भात बेच्ने यी आमा

भात बेच्ने यी आमा

मुग्लिनबजारः होटलै होटलले भरिएको ब्यस्त मुग्लिनबजार । बजारको बीच भागमा एउटा सफा सुग्घर थकाली होटल । होटलमा छोरा, बुहारी साथमा लिएर होटल चलाइरहेकी ७२ बर्षीया एक सक्रिय महिला पदमकुमारी थकाली । २०२६ साल, जतिबेला मुग्लिनमा एक, दुई होटल मात्र थिए, त्यही बेलादेखि भात बेच्दै आएकी उनीसंग मुग्लिन बजारको इतिहास छ । दुख गरेर कमाएको सुखमा अहिले रमाइरहेकी छन् ।

'बिहानदेखिको भात पकाउनेले पका'को पकाकै, दिनेले दिएको दिएकै, भाँडा माझ्नेले माझेको माझेकै । चुल्है खालि हुन्नथ्यो, हातै खालि हुन्नथ्यो । बेलुका पाँच छ बजेतिर मात्र बल्ल हाम्रो भात खाने पालो आउथ्यो ।' होटल बजार भनेर चिनिने मुग्लिन बजार भर्खर स्थापना भएदेखि भात बेच्दै आएकी ७२ बर्षीया पदमकुमारी थकालीको सम्झना हो यो । उनी जब ती दिन सम्झन्छिन् अनि बुढ्यौली मुहारमा फेरि जवानी फर्किन्छ । तेजिली देखिन्छिन् ।

उत्साहित बन्छिन् र भन्छिन् 'त्यो बेलाको जस्तो ब्यापार र अहिलेको जस्तो पैसा भइदिएको भए !' अरुलाई खुवाएरै अघाउने उनको अनुभव सुनाउँदै भन्छिन् 'बिहानको चियामा मात्रै तीन पाथी चिनी सकिन्थ्यो तर आफूलाई एक कप चिया खाने फुर्सद हुन्थेन । तर के गर्ने सादा भातको दुई रुप्पेँ, मासु भातको तीन रुप्पेँ । एक कप चियाको पाँचपैसा पनि थिएन ।'

त्यतिबेला प्यासेन्जरसंग दुई रुपियाँ लिए ड्राइभरसंग तीन मोहर लिन्थे । तर अहिले ड्राइभरसंग पैसा लिनु त परको कुरा उल्टै एक पटकको हजार रुपियाँ टिप्स दिनु पर्ने ब्यबस्था छ । 'त्यो एक हजार कसरी आउँछ ? खानाको क्वालिटी घटाउने त हो नि, कि पैसा बढि लिनु पर्‌यो । मर्का प्यासेन्जरलाई त हो नि' उनी भन्छिन् 'तिनीहरु (बस लाग्ने होटलहरु) धोती न टोपी हुन्छन्' आफूले कहिल्यै ड्राइभरलाई टिप्स नदिएको भन्दै उनले अहिले आफ्नो होटलमा बस लाग्न छाडेको सुनाउँछिन् 'अहिले हाम्रो होटलमा बस लाग्दैन । आए नि आओस्, नआए नि नआओस् हामी त प्यासेन्जरलाई ठगेर ड्राइभरलाई पैसा दिन्नौं । पुराना ग्राहकहरु चाहिँ खोज्दै खोज्दै आउँछन् । खुशी लाग्छ ।'

मुग्लिनबाट नारायणगढ बाटो खुलेको थिएन । पोखरा जाने सडकमा त्रिशुलीमाथि मोटरेबल पुल थिएन । काठमाडौंबाट आएको बस मुग्लिनमा रोकिन्थ्यो । पोखराबाट आएको बस पारि नै रोकिन्थ्यो । मान्छेहरु डुङ्गा तरेर वारिपारि गर्थे अनि बस चढ्थे ।

२०२६ सालतिर हो उनी मुस्ताङबाट मुग्लिनमा आएको । घर सल्लाह गरेर उनको पति पत्नी चितवन आएका थिए । त्यतिबेला उनी २२ बर्षकी थिइन् । जेठो छोरो जन्मिसकेको थियो । चितवनका आफन्तले मुग्लिनमा नयाँ बाटो खुल्दैछ । त्यहाँ भात बेच्न पाइन्छ जाओ भनेर सुझाएपछि उनीहरु मुग्लिन आएका हुन् । 'मुस्ताङको घाँसोबाट पोखरा झरियो ।

पोखराबाट जहाज चढेर भरतपुरमा झरियो । अनि हिड्दैहिड्दै भैंसे हुदै फिस्लिङमा आइयो' त्यतिबेलाको याद उनको मनमा ताजै छ 'फिस्लिङबाट डम्फर चढेर मुग्लिन आएर बसेको । कहिल्यै गाडी नचढेको मान्छे पहिलोपल्ट डम्फर चढ्दा त बान्ता गर्‌या गर्‌यै ।'

उनको परिवार त्यहाँ आइपुग्दा त्यहाँ पातीले बारेको पाँच छ वटा पसल त बनिसकेको थियो । मुग्लिन बजारको सबै जग्गा ऐलानी थियो । तर मुखियाले भाडा उठाउँथे । पछि मुखियाले जो जो जहाँ जहाँ बसेका छन्, उनीहरुकै नाममा पास गर्दिए ।

मुस्ताङबाट झर्दा साथमा पाँच हजार रुपियाँ थियो । पन्द्र हातको मासिक ३० रुपियाँ मुखियालाई तिर्ने गरी जग्गा भाडामा लिए । पातीले बारेको, ढोका पनि पातीकै, खरले छाएको लामो टहरा बनाए । भित्र चुल्हो, बनाए । खाना खान मिल्ने गरी होचो र अग्लो दुईथरी लामो टाँड बनाए । भुइँमा काठ ओछ्याएर सुत्ने पर्ने, सिरानी परालको । सबै होटल यस्तै थिए ।
नजिक बजार थिएन भाँडाकुँडा किन्न । अरु सामान चाहिँ मुग्लिनमै पनि पाइन्थ्यो । खैरेनी पुगेर भाँडाकुँडा ल्याए । अनि सुरु भयो भात बेच्ने काम ।

सुरुको तीन महिना उनको होटल घाटामा गयो । 'सुरु सुरुको तीन महिना कोही पनि चिनिएन, ब्यापारै भएन । पछि चिन्न त थालियो । चिनेपछि उदारो खान थाल्यो । घाटैघाटा' उनी भन्छिन् 'पानीको उस्तै दुख थियो । तल त्रिशुलीबाट ल्याउनुपर्ने । भाँडा थिएन । तेलको टिनमा पानी बोक्नुपथ्र्यो ।' मुग्लिन नारायणगढ बाटो खुलेको थिएन । त्यसैले यहाँको पहिलो व्यापार काठमाडौं पोखरा सडक बनाउन काम गर्ने ठेकेदार र कुल्लीमा निर्भर थियो ।

ठेकेदार, कुल्लीले खाइदिए मात्रै ब्यापार हुने । 'भुइँमा काठ ओछ्याएर सुत्ने ठाउँ बनाएका थियौं । त्यही पनि नाइके(ठेकेदार)लाई सुत्न दिनुपर्ने । ठेकेदारलाई सुत्न दियो, आफ्नो लागि नहुने । आफू सुत्यो, ठेकेदारलाई हुन्थेन । ठेकेदारलाई सुत्ने ठाउँ नदिए ब्यापार नहुने' उनले भनिन् 'पछि यहाँसम्म बस चल्न थाल्यो अनि प्यासेन्जरलाई पनि सुत्ने ठाउँ बनाउन थाल्यौं । पहिले त डुङ्गाले बस वारिपारि तार्न थाल्यो । प्यासेन्जर पनि बढ्न थाल्यो ।

अनि भातको दुई रुपियाँबाट तीन रुपियाँ भयो । तीन रुपियाँबाट चार रुपियाँ, चार रुपियाँबाट पाँच रुपियाँ, पाँच रुपियाँबाट छ रुपियाँ हुदै गयो ।' मान्छे पनि बढ्दै, पैसा पनि बढ्दै गएपछि मुग्लिनको ब्यापार दिन दुगुना, रात चौगुना हुदै गएको हो ।

त्यतिबेला आठ रुपियाँ धार्नी मासु, सात रुपियाँ पाथी चामल पाइन्थ्यो ।उनको पालामा कुल्लीलाई चामलको भात खुवाउनु पर्थेन । हाँस्दै भनिन् 'भात पनि कहाँ चामलको हो र ? मकैको, कोदाको, फापरको हुन्थ्यो । हुन त अहिले पनि ग्राहकले मुस्ताङी फापरको ढिँडो पाएसम्म अरु खोज्दैनन् ।' पछि होटल टनाटन खुल्दै गएको उनी सुनाउँछिन् ।

उनका अनुसार मुग्लिन बजार पहिले बजार भएको ठाउँबाट दुई, तीन ठाउँ सर्दै अहिले बजार भएको ठाउँमा सरेको हो । पहिले यहाँ पनि ढुङ्गाको छाना, काठको घर बनेको थियो । 'नारानघाट अस्थायी बाटो खुल्यो अनि त्यहाँबाट सामान ल्याएर पक्की घर बनाउन थालेका हुन्' उनी भन्छिन् 'पूर्व पश्चिम गाडी चल्न थालेपछि पानी बोक्ने आफै, पकाउने आफै, दिने आफै, भाँडा माझ्ने आफै गर्दा भ्याउनै सकिएन । अनि मान्छे राख्नु पर्‌यो ।

बुढा पनि समाज सेवा गर्ने भनेर लागे । प्रधानपञ्च भए । छोराहरु पढ्न थालेका थिए ।' पूर्व पश्चिमको माझमा रहेको मुग्लिनको उनको ब्यस्त होटल दिनरात बन्द भएन । आलोपालो गरेर काम गर्न थाले । '४६ सालमा बुढा बित्नु भयो । काम नभ्याएर दुई बर्ष त होटल छोडें । तर के गर्ने, बुढाको पेन्सन छैन । छोराछोरीको जागि थिएन । पाल्नै पर्‌यो, बढाउनै पर्‌यो । होटल नगरे के गर्ने ? '

जति काम गर्‌यो, त्यति कमाइ हुने भएकाले फेरि काममा लागेको उनले बताइन् । 'एक जना आएर खाना बनाइदिनू भन्यो भने पनि बनाउँदिन भन्न भएन, बनाउनै पर्‌यो, खुवाउनै पर्‌यो । रात दिन कहिल्यै बन्द भएन होटल' उनी भन्छिन् 'पूर्व पश्चिमबाट होटल चलाउन मान्छेहरु आउन थाले । टनक्कै धान झुल्ने यो ठाउँमा ढपक्कै होटलले ढाक्यो ।'

अहिले मुग्लिनमा तीनसय बढि होटल छन् । राजमार्गका जहाँतहीं होटल खुल्न सुरु भयो । खानाको गुणस्तर भन्दा पनि पैसाको खेल हुन थाल्यो । कमिशन दिएर बस तान्ने खेल सुरु भयो । उमेर पनि गुज्रिदै गयो, छोराछोरी पनि देशविदेश लागे, जागिरतिर लागे । सस्तो प्रतिष्पद्र्धामा उत्रिएर ब्यबसाय गर्न नचाहेकाले अहिले अरु पुराना होटलवालाहरुले पनि मुग्लिन छाडिरहेको र आफू पनि पहिले जत्तिको सक्रिय नरहेको उनको भनाइ छ ।

'काठमाडौं छोडेपछि नौबिसे मात्रै हो, नत्र बीचमा खाउँला भन्ने थिएन । पोखराबाट, हेटौंडा, नारानघाटबाट, निस्केपछि होटल कहाँ थियो र पहिले ? अहिले त हाइवेमा पाँच पाँच मिनेटमा होटल छन् । डाइभरलाई कमिशन, प्यासेन्जरलाई टेस्टिङ पाउडर हालेको खाना दिन्छन् । जमाना अनुसार त्यस्तै होटल चल्छन् । घ्यूको किल्टी नै टेबलमा राखिदिन्थ्यौं हामी ।

कहाँको त्यो बेलाको घ्यू हालेको भात, कहाँको अहिलेको यस्तो केकेके हालेर बनाएको खाना ।' बन साङ्लाले ढाकेपछि घर साङ्लाहरु लाखापाखा लागेको उनको भनाइ छ । 'अहिले पुराना होटलवालाहरु त थोरै छन् । नयाँ धेरै आए । हामी त दिन काट्ने, काल पर्खिने मात्रै हो' उनी भन्छिन् '२६, २७ सालमा हाम्रो होटलमा खाने मान्छेका छोरा नातिहरु अहिले खोज्दै आउँछन् । पैसा त धेरै कमाइयो, खर्च भयो । तर मान्छेको विश्वास कमाइएछ । त्यही भएर खोज्दै आउँछन् ।

यसमै खुशी लाग्छ ।' मिठो बोल्ने, सफा र मिठो बनाएर खुवाउने, सन्तुष्ट बनाउने गर्‌यो भने मान्छेहरु फर्की फर्की आउँछन् । नत्र एकफेर हात धुन्छन् जान्छन् । खानासंग जातीय स्वाद पनि मिसिने उनको भनाइ छ । उनी भन्छिन् 'हामी थकाली खाना बनाउँछौं । खानासंग हाम्रो जातको स्वाद पनि जोडिएको हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.