भारत–पाकिस्तान तनावपछिको त्रास

भारत–पाकिस्तान तनावपछिको त्रास

इस्लामावाद: भारत र पाकिस्तानबीच तनाव सुरुभएपछिका घटना क्रमले दुई देशलाई युद्धतर्फ धकेलिरहेको प्रष्ट देख्न सकिन्छ । प्रत्यक्ष रुपमा भारत र पाकिस्तानको विवाद भए पनि अप्रत्यक्ष रुपमा त्यहाँ विश्वका शक्तिशाली देशको समेत संलग्नता देखिन थालेको छ ।

भारत पाकिस्तान विवादले सबैभन्दा पहिला असर पाकिस्तान र भारतका कलाकारमा परेको छ । भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाए लगत्तै पाकिस्तानमा समेत हिन्दी चलचित्र र कलाकारलाई प्रतिबन्धित गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले भारत पाकिस्तान तनावप्रति चिन्ता व्यक्त गरेका छन् भने तनावकै समयमा चीनले भने ब्रह्मपुत्रको पानी रोकिदिएको छ । चीनले पानी रोकेपछि त्यसको असर भारत हुँदै बंगलादेशसम्म पर्ने देखिएको छ ।

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध
पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरूको संघले पाकिस्तानभर भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।

केही दिनदेखि काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरूको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिकलाई भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

आइएमपिपिएले गरेको निर्णयको जवाफमा पाकिस्तानी चलचित्र उद्योगका लगानीकर्ताहरूले पनि यस्तो अप्रिय निर्णय लिएको जनाइएको छ । दुई देशबीचको राजनीतिक सम्बन्ध सामान्य अवस्थामा नफर्कुन्जेलसम्म सबैखाले भारतीय चलचित्र प्रदर्शन तथा वितरण कार्य निलम्बनमा परेको हो ।

‘चलचित्र बजारको ख्यातिप्राप्त संगठन आइएमपिपिएले पाकिस्तानी कलाकार तथा चलचित्रकर्मीहरूले भारतमा कामै गर्न नपाउने गरी यस्तो प्रकारको निर्णय लिनु गहिरो चिन्ताको विषय हो’, उसले भनेको हो । पाकिस्तानी चलचित्र वितरक तथा प्रदर्शक समूहले विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।

अधिकांश पाकिस्तानी फिल्महलमा भारतीय चलचित्र धेरैले रुचाएर हेर्ने गर्छन् । दुई देशका जनताबीच आपसी सम्बन्धमा घनिष्ठता ल्याउन भारतीय चलचित्रहरूले ठूलो सहयोग पुर्‍याउँदै आएका थिए । उल्लेख्य संख्याका पाकिस्तानी गायक तथा चलचित्र कलाकारलाई बलिउडले प्रचार, प्रसार र सम्मान गर्दै दुई प्रतिद्वन्द्वी मुलुकका जनतालाई एकताको सूत्रमा आबद्ध गर्ने प्रयास गर्दै आएको थियो ।

सीमाक्षेत्रका बस्ती खाली गरियोभारत प्रशासित कश्मीरमा पाकिस्तानले आक्रमण गरेपछि भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौं जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् । दुई देशबीच तनाव अत्यन्त चुलिएकाले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न उनीहरूलाई सार्नु परेको भारतीय अधिकारीहरूको भनाइ छ । सीमा पारीबाट हुनसक्ने बम, गोला प्रहारबाट जोगिनका लागि कश्मीरका कतिपय ग्रामीण इलाकाका बासिन्दालाई सचेत गराइएको छ । घर छोडी अन्यत्र जानै नसक्ने अवस्था परेमा घरबाहिर ननिस्कनसमेत भारत सरकारले सूचना गरेको छ ।

पाकिस्तानबाट हुनसक्ने सम्भावित खतरा र गडबडीलाई दृष्टिगत गरी उत्तरी पञ्जाब राज्यमा पनि पाकिस्तानी सीमाबाट दश किलोमिटर भित्रसम्मका ग्रामीण बस्तीलाई पनि अन्यत्र सारिएको छ । सारिएकाहरूलाई स्थानीय विद्यालय, गुरुद्वारा वा मन्दिरको हातामा कडा सुरक्षाबीच अस्थायी बसोवास गराइएको छ ।

आफ्नो घरबार, सरसामान बालीनाली, बस्तुभाउ माया मारी बिरानो ठाउँमा आउनुपर्दा दुःखी हुनु परे पनि राष्ट्रका लागि अझै दुःख झेल्न तयार भएको स्थानीय बासिन्दाले बताएका छन् ।बानद्वारा चिन्ता व्यक्तसंयुक्त राष्ट्रसंघ ः भारत र पाकिस्तानबीच बढ्दै गएको तनावको विषयमा संयुक्त राष्ट्रसंघीय महासचिव बान की मुनले गहिरो चिन्ता व्यक्त गरेका छन् । विगतमा भारत र पाकिस्तानले आ–आफ्ना सीमा क्षेत्र निर्धारण गरी सीमा नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) कायम गरेपछि युद्धविराम भइसकेपछि पनि पुनः आक्रमण हुनुलाई दुर्भाग्यपूर्ण भन्ने संज्ञा दिँदै महासचिव मुनले चिन्ता प्रकट गरेका छन् ।

लाइन अफ कन्ट्रोलले कश्मीरलाई दुइ खण्डमा विभाजन गरी भारत र पाकिस्तानको सीमा क्षेत्र निर्धारण गरेको छ । निर्धारित उक्त दुई अलगअलग खण्डलाई भारत प्रशासित र पाकिस्तान अधीनस्थ कश्मीरको नाम दिइएको छ । दुई देशको विभाजन रेखा यही लाइन अफ कन्ट्रोलमै छ ।

गत साता भारतीय भू–भागतर्फको कश्मीरको प्रान्तीय राजधानी श्रीनगरबाट १ सय ९ किलोमिटर उत्तरपश्चिममा पर्ने उरी क्षेत्रस्थित सैनिक शिविरमा भएको आक्रमणमा १९ जना सैनिकले ज्यान गुमाएका थिए भने २० भन्दा बढी घाइते भएका थिए ।
भारत प्रशासित कश्मीरमा दिनहुँ जनप्रदर्शन हुन थालेपछि दुई देशबीच तनाव चुलिएको हो । अहिलेको अवरोध रोक्न महासचिव मुनले दुवै पक्षलाई सक्दो प्रयास जारी राख्न र यस अवस्थालाई तत्काल रोक्न आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनले भारत र पाकिस्तान सरकारलाई कश्मीरसहितका प्रमुख मुद्दालाई कूटनीतिकस्तरबाट शान्तिपूर्ण सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।

चीनले ब्रह्मपुत्रको पानी रोक्यो
भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत् परियोजनाका निम्ति ब्रह्मपुत्रको एक सहायक नदीको पानी रोकेको छ ।

चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिँचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ । चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौं मानिसको पानीको स्रोत बन्द हुने छ ।

चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाचल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत् परियोजना चीनको सबैभन्दा महँगो परियोजना हो । शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महँगो यो परियोजना सन् २०१९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सार्वजनिक गरेको छ । यो परियोजनाको योजनाले भारतमा चिन्ता बढेको छ । चीनले परियोजनाको निर्माणका क्रममा बाँध बनाएर पानी रोक्ने भएपछि भारतमा चिन्ता बढेको हो ।

परियोजनाका प्रशासनिक ब्युरोका प्रमुख झाङ युन्बोले तिब्बतको सिगात्सेमा यारलुङ झाङ्बो (ब्रह्मपुत्र को तिब्बती नाम) को सहायक नदी सियाबुकुमा निर्माण भइरहेको लाल्हो परियोजनामा ४.९५ अर्ब (७४ करोड अमेरिकी डलर) लगानी गरिएको जानकारी दिए । ब्रह्मपुत्र नदी सिगात्से हुँदै अरुणाचल आइपुग्छ । सर्वाधिक महँगो परियोजना भनिएको लाल्होको निर्माण सन् २०१४ को जुनमा भएको थियो । यो परियोजना सन् २०१९ मा पूरा हुने लक्ष्य राखिएको छ । गत वर्ष पनि चीनले १.५ अर्ब डलरको जलविद्युत् आयोजना सञ्चालन गरेको थियो । यसबाट भारतमा जल प्रवाहमा हुने अवरोधप्रति चिन्ता व्यक्त गरिएको थियो । चीनले यस परियोजनामा पानीको प्रवाहको सतहमा बाँध निर्माण गरिएको यसबाट भारत प्रभावित नहुने दाबी गर्दै आएको छ । पानी रोकेर अप्ठेरो पार्ने आफ्नो कुनै उद्देश्य नरहेको उसको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.