दक्षिण कोरियामा एक नेपालीद्वारा आत्महत्या
सोलः दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन्। ठूलो लुम्पेक–९ गुल्मीका ३० वर्षीय नारायण पाण्डेले सोमबार गोदाममा रहेको तराजुमा बिजुलीको तारको पासो लगाएर आत्महत्या गरेका हुन्।
पाण्डे पाँच महिनाअघि मात्रै कृषि कामका लागि कोरिया आएका थिए। आइतबार काम सकेर सुतेका पाण्डे सोमबार बिहान ४ बजे गोदाममा झुण्डिएको अवस्थामा भेटिएका थिए।
सोलनजिक छुन्ग्जांगस्थित एक टनेल कृषि फर्ममा कार्यरत पाण्डेसंगै अरु दुई नेपाली पनि फर्ममा कार्यरत छन्। सोमबार कोरियामा सार्वजनिक बिदा परेकोले पूर्ण जानकारी प्राप्त हुन नसकेको सोलस्थित नेपाली दूतावासका श्रम सहचारी देवराज ढकालले जानकारी दिए।
मृतक पाण्डेको बुबा आमा, श्रीमती र एक छोरी छन्। यसअघि मात्रै कोरियामा दुई साताअघि रेस्टुरेन्ट व्यवसायी मनोज डाँगीले आत्महत्या गरेका थिए।