सेल्फी खिच्दै गर्दा नदीमा खसेर एक युवक बेपत्ता
बेसीशहर: पूर्वी लमजुङको दोर्दी खोलामा सेल्फी खिच्ने क्रममा एक युवा नदीमा बेपत्ता भएका छन्। गोरखाको मनकामना घर भई हाल काठमाडौंमा बस्दै आएका २१ वर्षीय पवन श्रेष्ठ दोर्दी नदीमा बेपत्ता भएका हुन्।
शनिबारदेखि ढाडेनी–२, कै साइनो युवा क्लबले दशैंको अवसरमा आयोजनामा गर्न लागेको खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन उनी ढोडेनी आएका थिए। ‘सेल्फी खिच्दा झरेजस्तो देखिन्छ साइनो युवा क्लबका पूर्व अध्यक्ष धनलाल तामाङले अन्नपूर्णसँग भने, ‘खोला ठूलो भएकाले उनी बेपत्ता छन्।’ तामाङका अनुसार खेल मैदानबाट झण्डै तीन किलोमिटर पर गैरी भन्ने ठाउँबाट उनी दोर्दीमा नदीमा खसेका थिए।
शुक्रबार नदीमा खसेर बेपत्ता भएका उनी हालसम्म फेला पर्न नसकेको प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले बताए। उनको खोजीको लागि इलाका प्रहरी कार्यालय भोटेवडारका प्रहरी निरीक्षक चन्द्रबहादुर गुरुङको नेतृत्वमा प्रहरीको एक टोलीमा घटनास्थल पुगेको डिएसपी खरेलले जानकारी दिए।