वेदमा अग्नि, यज्ञ र पर्यावरण
ॐ अग्निमिडे पुरोहितं यज्ञस्य देवमृत्विजम् । होतारं रत्नधातमम् ।।१।।
अर्थात्
यज्ञका अग्रणी, ऋतुअनुसार यज्ञ गर्ने, देवताहरूलाई आह्वान गर्ने, अत्यन्त श्रेष्ठ धन दिने अग्निदेवलाई म स्तुति गर्दछु ।। (ऋ—१—१—१)
ऋग्वेदको पहिलो मण्डलको पहिलो सुक्तको पहिलो ऋचामा नै अग्नि र यज्ञको चर्चा रहेको देखिन्छ । उल्लिखित ऋचामा अग्निलाई देवताको रूपमा पुकारिएको छ । पहिलो ऋचामा मात्र होइन अधिकांश ऋचामा अग्निको प्रसंग छ ।
वेदकालीन समाज तथा संस्कृतिको विकासमा अग्निको महत्वपूर्ण हात रहेको तथ्य वेदका ऋचा एवं वैदिक इतिहास खोतल्दा प्रष्ट हुन्छ । वैदिक आर्यहरूले प्रारम्भमा नै अग्निको महत्व बुझेका थिए । अग्निलाई गृह देवताको रूपमा मानेर स्थापित गरिएको थियो । वेदकालीन समाजमा प्रत्येक गृहस्थले ‘यज्ञ' गर्दथे र अग्निको माध्यमद्वारा देवतालाई हविष प्रदान गर्दथे ।
वेदकालीन समयमा यज्ञको भौतिक सम्बन्ध आगोसँग जोडिएको देखिन्छ । हुन त मध्यपाषण युगदेखि नै मानिसले आगोलाई जीवनयापनमा प्रयोग गर्दै आएको मानिन्छ । वेदकालीन समाजमा मानिसहरू प्राकृतिक शक्ति जसले मानिसको जीवनयापनमा सहयोग पुर्याउँदथे तिनप्रति अगाध स्नेह राख्दै स्तुति तथा भक्ति गर्दथे । भावनाले अग्निलाई विशेष प्राकृतिक शक्तिको रूपमा स्तुति गर्ने क्रममा यज्ञको अवधारणा प्रारम्भ भएको हुनुपर्छ । अग्निमा वस्तु अर्पण गरेर देवतासम्म पुग्दछ भन्ने विश्वासको साथमा यज्ञको आयोजना हुन्थ्यो ।
वेदका ऋचा तथा सुक्तहरूमा अग्निलाई देवता मानेर स्तुति गरेको पाइन्छ । वैदिक आर्यहरूले यज्ञको आयोजना गर्ने, यज्ञमा होम गर्ने, संलग्न हुने मानिसलाई उच्चकोटीको मानिसको रूपमा चर्चा गरेको देखिन्छ । किन आर्यहरूले अग्निको स्तुति र यज्ञको प्रयोग गरे भन्ने सन्दर्भमा विभिन्न तर्क छन् । विद्वान मदनमणि दीक्षितले सिन्ध सभ्यताका आर्यहरूले पनि यज्ञ गर्दथे, त्यसैको प्रभाव वैदिक आर्यमा परेको सन्दर्भ उल्लेख गरेका छन् ।
दीक्षितले ‘त्यो युग' नामक पुस्तकमा आर्यहरू भारतमा आउँदा सिन्धु सभ्यताको हरप्पा र मोहन्जोदाडो जस्ता विख्यात सहरले झन्डै एक हजार वर्षको जीवन बिताइसकेका थिए । बाँकी रहेका सानातिना सहरलाई मात्र ती आर्यहरूले देखे । तीन तलासम्म माटाका पर्खाल र काठको उपयोग गरेर बनाइएका घरहरू देखेपछि विस्मयमा परे । त्यस्ता अग्ला प्रासादहरू देखेर छक्क परेका आर्यहरूलाई छाप्राबाहेक तले र पक्की घरमा बस्ने बानी नपरेको हुँदा लडाइमा कब्जा भएपछि ती घरको उपयोग गर्न नजानेका अग्निपूजकहरू त्यस्ता घरलाई या त भत्काइदिन्थे या आगो लगाएर खरानी पारिदिन्थे भनेका छन् ।
सृष्टिको प्रत्येक कणमा प्रतिक्षण स्फोट यज्ञ भइरहन्छ । नित्य परिवर्तन भइरहन्छ । सृष्टिचक्र चलिरहन्छ । यजुर्वेदमा ‘यज्ञ' लाई सृष्टि चक्रको नाभीको रूपमा वर्णन गरिएको छ ।
यसबाट अनुमान गर्न सकिन्छ कि आर्यहरू सिकार संकलित अवस्थावाट पशुपालनको अवस्थामा परिवर्तित भइसकेका थिए । यिनीहरू विभिन्न क्षेत्रबाट सिन्ध क्षेत्रमा प्रवेश गर्दा यहाँ रहेको ठूलो जंगलमा आगो लगाएर नै बस्तीको विस्तार गरे । त्यसमा अग्नि शक्तिको विशाल प्रयोग भयो । ग्रामीण इलाकामा रहेका वैदिक आर्यहरूले दीक्षितले भने जस्तै सिन्ध सभ्यताका विशाल नगरीय संरचनालाई आगोको माध्यमबाट नै ध्वस्त पार्न सफल भएकाले वैदिक आर्यहरूको जीवनमा आगो अत्यन्त उपयोगी साबित हुन गयो । त्यसले अगेर्ना तथा स्तुतिको क्रममा यज्ञको अवधारणा विकास भएको हुनुपर्छ ।
यज्ञ र अग्निको वेदकालीन समाजमा यति ठूलो चर्चा हुनुको कारण आगोको रक्षा र आगोबाट हुन सक्ने नोक्सानिबाट जोगिन गरिने स्तुतिसँग सम्बन्धित देखिन्छ । आगो नभै मानव जीवन नचल्ने हुँदा आगोको संरक्षण गर्नुपर्यो । अर्कोतर्फ आगो पनि शक्तिशाली, प्रलयकारी छ, नष्ट पार्न सक्छ भन्ने डरले खानाभन्दा पहिला उसलाई चढाएर खुसी पार्ने क्रम चल्यो । हरेक कार्यको आरम्भमा दीप प्रज्वलन गरिन्छ ।
आगोको रक्षा तथा बचाउ गर्ने, हावाले नभेट्ने, आगो फैलिँदै अन्यत्र पुगेर नोक्सान गर्न नसकोस् भन्ने अवधारणाका साथ आगोलाई गहिरो खाडलको पिँधमा स्थापना गरी राखिन थाल्यो । आगो निभ्ला कि भनेर बेलाबेलामा आपूले खाने बस्तु थप्दै चढाउँदै, आगोमात्र बढाउने काम हुन थाल्यो । विशेषगरी पशुपालन तथा प्रकृतिका बेला मानिसले पशुको घिउ, अन्न थप्दै जाँदाको विकसित रूपले यज्ञको स्वरूप विकास हुन गएको देखन्छ ।
वेदकालीन समाजमा यज्ञको अर्को बाटो कर्मकाण्डसँग गाँसिएको छ । श्रम विभाजन स्वरूप ब्राह्मण तथा पुरोहित वर्गको अस्तित्व देखा परेपछि त्यस समूहले आफ्नो कामलाई पेसागत बनाउँदै जाँदा कर्मकाण्डको विकास भयो । कर्मकाण्डमा अग्निको स्थापना गर्ने, व्यवस्थित रूपमा राख्ने क्रममा यज्ञ परम्परा विकसित भएको देखिन्छ । भारतीय इतिहासविद रोमिला थापरले यज्ञलाई दान दक्षिणा तथा विनिमयको केन्द्रको रूपमा चर्चा गरेकी छन् । कार्ल माक्र्सले आधार संरचनाको जगमा उपरी संरचना निर्माण हुन्छ ।
उपरी संरचनाको विधि विधानले संरचना चलाउँछ भने भैं भौतिक रूपमा आगोको महत्व बुझेपछि पुरोहित वर्ग जसले समाज सञ्चालनका मान्यता निर्माण गरेको देखिन्छ । तिनले आफ्नो पेसा व्यवसायको सुरक्षा हुने देखेर हरेक मानिसले यज्ञ कर्म गर्नुपर्ने, दान स्तुति गर्नुपर्ने, भगवान्सँग पुर्याउने माध्यम नै यज्ञ भएको विश्वास फिजाउँदै गए । यसरी यज्ञले बृहत् रूप लिँदै गयो । ऋग्वेदका कररिब १४ सय मन्त्रमा अग्नि र यज्ञको सन्दर्भ देख्न सकिन्छ ।
वेदकालीन समाजमा अग्निको संरक्षण र नियन्त्रणको कार्य पद्धतिले यज्ञ परम्परालाई विकास हुन सघाएको देखिन्छ । आगो विध्वंसकारी र अत्यावश्यक पनि भएकाले त्यसलाई जोगाउन कुण्ड विशेषमा राख्ने, त्यो ननिभोस् भनेर उपभोग गर्ने वस्तु चढाएर स्थायित्व गराइरहने प्रक्रियाले अग्नि स्तुति एवम् अग्नि देवताको रूपमा विकास हुँदै गएको थियो । यसै प्रक्रियासँगै हरेक कार्यको प्रारम्भमा अग्नि स्तुति गर्दै आशीर्वाद लिएर कार्यारम्भ गर्ने, युद्ध तथा द्वन्द्वमा जाँदा अग्नि स्तुति तथा हवन गरेर जाने र सफलताको कामना गर्ने प्रक्रिया विकसित भयो ।
पछि राज्यको नेतृत्व लिने वर्गले यज्ञ कार्यको लागि पुरोत्याइँ गर्ने ब्राह्मण नियुक्त गर्ने कार्य हुन थाल्यो । यसरी विकसित भएको यज्ञ परम्परा पुरोहित वर्गको पेसागत स्वरूपमा विकसित हँदै जाँदा हरेक संस्कारजन्य कार्यमा यज्ञ कार्य सम्पादन गर्ने चलनको विकास भयो ।
वैदिक समाजमा भक्ति एवम् यज्ञ कर्मकाण्ड धाराको विकास हँदै गएको थियो । देवताको भक्तिका लागि अग्नि स्थापना गरिन्थ्यो । अग्निको माध्यमबाट सम्पूर्ण वस्तु देवतासम्म पुग्दछ भन्ने विश्वास गरिन्थ्यो । त्यही विश्वासका कारण अग्नि स्थापना गरी यज्ञयुक्त कर्मकाण्डको सुरुवात भएको थियो । यज्ञको कर्मकाण्ड वैदिक समाजको एक विशेष अंग थियो । आर्यहरू यज्ञको ज्यादै प्रेम गर्दथे । दैनिक, पाक्षिक, मासिक, चतुर्मासिक एवम् वार्षिक रूपमा यज्ञ गरिन्थ्यो ।
जीवनका महत्पूर्ण घटना, अवसरहरू तथा जन्म, न्वारन, चूडाकर्म, विवाहलगायतका सम्पूर्ण संस्कारजन्य कार्यहरूमा यज्ञ गरिन्थ्यो । यसका लागि विभिन्न कर्मकाण्डी पुरोहितहरूको आवश्यकता पर्दथ्यो । यो जिम्मेवारी ब्राह्मणवर्गको हन्थ्यो । वैदिक समाजमा विभिन्न खालका यज्ञको प्रचलन थियो । विवाहपश्चात्को गृहस्थ जीवन सुखपूर्ण बनोस् भन्ने ध्येयले ‘अग्न्याधान' यज्ञ गरिन्थ्यो भने गृहस्थ जीवनमा मनुष्य ऋषिऋण, देवऋण र पितृऋणबाट मुक्त होस् भनी ‘अग्निहोत्र' यज्ञ सम्पादन गरिन्थ्यो ।
कृषि कार्यका लागि ठीक समयमा वर्षा होस् एवम् वृतयुद्धमा इन्द्रलाई शक्ति प्राप्त होस् भन्ने ध्येयले सोमयाग यज्ञ गरिन्थ्यो । जसको वर्णन ऋग्वेदको नवौं अध्यायमा छ । यज्ञमा दक्षिणाको लागि सुन, चाँदी र गाईको खुब प्रयोग गरिन्थ्यो । त्यस समयमा सोमरस देवताहरूको लागि प्रिय वस्तु मानिन्थ्यो । सोमयाग यज्ञमा यज्ञ गर्ने यजमानलगायत सम्पूर्णले सोमरस पान गर्दथे ।
वैदिक विद्धान कपिलदेव द्विवेदीले यज्ञ विधिका कारण प्राकृतिक सन्तुलन राख्न सकिन्छ भन्दै यज्ञद्वारा पर्यावरणको सुरक्षा वायुमण्डलको पवित्रता, विविध रोगको नाश, शारीरिक र मानसिक उन्नति प्राप्त हुन्छ भनेका छन् । यज्ञद्वारा भू-प्रदूषण, जलप्रदूषण, वायुप्रदूषण र ध्वनिप्रदूषण दूर हुन्छ भनेका छन् । यज्ञ वैज्ञानिक प्रक्रिया हो । जसद्वारा वायुमण्डलमा अक्सिजन र कार्वनडाइअक्साइडको सन्तुलन कायम हुन्छ । प्रकृतिमा एक नैसर्गिक चक्रको व्यवस्था छ, यसले प्रत्येक पदार्थ पुनः आफ्नो मूल स्थानतर्फ पुग्दछ ।
यसै आधारले अहोरात्र चक्र, ऋतुचक्र, वर्षचक्र, सौरचक्र, इन्द्रचक्र आदि व्यवस्थित हुन्छ । यज्ञ यसै प्राकृतिक चक्रको पारिभाषिक शब्दावलीको रूपमा ऋग्वेद र यर्जुवेदमा वर्णन भएको कुरा द्विवेदीले उल्लेख गरेका छन् । सृष्टिको प्रत्येक कणमा प्रतिक्षण स्फोट यज्ञ भैरहन्छ । नित्य परिवर्तन भइरहन्छ । सृष्टिचक्र चलिरहन्छ । यजुर्वेदमा ‘यज्ञ' लाई सृष्टि चक्रको नाभीको रूपमा वर्णन गरिएको छ ।
राज्य निर्माणको प्रक्रियासँगै राज्यको नेतृत्व गर्ने समूह राजन्य, यज्ञ कार्य गर्ने समूह ब्राह्मण पशुपालन एवम् उत्पादन कार्यमा लाग्ने समूह ‘विश', तथा वैश्यको रूपमा स्थापित भए । वैश्य समूहले उत्पादन गरेको सबै वस्तु यज्ञस्थलमा जम्मा गर्ने, त्यसैमध्येबाट राजन्य समूहले राज्य सञ्चालन गर्न चाहिने वस्तु राख्ने, त्यहीमध्येबाट यज्ञ कार्यको नेतृत्व गर्ने ब्राह्मणको लागि पारि श्रमिकको व्यवस्था गर्ने बाँकी वैश्यलाई फिर्ता दिने परम्परा विकसित हुँदै गयो । रोमिला थापरले यज्ञ प्रकृयामा चढाइएको वस्तु दान दक्षिणाको रूपमा प्रयोग हुने गरेको सन्दर्भ उल्लेख गरेकी छन् ।
यज्ञको माध्यमबाट राज्यका सबै समूहबीच भेटघाट, वस्तुको बाँडफाँड तथा वितरणसमेत हुने गरेको देखिन्छ । त्यस समयमा यज्ञले सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवम् पर्यावरणीय संस्थाको रूपमा कार्य सम्पादन गरेको देखाउँछ ।