हिमालय एअरलाइन्सको कोलम्बो उडान सुरु
काठमाडौं: नेपाल र चीनका व्यवसायीको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले शनिबारदेखि श्रीलंकाको कोलम्बोमा सीधा हवाई सेवा सुरु गरेको छ । यस सेवाले नेपाल र श्रीलंकाबीच पर्यटन प्रवद्र्धन गर्न, व्यापार विस्तार गर्न र दुई देशबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
समय तालिकाअनुसार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार ११:३० बजे उडेर १५:०३ बजे कोलम्बोस्थित बन्दरा नायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । हप्ताको दुई दिन उडानसँगै हिमालय एअरलाइन्सले २८ वर्षपछि नेपाल र श्रीलंकाबीच पुनः हवाई सेवा सुरु गरेको छ । यात्रुसँगै विमानमा नेपालका लागि श्रीलंकाका राजदूत डब्लूएस पेरेरा र श्रीलंका उद्योग वाणिज्य महासंघका महासचिव अजित डी पेरेरा पनि सवार थिए ।
एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले कोलम्बोमा सञ्चालन गर्न लागेको उडानलाई अर्को कोसे ढुंगाका रूपमा लिएको बताए । उनका अनुसार हिमालयन एआलाइन्स मात्र एउटा यस्तो एअरलाइन्स हो जसले काठमाडौं– श्रीलंका रुटमा सेवा सञ्चालन गरेको छ । दुई देशका व्यापारी र पर्यटकले यो सेवालाई बढी प्रयोग गर्ने कम्पनीले विश्वास लिएको छ ।