महिला हिंसा रोक्न राज्यप्रमुखको प्रतिबद्धता

महिला हिंसा रोक्न राज्यप्रमुखको प्रतिबद्धता

काठमाडौं: राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले एउटै मञ्चबाट महिला हिंसाको अन्त्य र न्यायमा पहुँचका लागि प्रतिबद्धता जनाएका छन् ।

सर्वोच्च अदालतले आइतबार आयोजना गरेको 'महिलाविरुद्धको हिंसा र न्यायमा पहुँच' विषयक कार्यक्रममा राज्यका प्रमुख पदाधिकारीबाट महिला हिंसा र भेदभाव अन्त्यका लागि संविधान र कानुन कार्यान्वयन गरी व्यवहारमा उतार्ने प्रतिबद्धता आएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा मानव सभ्यताकै कलंक रहेको बताइन् । पुरातनवादी सामन्ती संस्कार र पितृसत्तात्मक सोचबाट समाज आक्रान्त भएको भनाइ उनको थियो । 'अझै पनि महिलाहरू पुरुषसरह सम्मानित हुन सकेका छैनन् । महिलाविरुद्धको हिंसा प्रकृतिविरुद्धको अपराध पनि हो', राष्ट्रपति भण्डारीले भनिन्, 'जति चाँडो संविधान कार्यान्वयन भयो, त्यति चाँडो हिंसा र विकृति अन्त्य हुन्छ । हिंसा महिलाको मात्र समस्या नभएर समाजकै समस्या हो ।'

राष्ट्रपति भण्डारीले महिलाको न्यायमा पहुँचका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाकालाई समन्वयात्मक रूपले अघि बढ्न पनि सुझाव दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महिला विभेद अन्त्यका लागि औपचारिक संयन्त्रबाहिरका संस्कार, मनोविज्ञान र सामाजिक चेतनामा युग अनुकूल परिवर्तन जरुरी रहेको बताए ।

'बालबालिकाको शिक्षा दीक्षाबाटै हिंसा सुरु हुन्छ । यो अन्त्यका लागि पहिले नागरिक समाज र महिला समुदाय अघि आउनुपर्छ', दाहालले भने, 'संविधानमा लेखिँदैमा अधिकार स्वतः प्रयोगमा आउँदैनन् । सामाजिक चेतना व्यवहारमा प्रतिबिम्बित हुनुपर्छ ।' राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला हुनु सुखद सन्देश रहेको उल्लेख गर्दै उनले भने, 'तर यतिले मात्र पर्याप्त हुन्न ।'

सभामुख ओनसरी घर्तीमगरले पनि हिंसापीडित महिलाका लागि संवैधानिक व्यवस्थामात्र पर्याप्त नरहेको बताउँदै कानुन निर्माण र कार्यान्वयन पक्ष ठूलो रहेको बताइन् ।

कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालय ठूलाठालु, सम्पन्न बलिया व्यक्ति विशेषका निम्तिमात्र नभई सीमान्तकृत, पिछडिएका आवाजविहीनका लागि पनि रहेको बताइन् । उत्पीडित वर्गको न्यायमा पहुँच न्यून रहेको भनाइ उनको थियो ।

'हाम्रो कमजोरी भनेको फैसला कार्यान्वयन समयमा हुन नसक्नु नै हो', कार्कीको कथन थियो, 'महिला हिंसाको सिकार भएमा त्यस्ता महिलालाई प्रहरी प्रशासन र राज्यले पूर्ण सहयोग नगरेको तथा समयमा न्याय नपाएको गुनासो स्वयं हिंसापीडितले गरेका छन् । उनीहरूलाई गाँस, बास र सुरक्षित भविष्यको व्यवस्था गर्न जरुरी छ ।'

हिंसापीडित महिलाले समयमा क्षतिपूर्ति नपाउनु, राज्यबाट संरक्षण नपाउनु, पुनस्र्थापित हुन नसक्नु, परिवारबाट सहयोग नपाउनु, समाजबाट बहिष्कृत भई अन्याय र असुरक्षित तथा अपहेलित भई बाँच्नुपर्ने विवशता रहेको समेत उनले बताइन् ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानले नेपालमा महिला हिंसाका कारण प्रत्येक दिन पाँचजना महिलाले आत्महत्या गर्ने गरेको दर्दनाक अवस्थाको प्रस्तुति गर्दै अपराधको राजनीतिकरण र सामाजिक असुरक्षाका कारण पीडित महिलाले उजुरी नै नदिने गरेको बताइन् ।

कार्यक्रममा गत वर्ष एसिड आक्रमणबाट घाइते बनेकी संगीता मगर र सीम बस्नेतले केएमसी र वीर अस्पताले निःशुल्क उपचार गरिदिएको तथा सानिमा विकास बैंकले १२ कक्षासम्म पढाए पनि राज्यका तर्फबाट सहयोग नभएका कारण अब कसरी शिक्षा लिने भनेर समस्या रहेको गुनासो गरे ।

'पीडितलाई न्याय कानुनका पानामा मात्र सीमित छ । वीर पुरुषले यो देशमा जन्म लिए तर हामीलाई भने समाजले गर्ने व्यवहारका कारण धिक्कार्न मन लाग्छ', एसिड पीडित मगरले राज्यका प्रमुख सामुन्ने रुँदै भनिन् । पीडित मगर र बस्नेतले अपराधीलाई कडा सजाय तोकेर सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न माग गरे ।

दलालबाट बेचिन बाध्य अर्की पीडित महिला चरीमाया तामाङले अभियुक्तले नै अदालतमा हत्कडीले हानेको घटना स्मरण गराउँदै चेलीबेटी बेचबिखन र अन्य महिला हिंसाविरुद्ध राज्यका सबै निकाय एकसाथ उत्रिनुपर्ने बेला आएको बताइन् ।

कार्यक्रममा सर्वनाम नाट्य समूहद्वारा वैदैशिक रोजगारमा जाने महिलाको कारुणिक कथाव्यथा समेटिएको 'बाँकी प्रश्न' नाटक प्रस्तुत गरेको थियो भने सशस्त्र प्रहरी सांस्कृतिक समूहले भैरवकाली नृत्य प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.