बुवाको आत्माको आवाज बोल्ने दाजुभाइ...

बुवाको आत्माको आवाज बोल्ने दाजुभाइ...

'हजार सपनाहरुको माया लागेर आउँछ
बाँच्ने रहरजस्तो केही भएर आउँछ'
सत्यराज आचार्यले आफ्ना बुवा भक्तराज आचार्यको गीत गाईरहँदा लाग्थ्यो उनी बुवाकै आत्माको आवाज सुनाइरहेछन् । आइतबार साँझ भक्तराजका पुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यले फरक तरिकाले आफ्ना बुवाको ७५ औं जन्मदिन मनाए ।

सधैं भजन संगीत गुञ्जिरहने भजन शिरोमणी झक्तराज आचार्यको ७५ औँ जन्मदिनमा आइतबार पाटन संग्रहालयको आँगन संगीतमय बन्यो । यसै पनि धार्मिक संगीत गुञ्जायमान भइरहने यो क्षेत्रमा आइतबारको साँझ केहि विशेष देखियो ।
भक्तराजका स्वर्णीम गीतहरु उनका दुइ छोराहरु सत्यराज र स्वरुपराजले गाइरहँदा त्यो ठाउँ स्वर्ग भन्दा कम देखिएन ।

ठूलो भिडमा गीत गाउने बानी भएका सत्य स्वरुप थोरै श्रोतामाझ अर्केस्ट्रा सहितको सांगितिक प्रस्तुतीमा देखिए । बाबुको पदचाप पछ्याउँदै हिँडेका यी दाजुभाइ अहिले नेपाली संगीत क्षेत्रका धरोहर बनेका छन् । सानैदेखि संगीतसँग अभ्यस्त हुने मौका पाए । भक्तराजले पुरा गर्न नपाएका सपनाहरु पुरा गर्दैछन् । उनीहरुले बुवाबाट गीत गाउन मात्र सिकेनन्, सिंगै जीवन जीउने कला पनि सिके ।

२४ वर्षदेखि झोल खाने कुराको साहारामा मात्र बाँचेका भक्तराजले जीवनमा हरेस खाएनन् । यहि उदाहरण दिँदै स्वरुपले भने, 'बुवाबाट संगीत मात्र होइन, जीवन जीउने कला पनि सिकेको छु ।' आफैँले गाएको गीत जीवनको कुनै मोडमा पुगेर ठ्याक्कै आफैँसँग मेल खाइदेला भन्ने कसले सोचेको हुन्छ र ? 'जीवन भन्नु त घात छ' गीत गाउँदा भक्तराजले पनि आफूलाई कुनै दिन मेल खाला भनेर सोचेका थिएनन् । यहि गीत कार्यक्रममा स्वरुपले गाए ।

बीचमा उनी भावुक भएर गीतको एक अंश दोहोर्‌याए । दर्शक दीर्घामा बसिरहेका धेरैको आँखा रसाइरहेको थियो । सत्यराजले 'जहाँ छन् बुद्धका आँखा' गीत गाएर कार्यक्रमको सुरुवात गरे । दोस्रो प्रस्तुती गजल थियो, 'यतिसम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ' । सत्यले कार्यक्रमको बीच बीचमा चुट्किला सुनाउँदै माहोल रमाइलो बनाइरहे । स्वरुपले गीतको पृष्ठभूमि बताउँदै गाउँदै गरे ।

बुवाको कडा अनुशासनमा हुर्किएका उनीहरुलाई बुवाकै अगाडी उहाँकै गीत गाउनु कम चुनौतीपूर्ण थिएन । स्वरुपले भने, 'हरिहरणको अगाडी गाउन डर लाग्दैन तर बुवाको अगाडी डर लाग्छ ।' डराएरै गाए पनि उनले 'मलाइ मेट्न देउ मैले कोरेका रेखाहरु' गाउँदा श्रोता मन्त्रमुग्ध भए । पाकिस्तानी गायक शेखत अली शक्ति बल्लभको गीत गाउन नेपाल आएका थिए । त्यतिबेला रेडियोमा यो गीत बजेको सुनेर उनले भनेका थिए, 'नेपालमा पनि यस्तो गीत गाउने मान्छे छन् ? '

त्यहि बेला शेखत भक्तराजलाई भेट्न रेडियो नेपाल सम्म पुगेको किस्सा स्वरुपले सुनाए । बुवाको गीत गाउनु फलामको चिउरा चपाउनु जस्तो भएको बताउँदै उनले अर्को कालजयी गीत पस्किए, 'प्रिया तिम्रो मुहारमा हाँसो मैले कहिले देखिन ।' सत्यले 'म कहिँ कतै हराएँ भने', 'हजार सपनाहरुको माया लागेर आउँछ' लगायतका गीतहरु सुनाए । रेष्टा फाउन्डेशनको सहयोगार्थ आयोजित कार्यक्रममा भक्तराजले गाएका ३० देखि ४० को दशकका स्वर्णिम गीतहरु सुनिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.