नेपाल-भारत प्रबुद्ध समूहको दोस्रो बैठक आज
काठमाडौं: नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को दोस्रो बैठक मंगलबार नयाँदिल्लीमा सुरु हुने भएको छ । बैठकमा भाग लिन प्रबुद्ध समूहका नेपाल तर्फका सदस्यहरू सोमबार नयाँदिल्ली पुगेका छन । दुईदिने बैठकमा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायत अन्य सबै सन्धिसम्झौताको संशोधन, अद्यावधिक र आवश्यक परे खारेजीलगायतका एजेन्डामा सरकारलाई सुझाव दिने विषयमा छलफल हुनेछ ।
'हामी सन १९५० को शन्ति तथा मैत्री सन्धिका धारा तथा त्यसभन्दा विवादित बनेको सन्धिपछि हस्ताक्षरित लेटर अफ एक्सचेन्जका बुँदाबारे गहिरिएर हामी छलफल गर्नेछौं', नेपाल तर्फका एक सदस्यले अन्नपूर्णसँग भने । सन्धिको नामचाहिँ अहिलेकै रहने बताइएको छ । बैठकमा भारतीय पक्षले पारवहन सन्धिको पुनरावलोकनको विषय राख्ने तयारी गरेको भारतीय पक्षका समूहका एक सदस्यले बताए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुनमा सम्पन्न भारत भ्रमणका क्रममा गठित प्रबुद्ध समूहको पहिलो बैठक गत जुलाईमा काठमाडौंमा सम्पन्न भएको थियो । समूहमा कूटनीतिज्ञ डा. भेषबहादुर थापा, एमाले सांसद राजन भट्टराई, कानुनविद सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री नीलाम्बर आचार्य सदस्य छन । त्यसैगरी भारतका तर्फबाट पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पि. लामा र भुवन चन्द्र उप्रेती तथा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सदस्य छन ।
नेपाल-भारत शान्ति तथा मैत्री सन्धि (सन १९५०) लगायतका अन्य द्विपक्षीय सहमति र सन्धिबारे समूहले दुवै सरकारलाई दुई वर्षभित्र प्रतिवेदन दिनेछ । सन २०१४ जुलाईमा काठमाडौंमा सम्पन्न विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले नेपाल–भारत प्रबुद्ध समूह गठन गर्ने निर्णय लिएको थियो ।