दसैंमा घर जान सास्ती

दसैंमा घर जान सास्ती

काठमाडौं: दसैंमा यात्रुको चापअनुसार लामो दुरीमा बस नथपिँदा शुक्रबारसम्म करिब १० लाख यात्रु टिकट पाउन वञ्चित भएका छन् । उपत्यकाबाट बाहिरिने यात्रुमध्ये करिब १५ लाख यात्रुले मात्रै बसको टिकट पाएका छन् । दसैंको समयमा उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या करिब २५ लाख हुन्छ ।

यात्रुले कलंकी, गोंगबु, गौशाला र कोटेश्वरमा बिहानैदेखि बसको काउन्टर चहारे पनि टिकट पाउन नसकेको गुनासो पोखेका छन् । अधिकांश काउन्टर सञ्चालकहरूले 'टिकट सकियो' भनेर यात्रुलाई फर्काउन थालेका छन् । बस व्यवसायीले २२ गतेसम्मका लागि अग्रीम टिकट बुकिङ गरिसकेका छन् ।

सरकारले सिटभन्दा बढी यात्रु बोक्न नपाउने, छतमा राख्न नपाउने र निर्धारितभन्दा बढी भाडा लिन नपाउने नीति कडाइसाथ लागू गरेपछि यातायात व्यवसायीले पनि बाटोको समस्या देखाउँदै नियमित संख्याभन्दा बस थपेका छैनन् । यसकारण अधिकांश यात्रु टिकट पाउन वञ्चित भएका हुन् ।

व्यवसायीहरूले मुग्लिङ-नारायणघाट सडक खण्ड क्षतिग्रस्त भएका कारण बसको मर्मतसम्भार र इन्धन खर्च बढेको तथा जामका कारण निर्धारित समयभन्दा थप १० घन्टासम्म बाटोमै बस थन्किनुपर्ने समस्या देखाएर लामो दुरीमा बस नथप्ने अड्डी कसेका छन् । यसको प्रत्यक्ष मार यात्रुले व्यहोर्नुपरेको छ ।

सिटभन्दा बढी हुने यात्रुलाई स्टुल र मुढामा बसाएर लान नपाउने सरकारी नीतिका कारण पनि धेरै यात्रुले टिकट पाउन नसकेको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ । स्टुल र मुढामा पनि बसाएर लान पाए एउटा बसमा थप १० जना यात्रु अटाउन सकिने महासंघको दाबी छ ।

महासंघका उपमहासचिव सुरेश हमालले यात्रुको चापअनुसार बस थप्न आफूहरू तयार रहेको बताए । 'तर हामी एकतर्फी रूपमा घाटा व्यहोरेर थप बस सञ्चालन गर्न सक्दैनौं', हमालले भने, 'यसका लागि सरकारले पनि सहयोग गर्नुपर्छ । सरकारी सहयोगबिना थप गाडी ल्याएर सञ्चालन गर्न सक्दैनौं ।'

टिकट नपाएका १० लाख यात्रुलाई घर पुर्‌याउन आवश्यक पर्ने बस आफूहरूसँग यथेष्ट संख्यामा रहेको भन्दै हमालले यात्रु पुर्‌याएर रित्तो राजधानी फर्कने बसको खर्च कम गर्न सरकारले निर्धारित भाडादरभन्दा कम्तीमा २५ प्रतिशत थप भाडा उठाउन अनुमति दिनुपर्ने वा अन्य सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

'हामीले थप्ने बस राजधानीबाट भरिभराउ भएर गए पनि उताबाट आउँदा चारपाँचजनामात्रै यात्रु हुन्छन्', हमालले भने, 'बस रित्तो भएर आए पनि इन्धन खर्च, मर्मतसम्भार खर्च र कर्मचारी खर्च हामीले व्यहोर्नुपर्छ । सरकारले यो खर्च मिलाउने पद्धति विकास गर्न सके हामी थप बस ल्याएर सञ्चालन गर्न तयार छौं ।'

सरकारले उपलब्ध गराउने सुविधाको सबै विवरण पारदर्शी रूपमा सरकारलाई नै उपलब्ध गराउने उनले दाबी गरे । 'सरकारबाट प्राप्त हुने कुनै सुविधाको दुरुपयोग हुँदैन । सुविधाबारे सम्पूर्ण जानकारी पारदर्शी रूपमा उपलब्ध गराउन पनि हामी तयार छौं', उनले भने ।

अहिले राजधानीबाट लामो दुरीका लागि नियमित रूपमा दैनिक पाँच सयको हाराहारीमा यात्रुवाहक बस बाहिरिन्छन् । नियमित रूपमा थप दैनिक पाँच सय बस थप्न सकिए टिकट नपाएर अलपत्र परेका करिब १० लाख यात्रुलाई घर पुर्‌याउन सकिने हमालको दाबी छ ।

'बिहानै उठेर दुई दिनदेखि टिकट काट्न कलंकीका काउन्टर धाउँदाधाउँदै गलिसकें', कलंकीचोकमा भेटिएका सर्लाही बबरगन्जका उमेश पाण्डेयले भने, 'तर टिकट पाउन सकिनँ । बीपी राजमार्गबाट जाने माइक्रो र जिपको पनि टिकट पाइएन । यता बसको पनि पाइएन । सबैले टिकट सकियो भनेर फर्काए ।'

गोंगबु बसपार्कको अवस्था पनि त्यही भेटियो । बसपार्कस्थित नागरिक सहायता कक्षका इन्चार्ज प्रहरी हबलदार प्रेम सापकोटाका अनुसार गोंगबु बसपार्कबाट पनि टिकट नपाएर अधिकांश यात्रु फर्कने क्रम जारी छ । अन्य स्थानका टिकट काउन्टरले टिकट सकियो भनेर अग्रीम टिकट काट्नसमेत बन्द गरिसकेका छन् ।

नेपालगन्ज, डडेलधुरा, सुर्खेत, दैलेख, अर्घाखाँची, जुम्ला, जाजरकोट, धनगढी, महेन्द्रनगर, टीकापुर, बझाङसहित सुदूरपश्चिम र पूर्वका अधिकांश यात्रुले टिकट नपाएको उनले बताए । दाङबाहेक अन्य जिल्लाको टिकट यात्रुले नपाएको गुनासो धेरै आएको उनले जानकारी दिए ।

पूर्वका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर जिल्ला जाने बस पनि न्यून संख्यामा हुँदा धेरै यात्रु टिकट पाउनबाट वञ्चित भएका छन् । 'सीमित बस संख्याका कारण अधिकांश यात्रु टिकट नपाएर फर्कन बाध्य भएका छन्', उनले भने, 'सबै यात्रुलाई घर पुर्‌याउन बसको संख्या थप्नुको विकल्प छैन ।'

गौशालास्थित टिकट काउन्टरमा बिहान ५ बजेदेखि लामो लाइन र भीडभाड देखिए पनि टिकट पाउने थोरै छन् । पूर्व जाने अधिकांश बस सञ्चालकहरूले २२ गतेसम्मका लागि टिकट बुकिङ गरिसकेका छन् ।

बीपी राजमार्गबाट गुड्ने माइक्रोबसको संख्या वृद्धि नहुँदा र वैकल्पिक यातायातको साधन नपाउँदा यात्रुको बेहाल भएको छ । उक्त सडक खण्डमा सामान्य दिनमा दैनिक ८० वटा माइक्रोबस गुड्ने गरेका छन् ।

'यात्रुको चाप अत्यधिक भए पनि माइक्रो बस थप्न पाएनौं', उदिता यातायात प्रालिका कोटेश्वर इन्चार्ज कुमार पाँडेले भने, 'गाडी भए थप्न हुन्थ्यो । अहिले टिकट नपाएर दैनिक दुई सयजनासम्म मेरो काउन्टरबाट यात्रु फर्किन बाध्य छन् ।' माइक्रोबसका पनि आगामी ३२ गतेसम्मका लागि सबै टिकट बिक्री भइसकेको व्यवसायीले औंल्याएका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले सवारीसाधनको अभावमा कुनै पनि यात्रु अलपत्र नहुने दाबी गरे । सप्तमी, अष्टमी र नवमीकै दिन सबै यात्रु घर जान खोजेको अवस्थामा राज्यले चाहेर पनि यातायातको व्यवस्था गर्न नसक्ने बताउँदै उनले हालसम्म यातायात साधनकै अभावमा यात्रुहरू घर जान नसकेको गुनासो नआएको जानकारी दिए ।

'सवारीसाधनकै अभाव भयो भने विद्यालय र साझासँग सहकार्य गरेर भए पनि यात्रुलाई बाहिर पठाउने व्यवस्था गर्छौं', अधिकारीले भने, 'सवारीसाधन थप्न निजी क्षेत्रसँग पनि छलफल भइरहेको छ । आइतबारसम्म निकास आउँछ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.