तनहुँमा छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु
दमौलीः तनहुँमा छुटाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। शुक्लागण्डकी नगरपालिकामा जीपको ठक्करबाट एक व्यक्तिको ज्यान गएको हो।
भीमाद चोक बेलचौताराबाट खैरेनीटार जाँदै गरेको ग १ च ७०३० नम्बरको महिन्द्रा जीपको ठक्करबाट घाइते पैदलयात्री बारा जीतपुर–१२ घर भइ डेरा गरी बस्ने ४२ वर्षका शंकर साहको मृत्यु भएको हो। उनको उपचारका क्रममा सेती गंगा सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी खेल्ने क्रममा छाब्दी खोलाले बगाउँदा घाँसीकुवा–६ निवासी जीवन परियारकी छोरी डेढ वर्षीया लाजिमा परियारको ज्यान गएको प्रहरीले जनाएको छ। डुबेकी ती बालिकालाई उपचारका लागि दमौली अस्पताल ल्याइएपनि उपचारका क्रममा उनको मृत्यु भएको थियो।