भैरवको घ्याम्पो स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्र जाँदै
काठमाडौः पूर्वराजा ज्ञानेन्द्र शाह पचली भैरवको जात्राका क्रममा आइतबार सुनको जलप भएको तामाको भैरवको घ्याम्पो स्थापनाका लागि भीमसेनस्थान जाने भएका छन् ।
सरकारले परम्परा र संस्कृतिलाई वेवास्ता गरेको भन्दै पचली भैरव जात्रा आयोजकले पूर्वराजा ज्ञानेन्द्रलाई नयाँ घ्याम्पो निर्माण गर्न आग्रह गर्दै स्थापनाका लागि आग्रह गरेका हुन् । अशोक विनायक पुग्दा पञ्चकन्याले ज्ञानेन्द्रको स्वागत गर्नेछन् । अशोक विनायकको पूजा गरेपछि उनी करिब पाँच मिनेटको पैदल यात्रापछि भीमसेन स्थानमा रहेको भीमसेन मन्दिरमा पुग्नेछन् । भीमसेनलाई असनको देवता र महाभारतको भीमसेन पनि भन्ने चलन छ ।
'नेवारी समुदायले असल देवताका रुपमा पुज्ने र बाटोमा पर्ने भएकाले पूर्वराजाले भीमसेनको दर्शन र पूजाआजा गर्नु हुनेछ', पचली भैरव जात्रा सम्पन्न गर्ने मुख्य भूमिकामा रहेका थकुजुजु जयराम मल्लले अन्नपूर्णसँग भने, '२०५८ सालमा ज्ञानेन्द्रले बनाइदिएको भैरव र उनकी पत्नी अंकित घ्याम्पो पुरानो भएकाले यस वर्ष पनि उहाँले नै नयाँ बनाइदिनु भयो । त्यसैले गणेश र भीमसेनको दर्शन र पूजापछि पचली भैरवको दर्शन र पूजाआजा गर्नु हुनेछ ।'
भीमसेन थकुजुजुहरुको मूल देवता हुन् । थकुजुजुको घरमा राखिने पचली भैरवको उक्त पूजा राजोपाध्याय थरका ब्राह्मण, ब्राह्मणी, कर्माचार्य थरका नेवारका पूजारी आयजु, थकुजुजु र थकुलानीको उपस्थितिमा राजा ज्ञानेन्द्रले गर्ने मल्लले बताए । उनले भने, 'ब्राह्मणले मन्त्रोच्चारण गरी पूजा हुनेछ तर घ्याम्पो फेएिकाले ज्ञानेन्द्र सरकारका तर्फबाट भैरवको पूजा गर्नुपर्छ ।'
बडादसैंसँग जोडिएको पचली भैरवको जात्राका क्रममा दर्शन र पूजाआजाका लागि यसअघि २०५८ सालमा राष्ट्राध्यक्षका हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्र गएका थिए । गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरवको जात्रामा तत्कालीन राजा त्रिभुवन वर्षेनी जान्थे भने पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए ।
नयाँ घ्याम्पो अघिल्लो शनिबार थकुजुजु (नेवारी राजा) को घरमा ल्याउने काम भएको थियो । घरमा भित्र्याएपछि गत आइतबार पूजाआजा गरिएको थियो । भैरवको सोमबार साधारण पूजा, मंगलबार मन्त्र दानको थाः पूजा, बुधबार दिनको न्हीः पूजा, बिहीबार रातको चाः पूजा, शुक्र र शनिबार साधारण पूजा भएको छ । पचली भैरवको ठूलो आकृतिको मूर्ति रहेको सोही घ्याम्पोको माथि पाथीजस्तो आकारमा भैरवकै पत्नीको सानो मूर्ति रहने परम्परा छ । तामामा सुनको लेपन गरेर बनाइने घ्याम्पोको निर्माणमा लाखौं रुपैयाँ खर्च हुन्छ ।
पचली भैरवको देवस्थललाई पञ्चलिंगेश्वर अर्थात् पञ्चमुखी लिंगेश्वर भन्ने गरिन्छ । हिमाली क्षेत्रमध्ये काश्मीरमा चलेको लिंगायत मत, सिन्ध उपत्यकामा चलेको शिव लिंग र जलहरिको पूजा परम्परा, पाशुपत क्षेत्रमा चलेको पञ्चमुखी ज्योतिर्लिंग पूजाजस्तै पूजा यहाँ नभए तापनि तान्त्रिक दृष्टिले शिवको संहारको रुपमा पचली भैरवको पूजा गर्ने परम्परा छ । यहाँ महादेव मसानमा बास गर्ने पिशाच आदि आसुरी शक्तिसित बास गर्ने देवका रुपमा पनि पूजिन्छन् । अलौकिक शक्ति भएको मानिने पचली भैरवको प्रत्येक १२ वर्षमा खड्गसिद्धि जात्रा हुन्छ । उक्त अवसरमा राजाहरुले तरवार साट्ने गर्थे ।
'कुनै बेला पचली भैरव गुठीका नाममा छाउनीदेखि टेकुसम्म चार सय ७० रोपनी जग्गा थियो, सरकारले गुठीको नाममा ल्याएपछि अहिले एक आना पनि छैन', कूल परम्परा धान्न गुणकामदेवका सन्तानत्रय रामकृष्ण, प्रचण्ड र आफूले गोजीको खर्च गर्दै आएको उल्लेख गर्दै जयरामले भने, 'घ्याम्पो निर्माण लगायत जात्रा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई अवगत गराउँदा कुनै प्रतिक्रियासम्म दिएन । त्यसैले पूर्वराजासम्म पुगेका थियौं ।' एकपटक जात्रा सम्पन्न गर्न करिब साढे तीन लाख रुपैयाँ खर्च लाग्छ भने गुठी संस्थानले ४० हजार रुपैयाँमात्र प्रदान गर्दै आएको छ ।
'भाषण गर्ने बेलामा मन्त्री र नेताहरु सम्पदा नेपालको सम्पत्ति भन्छन् तर स्थानीयको पहलमा समेत कुनै प्रतिक्रियासम्म दिँदैनन्, योभन्दा बिडम्बना के हुन्छ ? ' थकुजुजु मल्लले थपे, 'हामी संस्कृति मास्न चाहँदैनौं, जसले सहयोग गरे पनि संस्कृति जीवित हुनुपर्यो । ज्ञानेन्द्रले संस्कार बचाइदिनु भयो त्यसैले दर्शन र पूजाआजाका लागि उहाँलाई नै निमन्त्रणा गरेका हौं ।'