडौंः भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई भेटेको संसद्मा पनि खुलासा भएको छ।
भारत भ्रमणमा गएका भ्रमण दलका एक सदस्य फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले ताज प्यालेसमा प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरीले भेटेको संसदमा सार्वजनिक गरेका छन्। यसअघि नै अन्नपूर्ण पोस्टले पनि त्यो भेटघाटलाई तस्बिरसहित सार्वजनिक गरेको थियो।
शुक्रवार संसदमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले आफूलाई भेट्न आएका रेशमले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेको बताएका हुन्। उनले भने,‘थारु अगुवाहरु पनि भ्रमणमा आएको थाहा पाएपछि रेशम चौधरी मलाई भेट्न आएका थिए। त्यही क्रममा प्रधानमन्त्री प्रचण्डसँग पनि उनले भेटेका हुन्। यो कुनै ठूलो कुरा होइन।’
सांसद चौधरीले आफूहरुसँग कुराकानी भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई देखेपछि अभिवादन गर्दै भेटेको बताए। उनले प्रधानमन्त्रीलाई चौधरीले भेट्नु कुनै अपराध नभएको बताए।
उनले भने,‘टिकापुर घटना हुँदाका कुनै एक नेता मन्त्री बन्न हुने अनि अर्को मान्छेले प्रधानन्त्रीलाई भेट्दा किन ठूलो कुरा मान्नु पर्यो।’
रेशम चौधरीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको विषयलाई विपक्षी दल एमाले लगायतका दलहरुले ठूलो इस्यु बनाएकोप्रति आक्रोश पोख्दै भने,‘आफ्नो आङको भैंसी नदेख्ने अनि अर्काको आङको जुम्रा देख्ने?’
यो पनि पढ्नुस्: भारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त
भारत भ्रमणमा बेला प्रधानमन्त्रीले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड' सूचीमा राख्दै सर्वाधिक खोजी गरेका फरार अभियुक्त चाैधरीलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका थिए। गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान' मुद्दाका मुख्य अभियुक्त हुन् रेशम चौधरी।
भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए। अघिल्लो वर्ष भदाैं ७ गते कैलाली नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन्। जिल्ला सरकारी वकिल कार्यालय कैलालीले उनीविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै अदालतमा मुद्दा चलाएको छ।
घाइतेका तर्फबाट चौधरीलगायत व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र मारिएका प्रहरीको एसएलआर तथा पेस्तोल कब्जामा लिएको भन्दै ‘डाँका चोरी' मुद्दा पनि दर्ता गरिएको छ। कैलाली सरकारी वकिल कार्यालयले चौधरीविरुद्व सर्वस्वसहित जन्मकैद माग गर्दै मुद्वा चलाएको छ ।