५० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

५० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

मनहरी (मकवानपुर): पश्चिम मकवानपुरको मनहरी गाविसमा स्थानीयले अतिक्रमण गरेको ५० हेक्टर बन क्षेत्रलाई अतिक्रमणमुक्त गरिएको छ ।

मनहरी ४ स्थित सिम्पानी देवकोट सामुदायिक वन, मनहरी ३ स्थित मनकामना सामुदायिक वन, मनहरी गाविस ८ स्थित हरियाली सामुदायिक वन तथा पर्सा वन्यजन्तु आरक्षअन्तर्गतको मध्यवर्ती क्षेत्रका समेत गरी ५० हेक्टर जग्गा अतिक्रमणमुक्त गरी वृक्षरोपण गरिएको इलाका वन कार्यालय मनहरीका सहायक वन अधिकृत सुशील यादवले बताए ।

'स्थानीय सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, मध्यवर्ती क्षेत्र समितिका पदाधिकारीको समन्वयमा अतिक्रमण हटाएर वृक्षरोपण गरेका हौं', उनले भने । वन कार्यालय र स्थानीय उपभोक्ताले अतिक्रमणकारीलाई दबाब दिएपछि कतिपय घर उनीहरू आफैंले भत्काएर वृक्षरोपण गरेको यादवले बताए ।

वन विकास कोषको रकम र जिल्ला वन कार्यालयका कार्यक्रमसमेत गरेर वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको जानकारी उनले दिए । 'जिल्ला वन कार्यालय मकवानपुर र नेपाल विद्युत् प्राधिकरण २२० केभी विद्युत् प्रसारण आयोजनासँग समन्वय गरी यस वर्ष एक सय ५७ हेक्टर क्षेत्रमा वृक्षरोपण गरेका छौं', सहायक वन अधिकृत यादवले भने ।

प्रसारण लाइन विस्तारका लागि लाखौं रूख कटिएकाले यसको क्षतिपूर्तिबापत प्राधिकरणले वृक्षरोपण गरी वन विस्तार गरिदिनुपर्ने सम्झौताबमोजिम मनहरी गाविसको सिम्पानी, मनहरी ३ को रमौली र बेलुवा क्षेत्रमा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपण गरिएका क्षेत्रमा संरक्षण समिति गठन गरी स्थानीयलाई संरक्षणको जिम्मेवारी दिइएको छ । 'हरेक वृक्षरोपण क्षेत्रमा जिल्ला वन कार्यालय मकवानपुरले वन हेरालु नियुक्त गरी संरक्षणको काम गरिरहेको छ', यादवले भने ।

गत वर्ष मनहरी २ को जोगीताल क्षेत्रमा दुई सय १७ हेक्टरमा वृक्षरोपण गरिएको थियो । 'तारबार गरी सुरक्षित गरिएको यो क्षेत्रमा अहिले जंगली जनावरहरू मृग, बँदेल तथा खरायो आउन थालिसकेका छन्', संरक्षण समितिका संयोजक नारायण श्रेष्ठले भने । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मनहरी गाविसको नदीकिनारमा पश्चिमी मकवानपुरका विभिन्न गाविसका एक हजारभन्दा बढी बाढीपीडित परिवार अस्थायी रूपमा बसिरहेका छन् ।

जिल्ला वन कार्यालयले वन क्षेत्रमा भएको अतिक्रमण हटाउन अभियान सञ्चालन गरेको जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले बताए । 'हामीले पहिलो चरणमा अतिक्रमण गरी बसेकालाई सम्झाउने र नमानेमा कानुनी कारबाही अघि बढाउने तयारीका साथ काम गरिरहेका छौं', उनले भने । मकवानपुरका करिब चार हजार तीन सय हेक्टर वन क्षेत्र अतिक्रमण भएको वन कार्यालयको प्रारम्भिक तथ्यांक छ ।

वन मन्त्रालयले २०६८ सालमा वन अतिक्रमणमुक्त गर्न रणनीति बनाएर काम थालेको थियो । मन्त्रालयको तथ्यांकअनुसार देशभर करिब एक लाख हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । यो क्रम बढिरहेको मन्त्रालयले जनाएको छ । वन क्षेत्र अतिक्रमण गरी बस्नेलाई वन ऐन २०४९ अनुसार एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवबाना वा दुवै हुनसक्छ ।

घरघरमा बिरुवा

जिल्ला वन कार्यालय मकवानपुरले रूखको संख्या वृद्धि गर्न घरघरमा बिरुवा वितरण गरेको छ । गत साउन र भदौ महिनामा वृक्षरोपाणसमेत गरी तीन लाख ५० हजार बिरुवा बाँडिएको सहायक जिल्ला वन अधिकृत विशाल भट्टराईले बताए । मकवानपुरगढी, पदमपोखरी, हटिया, हर्नामाडीलगायत क्षेत्रमा पुगेर बकाइनो, तेजपातलगायत बहुउपयोगी बिरुवा बाँडिएको जानकारी उनले दिए । 'अहिले पनि वन कार्यालयले आउने सर्वसाधारणलाई बिरुवा दिएर पठाइरहेको छ', उनले भने ।

कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा वृक्षरोपण गर्न पाँच लाख बिरुवा उत्पादन गरेको उनले बताए । एक घर एक रूख अभियानअन्तर्गत कार्यालयले गत वर्ष घरघरमा पुगेर बिरुवा बाँड्ने कार्यक्रम थालनी गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.