राष्ट्रिय टोलीमा फर्किइन् नेरी
काठमाडौः अनुशासनको कारबाही बेहोरेकी नेपाली राष्ट्रिय महिला टोलीकी पहिलो कप्तान नेरी थापा पुन राष्ट्रिय टोलीमा फर्किएकी छन् । असोज २३ बाट हङकङमा सुरु हुने २०१७ को महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट खेलमा सहभागी हुने नेपाली टोलीमा उनी समावेश भएकी हुन् । सो प्रतियोगितामा सहभागी हुने उनीसहितको अन्तिम १४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बुझाइएको छ ।
गत २०७१ असोजको पहिलो साता दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा सहभागी हुने क्रममा अनुशासनहीन काम गरेको जनाउँदै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई ६ महिनाका लागि अनुशासनको कारबाही गरेको थियो ।
त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उनले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो । इन्चोन एसियाडपछि पोखरामा भएको प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा समेत उनले चोटका कारण खेल्न पाएकी थिइनन् ।
प्रतियोगिताका लागि नियमित कप्तान रुबिना क्षत्रीको नेतृत्वमा छनोट गरिएको १४ सदस्यीय टोलीमा तीन नयाँ अनुहार थपिएका छन् । निर्मला शाही, सबनम राई र ज्योति पाण्डेले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएकी छन् ।
निर्मला कैलाली, सबनम झापा तथा ज्योति विभागीय टोली एपीएफकी खेलाडी हुन् । राष्ट्रिय टोलीमा नीरा राजोपाध्यायसहित सीता रानामगर, इन्दु बर्मा, रोश्नी बोहरा, रश्मि शर्मा चौलागाईले निरन्तरता पाएका छन् । यस्तै टोलीमा सरस्वती चौधरी, करुणा भण्डारी, सरिता मगर र काजोल श्रेष्ठले पनि निरन्तरता पाए ।
टोलीमा चार अतिरिक्त खेलाडीसमेत घोषणा गरिएको छ । लक्ष्मी चौधरी, अनुराधा चौधरी, संगीता राई र शोभा आले अतिरिक्त खेलाडी छन् । प्रतियोगितामा नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी राजु बस्न्यातले हेर्नेछन् । टोलीको व्यवस्थापकका रूपमा राखेपका बोर्ड सदस्य यानकुमारी गुरुङ जाने पक्का भएको छ ।
टोली प्रतियोगिताका लागि असोज १९ मा त्यसतर्फ जानेछ । नेपाली टोलीलाई शुक्रबार नै राखेपका सदस्यसचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिएका छन् ।
सदस्यसचिव विष्टले टोलीको तयारीका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । ‘तपाईंहरू राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपको छनोट खेल खेल्न जाँदै हुनुहुन्छ ।
त्यसका लागि सफलताको शुभकामना दिन चाहन्छु', सदस्यसचिव विष्टले भने, ‘हाल तपार्इंहरूको तयारीका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हेरिरहेको छ । त्यसबाहेक तयारीका लागि अपुग के छ मलाई भन्नुहोला । त्यसको पूर्ति गर्न हामी तयार छौं ।'
सो अवसरमा टोलीका प्रशिक्षक बस्न्यातले नेपालमा महिला प्रशिक्षकको कमी रहेको र त्यसका लागि सन्न्यासको नजिक रहेका खेलाडीलाई परिषद्ले प्रशिक्षक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।