गाउँलेले आकासतिर हेरिरहे, प्रचण्डको हेलिकोप्टर भूँइमा बसेन

 गाउँलेले आकासतिर हेरिरहे, प्रचण्डको हेलिकोप्टर भूँइमा बसेन

प्यूठान : पहिरोले जमिन चिराचिरा परेको प्यूठानको फोप्ली गाउँको आकाशमा शनिबार बिहान एउटा हेलिकोप्टर नाच्दै थियो। फोप्ली-५ का पुनाराम पुन मगरले जम्मा भएका गाउँलेहरुलाई आकाशतिर देखाए ‘ऊ प्रधानमन्त्री आए, हेलिकोप्टरमा ।’

केहीबेर आकाशमा घुमेर हेलिकोप्टर फर्कियो। गाउँलेले परसम्म हेरिरहे। त्यसैगरी पहिराले प्रभावित भएका खवाङ, डाम्री, लिघा, स्याउलीवाङ र लुङलगायतका गाउँमा पनि हेलिकोप्टर घुम्यो, प्रधानमन्त्रीले प्रभावित गाउँहरु आकाशबाटै हेरे । अनि प्यूठानकै लुङ गाविसको बाहने बजारमा ओर्लिए।

माओवादी केन्द्रका कार्यकता, गाउँले अनि सरकारी अधिकारीहरुले स्वागत गर्दै लगाइदिएको मालाले प्रधानमन्त्री पुष्पकमल दाहालको गला पूरै ढाकियो । मालाले छोपिएर अलिअलि देखिएको अनुहार लिएर उनी मञ्चमा उक्लिए। प्रधानमन्त्रीलाई भेट्नका लागि पहिरो पीडितहरु गाउँगाउँबाट आएका थिए । पहिरोले सबैभन्दा प्रभावित गाउँ फोप्लीबाट २ घण्टा हिँडेर प्रधानमन्त्री भेट्न पीडितहरु बाहनेबजार झरेका थिए। प्रधानमन्त्री मञ्चमा १४ मिनेट बोले अनि फेरि हेलिकोप्टर चढेर फर्किए।

१४ मिनेटमा प्रधानमन्त्रीले पहिरो पीडितहरुको राहत अनि पुर्नस्थापनाको बारेमा बोले । पहिरो पीडितहरुलाई पनि भूकम्प पीडित सरह आठ लाख रुपैयाँ दिने घोषणा गरे । उनले पहिरो पीडितहरुको पुर्न निर्माणका लागि ३ लाख रुपैंयाँ अनुदान, ३ लाख सहुलियत ब्याजदर र २ लाख रुपैंयाँ बिना ब्याजको ऋण रकम गरी आठ लाख रुपैयाँ पीडितलाई दिने घोषणा उनको थियो ।

दशैं मान्नका लागि प्रतिपीडित परिवार १५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरे र त्यसको व्यवस्था मिलाउन मातहतका निकाय र कर्मचारीलाई अह्राए । १४ मिनेटभित्रै उनले युद्ध पनि सम्झिए । जनयुद्धमा प्यूठानले लगाएको गुन कहिल्यै नबिर्सिने भन्दै उनले प्यूठानवासीसँग युद्धको भावना पनि साटे । ‘द्वन्द्वका बेला तपाइँ प्यूठानवासीले धेरै गुन लगाउनु भो, सहयोग गर्नुभो’ प्रधानमन्त्रीले भने ‘अहिले प्यूठानको यो दुःखमा हामी साथमा छौँ, सरकार साथमा छ ।’

त्यस्तै उनले केही राजनीतिक कुरा पनि गरे । अहिले सरकार राजनीतिक समस्या समधानमा जुटिरहेको र त्यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए । ‘तर, हामी सबैको सहमतिमा संविधान संशोधन गर्छौँ त्यसका लागि प्रयास पनि भइरहेको छ ।’

गत साउन १० र ११ गते गएको पहिरोमा प्यूठानको फोप्ली गाविसमा मात्रै २७ जनाको ज्यान गएको थियो भने एक जना अझैं वेपत्ता छन् । पूरै प्यूठानभरि पहिरोमा परेर ५६ जनाको ज्यान गएको थियो । सहयोगको घोषणापछि पीडितहरु आपसमा खुसी साट्दै थिए । ‘हाम्रै गाउँमा प्रधानमन्त्री आउने भन्ने सुनेका थियौँ तर, आकाशमा मात्रै उडेर गए’ फोप्ली ५का पुनाराम मगरले भने ‘बाहानेमा झारेर हाम्लाई धेरै आशा देखाछ सरकारले चाडपर्व मान्न पाइने भो ।’

प्रधानमन्त्रीको भाषण सुनेर पहिरो पीडित चमी बिक पनि हौसिएकी थिइन् । २ घण्टा पैदल हिँडेर प्रधानमन्त्रीलाई सुन्न आएकी उनले गाउँलेसँग भन्दै थिइन् ‘दशैं खर्च नि पाउने रे, अनि घर बनाउने पैसा पनि दिने रे प्रधानमन्त्रीले भनेपछि सरकारले दिइहाल्छ नि ।’ पहिरोले घर, जमीन बगाएपछि सबै पीडितहरु अहिले आफन्तको खेतबारीमा अस्थायी टहरा हालेर बसेका छन् । पहिरोका कारण गाउँको जमीन समेत फाटेपछि गाउँमा टहरा बनाउने समेत ठाउँको अभाव छ ।

‘प्रधानमन्त्री गाउँमा नपुगेपछि बाहाने आयौँ’,फोप्लीका पहिरोपीडित चमी वि.क.ले भनिन्,‘धेरै आशा पाएका छौँ । दशैतिहार र घर बनाउने खर्च चाँडै पाइयोस् ।’ पहिरो गएपछि अहिलेसम्म पाएको सवै राहत सकिएको बताउँदै उनले दशैतिहार खर्च दिने खवरले खुसी भएको सुनाइन् । गाउँका सवै पहिरोपीडितहरु आफन्त र सार्वजनिक स्थानमा अस्थायी शिविर बनाएर बसेको जानकारी गराइन ।

बाढीपहिरोले जिल्लाभर ५६ जनाको ज्यान गएको छ । फोप्लीकै एक एक महिला अझैसम्म फेला नपरेको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

प्रधानमन्त्री बोल्नुभन्दा अगाडि प्यूठानको प्रमुख जिल्लाअधिकारी जनकराज पन्तले बाढी– पहिरोबाट जिल्लाभर झण्डै २ अर्ब बराबरको क्षति भएको जानकारी गराए । उनका अनुसार पहिरोले जिल्लाका १७ वटा गाविसहरु पूर्णरुपमा प्रभावित भएका छन् । २ सय घर पूर्णरुपमा, ८ सय उच्च जोखिम र ७ सय घरहरु आंशिक रुपमा क्षति भएको पनि उनले तथ्याङ्क सुनाए ।

प्रधानमन्त्रीलाई सुन्नका लागि फोप्ली, खवाङ, डामृ, लिघा, स्याउलीवाङ र लुङ गाविसका बाढीपहिरो पीडितहरु आएका थिए । प्रधानमन्त्रीको साथमा पूर्वमन्त्रीहरु वर्षमान पुन र रेखा शर्मा पनि आएका थिए ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.