सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्दै प्रधानमन्त्रीले भने,‘विकासलाई प्राथमिकतामा राखेको छु’
नेपालगञ्जः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका आयोजनालाई प्राथमिकतामा राखेर निरीक्षण र अनुगमन गर्ने संकल्प गरेको बताएका छन्।
शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने,‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो। ४७ प्रतिशतका काम भएको छ। अब हामीले समयभन्दा अगाडि सम्पन्न गर्नुहोला। समयभन्दा पहिला, गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो काम गर्नुहोला।’
उनले सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने समेत बताए। उनले भने,‘नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं।’ प्रधानमन्त्रीले संविधान संशोधन, पूनर्निर्माण, विकासका आयोजना, राष्ट्रिय सहमतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
प्रचण्डले भने,‘उच्च अदालत गठनमा सहमति भएको छ। संविधान संशोधन, निर्वाचन लगायतका राष्ट्रिय महत्वका विषय सरकार समझदारीका साथ अघि बढ्नेछ।’ राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री नेपालगञ्ज पुगेका हुन्।
अवसरमा आयोजनाको तर्फबाट आयोजनाको प्रगति विवरणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो। १० वर्षदेखि निर्माणाधिन ४२ हजार हेक्टर जमिन सिंचाई गर्ने क्षमता राख्ने योजना निर्माणका आधा काम सम्पन्न भइसकेको छ। निरीक्षणमा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षामान पुन, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल लगायतको उपस्थिति रहेको थियो।