आमाहरू झोला बोकेर स्कुलतिर

आमाहरू झोला बोकेर स्कुलतिर

सुर्खेतः उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्‍यो । छोराछोरीलाई पढाउनुपर्‍यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् ।

‘छोराहरूले पढिसके, अब पढ्ने पालो मेरो', उनले खुसी हुँदै भनिन्, ‘नपढे पो लाज हुन्छ, पढ्न केको लाज ? ' पहिले पढ्न नपाएकोमा उनलाई पछुतो छ । छोरालाई पढाउने तर छोरीलाई पढ्न नपठाउने समयमा जन्मिएकी उनले रहर मारेरै घरव्यवहार समाल्न बाध्य भइन् त्योबेला ।

चाहेर पनि विद्यालय जान नपाएकी उनलाई अक्षर चिन्ने रहरले अहिले विद्यालयसम्म डोर्‍याएको छ । वीरेन्द्रनगर ११ चनौटे निवासी गंगा आफ्नो बाल्यकालको रहर पूरा गर्न अहिले गाउँकै हस्तवीर सामुदायिक प्राथमिक विद्यालयमा भर्ना भएकी छन् । उनले अक्षरसमेत चिन्न थालेकी छन् ।

बाल्यकालमा पढ्न नपाएका वीरेन्द्रनगर चनौटेका आमाहरू हिजोआज विद्यालय गएर पढ्न थालेका छन् । गंगाजस्तै यहाँका ४३ जना आमा अहिले स्थानीय हस्तवीर प्राथमिक विद्यालयमा ‘कखरा' सिक्दैछन् । ‘जोड, घटाउ, गुणन र भागदेखि एबीसीडी पनि सिकिरहेका छौं', ४४ वर्षीया अनिता सोमैले उत्साहित हुँदै भनिन् ।

बाल्यकालमा पढ्न नपाएका वीरेन्द्रनगर चनौटेका आमाहरू हिजोआज विद्यालय गएर पढ्न थालेका छन् । गंगाजस्तै यहाँका ४३ जना आमाहरू अहिले स्थानीय हस्तवीर प्राथमिक विद्यालयमा ‘कखरा' सिक्दैछन् ।

अनिताले पनि सानो छँदा पढ्न पाइनन् । बाबुआमाले सानैमा विवाह गरिदिए । कापीकिताब बोकेर विद्यालय जाने उमेरमा उनले घाँसदाउरा बोकेर मेलापात गरिन् । छोराछोरी हुर्किएपछि बल्ल उनी बचपनदेखिको पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् ।

सानोतिनो पैसाको हिसाब गर्न पनि अरूलाई सोध्नुपर्ने । छोराछोरीले हातहातमा मोबाइल बोकेर हिँड्न थालिसक्दा पनि आफूले मोबाइल चलाउनसमेत नजान्ने । आमा समूहमा बस्दा हस्ताक्षर गर्नुपथ्र्यो तर उनी ल्याप्चे लगाउँथिन् । यसले उनलाई थुप्रैपटक लज्जाबोध भयो । त्यसपछि उनले अठोट गरिन्, ‘पढ्नलाई उमेरले छेक्दैन । म पनि विद्यालय जान्छु र पढ्न सिक्छु ।' अहिले उनी पनि गाउँका अन्य दिदीबहिनीसँगै हरेक दिन विद्यालय पुग्छिन्, पढ्छिन् र फर्किन्छिन् ।

‘कहिलेकहीं नातिनातिनाले होमवर्क गर्दा सिकाइदिनुस् भन्छन् । आफू अक्षर चिन्दिनँ, कसरी सिकाउनु ? ' गंगा र अनिताजस्तै यहाँका महिलाहरू घरायसी काम सकेर बिहान ११ बजे विद्यालय पुग्छन् । पढेर दिउँसो १ बजे घर फर्किन्छन् । उमेर छँदा पढ्न नपाएका उनीहरू छोराछोरी हुर्काएर बुढेसकालमा अक्षर चिन्न पाउँदा खुसी छन् ।

 

बुढेसकालमा भए पनि विद्यालय गएर अक्षर चिन्न पाउँदा वीरेन्द्रनगर १० निवासी ६७ वर्षीया तुलसी गौतमले खुसी व्यक्त गरिन् । गौतमलाई अक्षर चिनेर रामायण, गीतालगायत धार्मिक पुस्तक पढ्ने धोको छ । पढ्न थालेको छोटो समयमै सामान्य हिसाब गर्न, आफ्नो नाम लेख्न र दस्तखत गर्न जान्ने भएको महिलाहरू बताउँछन् ।

छोराछोरी विद्यालय जान थालिसकेका उनीहरूलाई आफैं उनीहरूसँगै बसेर पढ्न सहज थिएन । त्यसैले विद्यालयसँग आफूहरूका लागि छुट्टै कक्षा सञ्चालन गरिदिन माग राखे । उनीहरूको माग पूरा भयो । अनौपचारिक शिक्षाअन्तर्गत प्रौढ कक्षा सञ्चालनको अनुमति पाएपछि हस्तवीरमा २०६७ सालबाट महिलाहरूका लागि प्रौढ कक्षा सञ्चालन गर्न थालिएको हो ।

यस कक्षामा हालसम्म एक सय ८४ जना महिलाले अध्ययन गरिसकेका छन् । यस कक्षाअन्तर्गत पहिलो तहमा १ देखि ३ कक्षा र दोस्रोमा ४ र ५ कक्षासँग सम्बन्धित पढाइ हुन्छ । दोस्रो तह उत्तीर्ण गरेपछि महिलाहरूले नजिकै रहेको अमरज्योति नमुना उच्च माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् ।

अमरज्योतिले खुला निमावि तह अध्यापन गराउने गरेको छ जसमा एक वर्षमा निमावि तह र दोस्रो वर्ष एसएलसी दिन पाउने व्यवस्था गरिएको छ । गृहिणीलाई पढाउँदै आएकी शिक्षिका टीका पंगाली गृहणी महिलाहरूले पढाइमा मेहनत गर्ने गरेको बताउँछिन् ।

मेहनत गरेर पढेकै कारण छोटो समयमा नै पढ्न, लेख्न र हस्ताक्षर गर्नसक्ने भएको उनले बताइन् । गृहिणी कक्षाले बालविकास केन्द्रदेखि प्राथमिक तहमा बालबालिकाको संख्या पनि वृद्धि भएको स्थानीय अभिभावक एवं हस्तवीर विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णप्रसाद पौडेलले बताए ।

महिलाहरू शिक्षित हुँदा त्यसले परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने उनले बताए । यसअघि विद्यालय आउन नमान्ने बालबालिका पनि अहिले आफ्ना आमासँगै विद्यालय आउन थालेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.