‘आफू हारे पनि स्थानीय चुनाव समयमै'
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले स्थानीय निर्वाचन हारे पनि तोकिएकै मिति भित्र गराउने बताएका छन् ।
‘आगामी चैतमा हामी स्थानीय निर्वाचन गराउनु खोज्दैछौं । तपाईंहरूले ध्यान नदिँदा हार्छौं । चुनाव हारे पनि गराउनु जित्नु हो', राजधानीमा जारी प्रेस सेन्टरको महाधिवेशनको बन्दसत्रमा शुक्रबार प्रधानमन्त्री दाहालले भने ।
‘कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले देशैभर चुनाव जित्दैछ भन्ने लागेको थियो तर परिणामले देखायो कांग्रेसले पूरै हार्यो । अहिले पनि माओवादी केन्द्रलाई लागेको छ, हामी चुनाव जित्छौं ।
तर तपाईंहरूको गतिविधिले हार्छौं, हारे पनि निर्वाचन हुन्छ र निर्वाचन हुनु भनेको जित्नु पनि हो', प्रधानामन्त्री दाहालले भने । उनले मंसिर पहिलो साताभित्र स्थानीय निर्वाचनको मिति तय भइसक्ने संकेत गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘स्थानीय निकाय जित्न पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य छ । त्यसको सम्भावना अहिले कमजोर भएकलो तत्काल सबल र सुदृढ गरिनुपर्छ ।'
माओवादी केन्द्रले सरकार, संसद् र सडकलाई उपयोग गरिरहेको प्रधानमन्त्रीले बताए ।
‘पहिले पार्टीको अग्रमोर्चामा बन्दुक थियो । तर अहिले कलम आइपुगेको छ । सोहीअनुसार तपाईंहरूको भूमिका हुनुपर्यो' उनले माओवादी निकट सञ्चारकमीलाई आग्रह गरे ।
उनले संक्रमणकालीन अवस्था र संविधानप्रतिको जिम्मेवारीबोध गर्दै आफूहरूले संसदीय व्यवस्थामा सम्झौता गरेको औंल्याए । उनले भने, ‘ शान्तिकालमा आइसकेपछि केही कमीकमजोरी रहे, विसंगतिका कारण पार्टीलाई एकताबद्ध गराइराख्न सकेनौं ।'
आफ्नो नेतृत्वमा सरकार बनेपछि सरकारका निर्णय जनतातर्फ फर्काउने प्रयास गरिरहेको दाबी उनले गरे ।