प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको भन्दै नयाँ शक्तिको धर्ना
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग गरेको २५ बुँदे सम्झौतालाई राष्ट्रघाती भन्दै नयाँ शक्ति पार्टी, नेपालले खारेज गर्न माग गर्दै धर्ना दिएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले शुक्रबार काठमाडौंको भद्रकालीमा राष्ट्रघाती सम्झौता खारेजीको माग गर्दै एक घण्टा धर्ना दिएको हो।
धर्ना कार्यक्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईलगायतका नेताहरुका उपस्थित थिए। धर्ना कार्यक्रममा उपस्थित अभियन्ताहरुले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सम्झौताका केही बुँदाहरु नेपालको राष्ट्रहितमा नभएको, सम्झौताले नेपाललाई भुटानीकरणतर्फ धकेलेको भन्दै सम्झौता खारेजीको माग गरेका हुन्।
कार्यक्रममा प्रदेश सिमांकन नमिलाईकन सरकारले पञ्चायतकालीन इलाकाहरुलाई नै गाउँपालिकामा रुपान्तरण गर्नुपर्ने निर्णय खारेज गर्नुपर्ने, महंगी तथा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, दैनिक उपभोग्य सामाग्रीहरुको सुपथ मूल्य कायम गर्नुपर्ने, भूकम्प पीडितलाई बिना सर्त तत्काल राहत दिनुपर्ने लगायतका माग गरेका छन्।