गाडीले किचेर पैदल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
बैतडी: गाडीले किचेर बैतडीमा एकजनाको ज्यान गएको छ। ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
विष्टलाई शनिबार साँझ साढे ८ बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो। गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ। मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन्।
शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन्। राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले जानकारी दिए। राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ। रासस