‘दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प छैन’
![‘दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प छैन’](https://annapurnapost.prixacdn.net/media/albums/upendra-yadav-in-belgium-57f2275718a691.16248569_LVbNpEOPcX.jpg)
ब्रसेल्सः संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन्।
फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेल्जियमले ब्रसेल्समा गरेको अन्तरक्रिया कार्यक्रममा यादवले संविधान संशोधनमार्फत मधेसवादी दल र जनताका माग पूरा हुने बताएका हुन्।
उनले भने,‘ संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, खस, मुश्लिम, थारू, दलित, महिला, लगायत राज्यद्वारा बहिष्करणमा पारिएका सम्पूर्ण समुदायहरूको मुद्दालाई सम्बोधन गरिनु पर्दछ। यो हाम्रो माग हो।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गरिरहेको प्रति आक्रोश पोखे। उनले प्रचण्डले दशैं अघि नै संशोधन प्रस्ताव दर्ता हुने सार्वजनिक प्रतिबद्धता जनाएपनि अझै दर्ता नगरेको आरोप लगाए।
यादवले प्रवासमा रहेका नेपालीहरुको आधुनिक ज्ञान, सीप र क्षमतालाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिए।
उनले भने,‘नेपालमा लगानीको उचित वातावरण बन्ने हो भने प्रवासी नेपाली समाजबाट स्वदेशलाई धेरै लाभ हुन सक्छ। भ्रष्टाचार, कमिशनयन्त्र, लूटतन्त्रलाई नियन्त्रण गरी जलस्रोत, पर्यटन, कृषि र मानवीय साधन र शक्तिको विकास गरी प्रवासी नेपालीहरूको सीप र क्षमतालाई मुलुकमा लगानी गरी विकास गन सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)