दसैंमा मिठाईको माग उच्च
काठमाडौंः मिठाई भनेपछि धेरैको मुख रसाउँछ । दसैंतिहारमा मासुपछि सबैभन्दा बढी बिक्री हुने ‘मिठाई’ अर्थात् ‘गुलियो खाना’ हो । खाना खाएपछि र शुभ अवसरमा मिठाई सेवन गर्ने नेपालीको संस्कृति छ ।
शाकाहारीदेखि मांसाहारीसम्म र बालबालिकादेखि वृद्धवृद्धासम्मले मिठाईलाई मन पराउँछन् । मिठाईबिना चाडबाड खल्लो मानिन्छ । चाडबाडको समयमा मिठाईको कारोबार पनि उच्च परिमाणमा हुन्छ । अन्य दिनभन्दा चाडबाडमा चार गुणासम्म बढी मिठाईको माग हुने व्यापारीहरू बताउँछन् ।
नेपालको सहरी क्षेत्रमा जेरी अर्थात् जलेबी, चक्लेट बर्फी, पेडा, बेसनको लड्डु, मोती चुडको लड्डु, सुजीको लड्डु, मुङको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केसरी पेडा, रसबरी, लालमोहन, गुलाब जामुन, क्रिम मिठाई, काजुको मिठाई बढी खपत हुन्छन् ।
यस्तै कलाकन्द, काजुको बर्फी, कालो जामुन, दुधबरी, रसमलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, काजु कमल, खोया बदाम, राजभोग, वालु शाही, चन्द्रकलालगायतका मिठाई पनि दसैंदेखि छठसम्ममा धेरै परिमाणमा बिक्री हुने व्यापारी बताउँछन् ।
यीबाहेक जुजुधौ, अनर्सा, ऐंठे मरी, लखा मरी र गुँदपाक धेरैलै रुचाउनले मिठाई हुन् । उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएको) मिठाई पनि बजारमा उपलब्ध हुन थालेका छन् । नेपालमा प्रतिव्यक्तिले दैनिक ०.५५ प्रतिशत हाराहारीमा मिठाई सेवन गर्दै आएका छन् । मिठाईलाई मिठाईकै रूपमा उपभोग गर्दा स्वास्थ्यका लागि राम्रो मानिन्छ भने बढी खाँदा अजीर्ण हुने खतरा हुन्छ ।
पछिल्लो समयमा नेपालमा स्वदेशीभन्दा आयातित मिठाईको खपत बढी हुन थालेको छ । बाम्बिनो, बिकाजी, बिकानो, हल्दिराम, गुलाब, सजनगोठ, पतञ्जलिलगायतका भारतीय उद्योगका मिठाई पनि नेपाली बजारमा उपलब्ध छन् । अहिले राजधानीको बजारमा संगम स्विट्स उपस्थित छ । यस्तै भारतको प्रसिद्ध बिकानेर कम्पनीले नेपालमा पशुपति फुड्ससँगको सहकार्यमा आँगन ब्रान्डमा मिठाई उत्पादन गरी बिक्री गर्दै आएको छ ।
आँगनले अनलाइनमार्फत पनि मिठाईको बिक्री तथा उपभोक्ताको घरमै पु¥याउने गरेको छ । सन् २००१ देखि काठमाडौंको बजारमा मिठाईको कारोबार सुरु गरेको अर्को ब्रान्ड हो, रामेश्वरम् । यसले पनि अनलाइनमार्फत उपभोक्ताको घरदैलौमै मिठाई उपलब्ध गराउन थालेको छ ।
मिठाईको उच्च मागलाई ध्यानमा राख्दै स्वदेशी मिठाई उत्पादक राम भण्डार, श्याम भण्डार, बागमती स्विट्स, अनमोल स्विट्ससहित केही प्रमुख डेरी उद्योगले पनि विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन् । नेपाल डेरी प्रालिले ‘एनडीएस’ ब्रान्डमा र दुग्ध विकास संस्थान (डीडीसी) ले विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन् । यस्ता मिठाई मिनिमार्ट, सुपर मार्केट, डिपार्टमेन्टल स्टोर र आउटलेटमार्फत बिक्रीवितरण हुँदै आएको छ ।
नेपाल डेरी प्रालिका निर्देशक अरनिको राजभण्डारीका अनुसार नेपालमा आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते र दसैंतिहारमा मिठाईको धेरै माग हुन्छ । ‘सामान्य दिनमा दैनिक एक लाख मूल्य मूल्यबराबरको मिठाई बिक्री हुन्छ’, राजभण्डारी भन्छन्, ‘तर चाडबाडको समयमा सामान्य दिनभन्दा झन्डै चारगुणा बढी माग हुन्छ । चाडबाडका बेला दैनिक १२ लाख रुपैयाँसम्मको मिठाई बिक्री हुने उनी बताउँछन् ।
डीडीसीले भने दसैैंलाई भनेर थप चार हजार बट्टामा लालमोहन, सोही परिमाणमा रसबरी र तीन हजार बट्टामा पेडा उत्पादन गर्ने काम सुरु गरेको छ । डीडीसीका उपमहाप्रबन्धक ईश्वरी अधिकारीका अनुसार सामान्य दिनभन्दा चाडबाडमा २० देखि ३० प्रतिशत बढी मिठाईको माग हुन्छ ।
नेपालमा गुँदपाक उत्पादन गर्ने श्रेय ताहाचलका स्व.द्रव्यलाल मास्केको परिवारलाई जान्छ । मास्के परिवारले नै नेपालमा गुँदपाक बनाएर बेच्न थालेका हुन् । न्युरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा मास्के परिवारको तीन पुस्ता बिताइसकेको छ ।
२०६८ भदौमा गुँदपाकमा अखाद्य पदार्थ भेटिएको भन्दै सरकारले गरेको सिलबन्दी र कारबाहीका कारण गुँदपाकको बजार धराशयी भएको छ । ०६८ सम्म गुँदपाकको बजार उत्कर्षमा थियो । त्यति बेला दैनिक सय किलो बिक्री हुने गुँदपाक अहिले दैनिक १० देखि १५ किलोमा सीमित भएको छ ।
गुँदपाक भण्डारका सञ्चालक मदनबाबा मास्के भन्छिन्, ‘एक पटक गल्ती गरेपछि त्यसको सजाय हामीसहित समग्र गुँदपाक क्षेत्रले बेहोरिसक्यौं । त्रुटिका कारण स्वदेशी उत्पादनलाई नै धराशयी बनाउन हुन्न ।
मास्केका अनुसार सामान्य दिनभन्दा चाडबाडमा चार गुणा बढी मिठाईको माग बढ्छ । २०६८ अघिसम्म उनले दसैंतिहारको अवधिमा दैनिक चार सय किलोसम्म गुँदपाक बिक्री गरेकी थिइन् । ‘अहिले हामी सचेत भएर गुणस्तरसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी गुणस्तरयुक्त गुँदपाक उत्पादन गर्दै आएका छौं’, उनी भन्छिन् । ००
नक्कली मिठाईदेखि सावधान ! भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई बिक्री गर्ने सम्भावना हुन्छ । यस्तो समयमा विश्वासिलो पसलबाट मात्रै मिठाई खरिद गर्नुपर्ने विज्ञको सुझाव छ । नक्कली मिठाई खाएमा ज्यान पनि जान सक्छ । गुणस्तरहीन नक्कली मिठाईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यलाई दीर्घकालीन रोग लाग्छ ।
तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने अत्यधिक सम्भावना हुन्छ । यसका साथै नक्कली घिउ र तेलमा तारेर अखाद्य रङको प्रयोग तथा चाँदीको वर्क (मिठाईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) हालेका रंगिचंगी मिठाईले पनि मानव स्वास्थ्यलाई दीर्घकालीन असर पु¥याउन सक्छ ।
नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थकर हुन सक्छ । वरिष्ठ खाद्य वैज्ञानिक डा. दिलीप सुब्बाका अनुसार मिठाईलाई आकर्षक बनाउन प्रयोग हुने चाँदीको वर्क मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ । चाँदीको वर्क लागेको मिठाई सेवन गर्न नहुने उनको सुझाव छ ।
भारतको लखनउस्थित इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा व्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन् । डा. सुब्बा भन्छन्, ‘यसले सीधै कलेजो र आन्द्रामा असर पार्छ ।’
अध्ययनअनुसार चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तŒव पाइन्छ । यस्ता मिठाई उपभोग गर्दा क्यान्सर, कलेजो, मिर्गौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ । वर्क आफैंमा शुद्ध होइन । चाँदीको पातलो च्याप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्राको प्रयोग गरिन्छ । गाईको आन्द्राबिना चाँदी वा आल्मुनियमको वर्क बन्न नसक्ने दाबी प्रतिवेदनमा उल्लेख छ ।
गाईको आन्द्रामा चाँदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुग्रोले पिट्ने गरिन्छ । पातलो च्याप्टो नबनेसम्म मुग्रोले पिटिन्छ । ही बर्कलाई मिठाईमा सजाएर बिक्री गरिन्छ । मिठाईको मिसावट यत्तिमै सीमित छैन् । सिन्थेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा र फरमालिन मि श्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ ।
नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ । यही खुवाबाट विभिन्न खालका बर्फी, पेडा र अन्य महँगा मिठाई तयार पारेर बिक्री हुन्छ । खुवामा गहुँको पिठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घिउ मिसाएर गुणस्तरहीन मिठाई तयार पारिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण भन्छन्, ‘धेरै मुलुकमा यस्तो समस्या बाहिर आए पनि नेपालमा अहिलेसम्म फेला पार्न सकेका छैनौं ।’ नक्कली दूधबाट निर्मित मिठाई सेवनबाट बान्ता हुने, मिर्गाैला र कलेजो बिग्रने तथा क्यान्सर लाग्न सक्छ ।
विभागका अनुसार अनुगमनका क्रममा अहिलेसम्म मिठाई बनाउने घिउ र मख्खनमा राँगाभैसीको बोसो मिसाइएको, म्याद नाघेको घिउ र तेल प्रयोग गरिएको, सडेको खुवामा ताजा खुवा मिसाएर नयाँ मिठाई तयार पारेको तथा मिठाईमा खाद्य र अखाद्य रङ मिसाइएको फेला पारिएको छ ।
यसरी छुट्ट्याऔं गुणस्तहीन मिठाई
चाँदीको वर्कः यसलाई डढाउँदा तेलको सानो थोपाको रूपमा परिणत हुन्छ । मिसावट चाँदीको वर्क डढाउँदा गाढा खैरौ रङको अवशेष बाँकी हुन्छ ।
दूधः टेस्टट्युबमा तीन मिलिलिटर दूध राख्ने । त्यसमा एक प्रतिशत आयोडिन घोलको एक थोपा मिसाउने । दूध नीलो वा गाढा नीलो रङको भए दूधमा मिसावट भएको बुभ्नुहोस् ।
नक्कली दूधः साबुनजस्तो गनाउने । दूध पहेंलो देखिने । स्वाद अस्वाभाविक लाग्ने ।
घिउ र मख्खनः हाइड्रोक्लोरिक अम्ल १० सीसी र एक चम्चा चिनी, घिउ वा मख्खनमा मिसाएर हल्लाउनुहोस् । मिसावट भए मि श्रणको रङ रातो हुन्छ ।
खुवाः खुवामा दुई र तीन थोपा टिन्चर आयोडिन राख्नुहोस् । खुवाको रङ नीलो देखियो भने नक्कली हुन्छ । नक्कली खुवा धेरै सेतो हुन्छ । स्रोतः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग