सेल्टा भिगोले ११ मिनेटमा तीन गोल गरेपछि बार्सिलोना हार्यो
काठमाडौंः सेल्टा भिगोले पहिलो हाफमा ११ मिनेटमा तीन गोल गरेपछि बार्सिलोना पराजित भएको छ। लियोनल मेसीबिना मैदान उत्रिएको बार्सिलोना गएराति ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोसँग ४–३ गोल अन्तरले पराजित भएको हो। सेल्टा भिगोसँग पराजित भएपछि बार्सिलोनाले ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
पहिलो हाफको २२ औं मिनेटमा सिस्टोले गोल गर्दै सेल्टा भिगोलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै सेल्टा भिगोका लागि अस्पासले ३१ औं मिनेटमा गोल गर्दै सेल्टा भिगोको अग्रता दोब्बर पारे। ३३ औं मिनेटमा बार्सिलोनाका म्याथ्युले आत्मघाती गोल गरेपछि पहिलो हाफमै सेल्टा भिगोले ३–० को अग्रता लिन सफल भएको थियो। म्याथ्युले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेका थिए।
पहिलो हाफमा तीन गोल खाएको बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि हार भने टार्न सकेन। बार्सिलोनाका लागि खेलको ५८ औं मिनेटमा पिकेले गोल गर्दै खेल ३–१ मा झारे। यस्तै ६४ औं मिनेटमा नेमारले गोल गरेपछि बार्सिलोना सेल्टा भिगोको अग्रता ३–२ मा झारेका थिए। तर खेलको ७७ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै पुन सेल्टा भिगोको अग्रता ४–२ मा पुर्याए।
खेल सकिन तीन मिनेट बाँकी छँदा ८७ औं मिनेटमा पिकेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि बार्सिलोनाको हार टार्न भने सकेनन्। हारपछि बार्सिलोना ७ खेलबाट १३ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा झरेको छ। शीर्ष सथानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट १५ अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान १५ अंक नै छ।