अन्नपूर्णका थप तीन मिडिया: टीभी, साप्ताहिक पत्रिका र अंग्रेजी अनलाइन
काठमाडौं: मुलुकको अग्रणी प्रकाशन संस्था अन्नपूर्ण मिडिया नेटवर्कले टेलिभिजन दर्शकमाझ पनि आफ्नो पहुँच विस्तार गरेको छ ।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको प्रकाशनगृह अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार एकैसाथ तीन मिडियाको शुभारम्भ गर्दैछ-टेलिभिजन, साप्ताहिक म्यागजिन र अंग्रेजी भाषाको अनलाइन ।
शनिबार राजधानीमा आयोजना हुने एक भव्य कार्यक्रमबीच एपी वान टेलिभिजनको परीक्षण प्रसारण शुभारम्भ हुने नेटवर्कले उल्लेख गरेको छ । त्यस्तै शनिबार नै नेटवर्कले साप्ताहिक म्यागजिन अन्नपूर्ण टुडे र अंग्रेजी भाषाको अनलाइन पनि शुभारम्भ गर्नेछ ।
साप्ताहिक म्यागजिन अन्नपूर्ण टुडेको नमुना अंक शनिबार सार्वजनिक हुने भएको छ भने अन्नपूर्णपोस्ट् डट कमको अंग्रेजी संस्करण अन्नापोस्ट पनि शनिबारदेखि नै सार्वजनिक हुनेछ । यसअघि अन्नपूर्ण मिडिया नेटवर्कले अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण रेडियो र अन्नपूर्णपोस्ट डटकम सञ्चालन गर्दै आएको छ ।
एपी वान टीभीका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले शनिबार परीक्षण प्रसारणमा जाने एपी वान टेलिभिजनमा मुख्य तीन फरक विशेषता हुने बताए । 'यो नेपालको पहिलो हाइडेफिनेसन (एचडी) टेलिभिजन हुनेछ', पौडेलले भने, 'सबैभन्दा छिटो र प्रत्यक्ष प्रसारण गर्ने क्षमता भएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो ल्याउने नेपालको पहिलो टेलिभिजन च्यानल पनि एपी वान हो ।'
पौडेलले नेपाली दर्शकलाई केन्द्रमा राखेर टेलिभिजनको गुणस्तरमा ध्यान दिँदै अन्तर्राष्ट्रिय स्तरको उपकरण प्रयोग हुने जानकारी पनि दिए । 'हाम्रो सोचाइ मास र क्लास एकैपटक सम्बोधन गर्न सकिने खालको टेलिभिजन हो', उनले भने, 'यो टेलिभिजनको उपकरण संसारकै उत्कृष्ट टेलिभिजन स्टेसनहरूमा प्रयोग हुने खालको छ ।'
प्रत्येक शुक्रबार प्रकाशन हुने अन्नपूर्ण टुडे साप्ताहिकको नियमित प्रकाशन कात्तिक १९ गतेदेखि हुनेछ । 'छापा पत्रकारिताप्रति आमपाठकको आकर्षण कम भइरहेका बेला गहिरो विश्लेषण र अनुसन्धानमूलक समाचार सामग्री प्रकाशित गर्ने लक्ष्य लिएर हामीले अन्नपूर्ण टुडे ल्याउन लागेका हौं', टुडेका सम्पादक राजाराम गौतमले भने ।