किन पढ्ने क्लासिकल साहित्य ?
(क्लासिकल साहित्यको नेपाली अनुवाद साह्रै नै कम छ । यसको महत्वबोध नभएको कारणले पनि यसो भएको हो । हिन्दी भाषाको प्रकाशन संस्था ‘राजकमल प्रकाशन’ले एक्काइसौं शताब्दीको शुरुवातसँगै धरोहर, परम्परा र विरासत गरी तीन शृङ्खलामा विश्व-साहित्यको हिन्दी अनुवाद प्रकाशन गरिरहेछ । प्रकाशनकै क्रममा क्लासिकल साहित्यहरूको अनुवाद शृङ्खला सम्पादकद्धय कात्यायानी र सत्यम्ले क्लासिकल साहित्यहरूको महत्वबारे लेख्नुभएको सम्पादकीयको अनुवाद)
उन्नाइसौं शताब्दीको वैचारिक-कलात्मक समृद्धिलाई थोरैमा बताउने हो भने यत्ति भने पुग्छ- त्यो बाल्जाक र टोल्सटोयको शताब्दी थियो । यत्ति अपर्याप्त लाग्छ भने भन्न सकिन्छ, यो बाल्जाक, स्टेण्ढाल, गोन्कुर बन्धु, ह्युगो, ड्युमा, फ्लाबेयर, जोला, मोपासां, डिकेन्स, थैकरे, ब्राण्ट बहिनीहरू, अस्टेन, हार्डी र मार्क ट्वेनको शताब्दी थियो । पुश्किन, गोगोल, बेलिन्स्कि, चेर्निशेव्स्की, हर्जेन, तुगर्नेव, टोल्स्टोय र चेखवको शताब्दी थियो । मानवीय सारतत्वको यो महान सम्पदा सम्पूर्ण विश्वकै जनताको साझा सम्पत्ति हो । यी सबैबाट वञ्चित हुनु कुनै राष्ट्र वा कुनै भाषाको दुर्भाग्य नै हुनेछ ।
आज यी कृतिहरूको अनुवाद र अध्ययन गर्ने प्रचलनमा केही कमी आएको छ । यो हाम्रो जीवनमा बिस्तारै चारैतिर फैलिरहेको गतिरोध, निराशा र मोहभंगको परिणाम र परिचय हो ।
बजारको बन्धनले उत्कृष्ट-गम्भिर साहित्यलाई उन्नत चेतना भएका पाठकहरूबाट टाढा पुर्याएको छ । जुन अभिजात समाज विश्वका क्लासिकल साहित्यहरूलाई आफ्नो ड्रइंग रुम वा अध्ययन कक्षमा सजाएर गौरवान्वित हुन्छ, उसलाई अनुवादको खाँचो छैन । तर आज सचेत समाज महसुस गरिरहेछ- गतिरोध भरिएको वर्तमान समयमा अकर्मण्य हुनबाट जोगिन हामीले जगैसम्मको यात्रा गर्नुपर्छ । नयाँ कार्यभारहरू पूरा गर्न अतीतबाट प्रेरणा लिनैपर्छ र अनुभवहरूको भकारी खोतल्नै पर्छ ।
बजारको बन्धनले उत्कृष्ट–गम्भिर साहित्यलाई उन्नत चेतना भएका पाठकहरूबाट टाढा पुर्याएको छ ।
नयाँ भविष्य-स्वप्न र जीवनको नवनिर्माणको लागि आफ्नो देश र सम्पूर्ण मानवताकै सांस्कृतिक-वैचारिक सम्पदा ग्रहण गर्नैपर्छ । यो आजको नयाँ क्रान्तिकारी पुनर्जागरण र प्रबोधनको कार्यभारहरूको एक महत्वपूर्ण अंश हो ।
जसको आशावाद केही शुभ भविष्यवाणीहरूले जन्मिएको थियो र केही सामाजिक क्रान्तिहरूको ईन्धनले जीवित थियो । जो इतिहास सँधै सिधा रेखामा हिंडेको देख्न चाहन्थ्यो, उ आज संशयग्रस्त छ, आत्तिएको छ र ‘किंकर्तव्यविमूण’ छ । मात्र ‘अन्त्य’बारे सोचिरहेछ । जो इतिहासको गति बुझ्दथ्यो वा बुझ्ने प्रयास गर्दथ्यो ऊ वर्तमान समयको अराजकता र गतिरोधमा त्यो उर्वर कोख पहिल्याईरहेछ जहाँ भविष्य-बीज अँकुराईरहेछ । उसलाई इतिहासबाट थुप्रै थोक लिनुछ । त्यो कलात्मक-सांस्कृतिक सम्पदा पनि महान संघर्षहरूको तातो भट्टीमा निर्माण भएको थियो । त्यसले नयाँ मानवको निर्माणमा एक संघटक अंगको भूमिका निभाउँथ्यो ।
नयाँ शताब्दी निर्माणको काम आफ्नो हातमा लिन संकल्पबद्ध अभियन्ता र शिल्पकारहरूले शताब्दी-समिक्षा गर्नैपर्छ । आलोचनात्मक विवेकले सिंहावलोकन गर्नैपर्छ । यो दृष्टिले १९औं शताब्दी पनि त्यति नै महत्वपूर्ण छ जति महत्वपूर्ण छ २०औं शताब्दी ।
आज हामी बाँचिरहेको समयको उत्पत्ति १८औं शताब्दीको अन्त्य र १९ औं शताब्दीको शुरूवातको त्यो औद्यौगिक-राजनीतिक क्रान्तिहरूसँग जोडिएको छ, जुन मानव इतिहासमा त्यतिबेलासम्मको एक महान रुपान्तरणहरूको सूत्रपात थियो । यी क्रान्तिहरूले निर्माण पूँजीवादी उद्योगहरूको विकासमा आधारित विशिष्ट सामाजिक-आर्थिक संरचना र सांस्कृतिक-राजनीतिक अधिरचनाको चरम विकसित रुप आज हाम्रो सामुन्ने छ ।
२० औं शताब्दीमा सर्वहारा क्रान्तिहरूले वैकल्पिक प्रणालीहरू निर्माण गर्ने प्रयोग पनि गरे । सर्वहारा क्रान्तिहरूको वैचारिक-सांस्कृतिक सम्पदा अक्षुण्ण छ । र, नयाँ सर्वहारा क्रान्तिहरूको स्वरुप कस्तो हुनेछ भन्ने चर्चा गर्ने आधारहरू पनि पर्याप्त छन् । तर आजको सत्य - अत्यन्त संरचनागत संकटको शिकार, घोर मानवद्रोही विश्व-पूँजीवाद हाम्रो सामुन्ने छ र सर्वहारा क्रान्तिहरूको प्रथम संस्करण पराजित-विघटित भएको छ । पूँजी र श्रमशक्ति फेरी आमुन्ने-सामुन्ने उभिएका छन् ।
आज भूमण्डलीय घटनाहरूको रुपमा जे देखिइरहेछ र विशेषतः उत्तर औपनिवेशिक समाजहरूमा पूँजीवादी रुपान्तरणले जुन दृश्य निर्माण गरिरहेछ, त्यो १९औं शताब्दीको यूरोपसँगै मेल खान्छ । अहिले पनि डिकेन्सको उपन्यासहरूको परिवेश तथा बाल्जाक, स्टेण्डल र टोल्सटोयका पात्रहरूको आकृतिहरू खोज्न र भेट्टाउन सजिलो छ । हुनसक्छ इतिहासको प्रहारले यी आकृतिहरूलाई विकृत बनाइदिएको छ ।
विश्व-इतिहासको युगान्तकारी परिवर्तन सिंगो विश्वमा एकै पटक हुँदैन । परिवर्तनका धाराहरू असंख्य देखिने-नदेखिने सुत्रहरूले परस्पर बाँधिएका हुन्छन् । तर भविष्यको दिशा निर्धारित गर्ने क्रान्तिकारी घटनाहरूको रंगमञ्च प्रायः यहाँदेखि त्यहाँ दौडिरहन्छ । पुनर्जागरण, पूँजीवादी क्रान्तिहरू र उन्नाइसौं शताब्दीको पूँजीवादी विकासको मुख्य रंगमञ्च यूरोप बन्नुको आफ्नै ऐतिहासिक कारण छ । तर यी ऐतिहासिक घटनाहरू युरोपेली मात्रै नभई विश्व-ऐतिहासिक घटनाहरू थिए । क्रान्तिकारी रुपान्तरणको सम्पूर्ण प्रक्रियामा मानवतावाद, वैज्ञानिक तर्क, भौतिकवाद र प्रजातन्त्रको जुन मूल्यहरूको जन्म भयो ती मूल्यहरू १९औं शताब्दीको उत्तरार्धसम्म पिछडिएको रुसमा पुगिसकेको थियो । र, उपनिवेशहरूमा जब राष्ट्रिय मुक्ति संघर्ष संगठित हुनथाल्यो त्यतिबेला त्यसको झण्डामा पनि मानवतावाद र प्रजातन्त्रकै नारा अंकित थियो ।
उन्नाईसौं शताब्दीले क्रान्तिका अग्रदुत, प्रबोधनकालका दार्शनिकहरूको ‘तर्कबुद्धिको राज्य’ र ‘शाश्वत न्याय’का आदर्शहरू पूँजीवादी राज्य र पूँजीवादी न्यायको नग्न निर्लज्जतामा फेरिएको देख्यो । यसको पहिलो प्रतिक्रिया, कला-साहित्यमा स्वच्छन्दतावादको रुपमा देखियो । प्रतिक्रियावादी स्वच्छन्दतावादले पूँजीवादी प्रणालीभन्दा पहिलेको प्रशस्ति गाउँथ्यो । तर वायरन र शेली जस्ता क्रान्तिकारी स्वच्छन्दतावादी कवि पूँजीवादलाई छोडेर भविष्यतर्फ हेदर्थे । स्वच्छन्दतावादको यो धारा पुनर्जागरणकालको यथार्थवादको तुलनामा अत्याधिक गहन-गम्भिर थियो । यही धाराले मान्छेको आन्तरिक जगतको चित्रण, व्यत्तित्वहरूको अन्तरविरोधहरू-विसंगतिहरू र तिनको ‘मनोगत अनन्तता’को उद्घाटन गर्नुको साथै कलामा इतिहासपरतावाद (हिस्टोरिसिज्म)को सिद्धान्त समावेश गर्ने र साधारण जनतासँग निकटको सम्बन्ध स्थापित गर्ने काम पनि गर्यो ।
१८३०को दशकमा क्रान्तिकारी पूँजीवादी यथार्थवादको उत्कर्षको रूपमा बाल्जाक, स्टेण्ढाल, डिकेन्स आदिको त्यो आलोचनात्मक यथार्थवाद अगाडि आयो । आलोचनात्मक यथार्थवाद आफैमा स्वच्छन्दतावादसँग जैविक रुपमा गाँसिएको थियो । पूँजीवादी क्रान्तिका परिणामहरूसँग मोहभंग र पूँजीवादी व्यवस्थाको विरोध-यी प्रवृत्तिहरू दुवै धाराहरूको केन्द्रमा थिए । कविता विधामा स्वच्छन्दतावादी धारा तीन रुपहरूमा अगाडि विकसित भयो- (१) पुश्किन, लर्मन्तोव आदि रुसी कविहरू र विभिन्न पूर्वी यूरोपेली कविहरूको धारा (२) वाल्ट ह्विटमेनको धारा र (३) हाइने, वेयेर्थ, फ्रेलिग्राथ आदि प्रारम्भिक सर्वहारा कविहरूको धारा ।
आलोचनात्मक यथार्थवाद मुख्यतः उपन्यास विधालाई अंगीकार गरेर अघि बढ्यो । आफ्ना अलग-अलग विशिष्टताहरूसँगै महान यथार्थवादी उपन्यासकारहरूले सम्पत्तिको स्वामित्वको संसारमा संघर्षरत व्यक्तिहरूको बाहिरी र भित्रीजगत, व्यापारिहरूको धूर्तता एवं तिकडम, गरीबहरूको साहित्यहरूले दुर्भाग्य एवं ज्यालादारी नर्क तथा खानापिनाको चिसो पानीमा डुबिरहेको रागात्मक सम्बधहरूलाई जीवन्त र निर्मम वस्तुपरक तरिकाले चित्रित गरे । १९औं शताब्दीको उत्तरार्द्धमा जब पश्चिमी यूरोपको पूँजीवादी समाज विरूद्ध संघर्ष भईरहँदा आलोचनात्मक यथार्थवाद पनि प्रकृतवादको रुपमा स्खलित-विघटित हुनलागेको थियो ।
यस्तो समयमा पनि त्यहाँ जर्ज इलियट र मोपासां जस्ता लेखकहरूको यथार्थवादी लेखनमा उदात्त मानवतावादी आदर्श उपस्थिति थियो । तर आलोचनात्मक यथार्थवादको क्रान्तिकारी राप र व्यापकता अब मुख्यतः स्थानान्तरित भएर रुस पुगेको थियो । जहाँ तुर्गनेव, चेर्निशेव्स्की, टोल्सटोय आदिदेखि लिएर चेखवसम्मका क्रान्तिकारी गद्य साहित्यको महान परम्परा विकसित भयो । उता अमेरिकामा मार्क ट्वेन माल-मुद्राको संसारको संस्कृति एवं पूर्वाग्रहहरू प्रति हरेक तरिकाले प्रहार गर्दै १९औं शताब्दीको यथार्थवादी गद्यको एक नयाँ शिखर निर्माण गरिरहेथे ।
यही नै त्यो समृद्ध परम्परा थियो जसलाई २०औं शताब्दीमा गोर्की, ज्याक लण्डन, अप्टन सिंक्लेयर आदि सर्वहारा लेखकहरूको पहिलो पीढीले आर्जित गरे र विकसित गरे । रोलां, गिल्सवर्ड आदिदेखि लिएर हेमिंग्वे आदिसम्मका कृतित्व पनि यही परम्पराको विस्तार हो ।
आज २१औं शताब्दीको मोडमा, समकालीन जीवनको नयाँ यथार्थ र त्यसबाट जन्मिदै गरेको भविष्यको सम्भावित दिशाहरू बुझ्न तथा सही-सटीक तरिकाले रचनाहरू प्रस्तुत गरी एक नयाँ यथार्थवाद विकसित गर्न, १९औं शताब्दीको महान यथार्थवादी साहित्य पनि त्यति नै सहायक हुनेछ जति २०औं शताब्दीको साहित्य । (अनुवादः लक्ष्मण श्रेष्ठ)