सडक सम्झेर दसैंमा घर फर्कन दोधार

सडक सम्झेर दसैंमा घर फर्कन दोधार

चितवन: नवलपरासीको गैंडाकोटमा बस्दै आएका दोलखाका रोशन दाहाल यसपालि दसैंमा घर जाने कि नजाने दोधारमा छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डको लथालिंग अवस्था र बढ्दो सवारी दुर्घटनाका कारण दसैंजस्तो प्रमुख चाडमा पनि घर जाने वा नजाने भन्ने निश्चित गर्न सकेका छैनन् उनले । 'मुग्लिनको बाटो सम्झँदा दिक्क लागेर आउँछ', सोमबार नारायणगढको पुलचोकमा भेटिएका उनले भने, 'घर दोलखा, ससुराली काठमाडौं । दसैंमा मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहण गर्नुपर्ने हो । बिग्रेको बाटो र असुरक्षित यात्रा सम्झेर घर जाउँ कि नजाउँ दोमन भइरहेको छ ।' मुग्लिनको बाटोको अवस्थामा सुधार आए फूलपातीको अघिल्लो दिन (शुक्रबार) घरतर्फ प्रस्थान गर्नसक्ने उनी बताउँछन् ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको एलाइड वायर इन्डस्ट्रिज प्रालिका सञ्चालक सरोज ढकाल परिवारसहित ललितपुरकै सातदोबाटोमा बस्छन् । आमा, बुबा र आफन्त चितवनको चित्रवन नगरपालिकामा छन् । यसवर्ष दसैंमा घर आउने कुरामा उनी पनि दोधारमा छन् ।

'पोहोर साल दसैंको सप्तमीमा चितवन (घर) गएको थिएँ' सोमबार टेलिफोन कुराकानीका क्रममा उनले भने, 'यसपालि दसैंमा घर जाने कि नजाने अलमलमा छु । बाटो सम्झँदा नजाउँजस्तो लाग्छ । चाड सम्झँदा जानैपर्ने बाध्यता छ ।' उनी फूलपाती सम्मको अवस्था हेरेर दसैंमा घर जाने वा नजाने निर्णय लिने मनस्थितिमा छन् ।

दस दिनअघि चितवनको दारेचोक गाविस ३ खोप्टेभीरमा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर हराएपछि यात्रुले काठमाडौंदेखि चितवनसम्मको यात्रा असुरक्षित महशुस गर्न थालेका छन् । त्यसमाथि नारायणगढ-मुग्लिन सडकखण्डमा हुने जाम र बाटोको दुरावस्थाले पनि यात्रुलाई तर्साएको छ ।

विश्व बैंकको सहयोगमा नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत सञ्चालित नारायणगढ-मुग्लिन सडक आयोजनाले गत वर्ष वैशाखदेखि सडक बिस्तार तथा स्तरोन्नतिको काम सुरु गरेपछि मुग्लिनको बाटोमा आवागमन असहज बनेको हो ।

सवारी साधन चलेकै अवस्थामा सडक बिस्तारका लागि पहाड काट्ने र ढुंगा पन्छाउने काम सहज नहुने भन्दै आयोजनाले गत वर्ष माघ २२ गतेदेखि हरेक दिन बिहान ११ बजेदखि दिउँसो तीन बजेसम्म सवारी आवागमन बन्द गराउँदै आएकोमा यो प्रतिबन्ध असार एक गतेबाट हटाइएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने भनिएको सडक बिस्तार एवं मर्मत कार्य १८ महिनामा २८ प्रतिशत मात्र सम्पन्न भएको छ ।

सवारी साधनको आवागमन केही समयका लागि बन्द गरेर काम गर्दासमेत सोचेजस्तो काम हुन सकेन । दैनिक आठ हजार सवारी साधन गुड्ने सडकमा वर्षाले खाल्डाखुल्डी बनाएपछि सडक आवागमन असहज बनेको छ । दसैंलाई मध्यनजर गरेर सडकका खाल्डाखुल्डी पुर्ने काम सकिएको र ती ठाउँमा पिच गर्ने काम भइरहेको नारायणगढ-मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादव बताउँछन् ।

'सडकको खाल्डाखुल्डी पुरेपछि अहिले ती ठाउँमा पिच गर्ने काम भइरहेको छ', आयोजना प्रमुख यादव भन्छन्, 'सडकको अवस्था राम्रो छ । सडककै कारण यात्रुले धेरै दुःख पाउने छैनन् ।' सवारी आवागमन चौबीसै घन्टा खुला गरिएको उनले बताए । पहाड फुटाएर काम गर्न कठिन हुने गरेको र सवारी साधन व्यवस्थापन गर्न पनि चुनौती थपिएको उनले बताए । नारायणगढतर्फको बाटोमा खासै समस्या नभए पनि सिमलतालदेखि मुग्लिनतर्फ ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको उनी बताउँछन् ।

प्रहरीबाट सडक सुरक्षा

दसैंको बेला नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुले सास्ती खेप्न नपरोस् भनी चितवन प्रहरीले सोमबारदेखि जिल्लामा चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको छ । सुरक्षा योजनाअन्तर्गत नारायणगढ-मुग्लिन सडक प्राथमिकतामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर बताउँछन् ।

'मुग्लिनदेखि नारायणगढसम्मको बाटो डेढदेखि दुई घन्टासम्ममा सहजै पार गर्न सकिने गरी काम अघि बढाएका छौं', उनी भन्छन्, 'सडक आवागमन बाधारहित बनाउन पर्याप्त मात्रामा प्रहरी परिचालन गरेका छौं । बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु ओसार्नेलाई कारबाही गर्नेछौं । यात्रु लुटपाटमा नपरुन् भनेर दिवा तथा रात्रिकालीन सवारीलाई स्कर्टिङ गर्ने व्यवस्था मिलाएका छौं ।'

चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत ४० जना ट्राफिकसहित चार सय १६ जना प्रहरी परिचालित गरिएको प्रहरी उपरीक्षक कुँवर बताउँछन् । मुग्लिनको बाटोमा खाल्डाखुल्डी पुरेर सडक सहज बनाइएको, तत्काल पहिरो आएमा पन्छाउन एस्काभेटर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

अकस्मात खस्ने पहिरो पन्छाउन आयोजनाको काम गरिरहेका तीनवटै ठेकेदारका एस्काभेटर सञ्चालनमा ल्याइएको, आवागमन सहज बनाउन प्रहरीलाई सञ्चार सेटसहित ठाउँठाउँमा खटाइएको र जामको अवस्थामा ओभरटेक गर्नेलाई कारबाही गर्ने गरिएको प्रहरी उपरीक्षक कुँवरले जानकारी गराए ।

'प्रहरी टोलीलाई सञ्चार सेट र आवश्यक सामग्रीसहित तयारी अवस्थामा खटाइएको छ', उनी भन्छन्, 'पहिरो पन्छाउन रामनगर, जुगेडी, सिमलताल र मुग्लिनमा डोजर र एस्काभेटर तयारी अवस्थामा राखिएका छन् ।'

काम जारी रहने

जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरीलगायतसँग छलफल गरी यातायात सहज भएको अवस्थामा पहाड काट्ने, ढुंगा काट्ने, ढुंगा ओसार्ने र सडक बिस्तार गर्ने काम गरिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव बताउँछन् ।

सडक छेउको पहाड फुटाएर सडक फराकिलो बनाइएकाले ती ठाउँमा जुनसुकै समयमा पहिरो आउने आयोजना प्रमुख यादव बताउँछन् । फुटाइएको पहाडी भाग पूर्ववत अवस्थामा आउन समय लाग्ने उनको भनाइ छ । सडक पूर्ण रूपमा तयार भएको तीन वर्षसम्म पनि पहिरो जानसक्ने जोखिम रहने उनी बताउँछन् ।

'दसैंको बेला पनि सडकको काम जारी रहन्छ', आयोजना प्रमुख यादव भन्छन्, 'दुईतर्फी यातायातलाई असर नपुग्ने गरी काम गर्छौं ।' फूलपातीपछि काठमाडौं र पोखराबाट नारायणगढ हुँदै घर फर्कनेहरू धेरै हुने भएकाले नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधनको चाप बढ्ने गर्छ ।

दसैं मनाएर राजधानी फर्कनेको भीड पूर्णिमासम्म चल्छ । यो अवस्थालाई ध्यानमा राखेर प्रहरीसँगको समन्वयमा अवरुद्ध यातायात तत्काल खुलाउने तयारीमा आफूहरू जुटेको आयोजना प्रमुख यादवले जानकारी दिए । 'पाँचवटा लोडर र तीनवटा टिपर तयारी अवस्थामा राखेका छौं', उनी भन्छन्, 'अहिले यो बाटोमा धुलो धेरै भएकोले सडकमा पानी छ्याप्न तीनवटा ट्यांकर परिचालन गरेका छौं ।'

नारायणगढ मुग्लिन सडक आयोजनाले आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई तीन खण्डमा छुट्याएर मर्मत र चौडा पार्ने काम गरिरहेको छ । आँपटारीदेखि दासढुंगासम्मको १० दशमलब ४५ किलोमिटर लामो एक नम्बर खण्डमा श्रेष्ठ कन्स्ट्रक्सन्स, दासढुंगादेखि सिमलतालसम्मको १० दशमलब ६९ किलोमिटर लामो दुई नम्बर खण्डमा लामा कन्स्ट्रक्सन्स र सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलब ८८ किलोमिटर लामो तीन नम्बर खण्डमा रौता-लामा- श्रेष्ठ ज्वाइन्ट भेञ्चरले काम गरिरहेका छन् । तीन नम्बर खण्डमा यातायात आवागमनमा बढी समस्या पाइएको छ ।

मुग्लिन सडक मर्मतको काम गत वर्ष वैशाखदेखि सुरु भए पनि भूकम्पले तीन महिना रोकिएर भदौमा केही मात्रामा सुरु भएको थियो । त्यसपछि मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीले सडक बिस्तारको कामै बन्द भयो । गत वर्ष मंसिर महिनाबाट सडक बिस्तारको काम पुनः सुरु भयो । भूकम्प, नाकाबन्दी, इन्धन अभावलगायतका कारणले काममा अवरोध आएपछि आयोजनाको म्याद एक सय ३५ दिन (साढे चार महिना) थप भएको छ ।

यसवर्ष चैत मसान्तसम्म सडक बिस्तारको काम सकिनुपर्नेमा म्याद थपपछि आयोजनाको काम २०७४ साल भदौसम्म लम्बिएको छ । आयोजना सम्पन्न भएपछि अहिले कायम रहेको पाँच मिटर चौडा कालोपत्रे सडक सात मिटरको हुनेछ । सडकको दायाँबायाँ दुई दुई मिटर सोल्डर बनाएर सडकको चौडाइ ११ मिटर बनाइने आयोजनाका प्रमुख यादवले जानकारी दिए । आँपटारीदेखि मुग्लिनतर्फको १६ किलोमिटरसम्म सडकको चौडाइ ११ मिटर हुनेछ । त्यसपछि मुग्लिनसम्मको भागमा कालोपत्रे ७ मिटर र दायाँबायाँ एक एक मिटर सोल्डर बनाएरपछि कालोपत्रे गरिने आयोजना प्रमुख यादव बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.