'प्रधानमन्त्री प्रचण्ड भारतीय विस्तारवादको कठपुतली'
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दावी गरेका छन्।
उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताहरुको सूचीसमेत तयार भइसकेको दावी गरेका हुन्।
नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित विजया दसमी, नेपाल संवत् ११३७ नयाँ वर्ष, दीपावलीको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले सधैं सत्ता र पद चाहिरहने एमाले यो बाटोमा जानसक्ने सम्भावना बढिरहेकोसमेत बताए।
‘अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन चाहिरहेको छैन’, उनले भने, ‘भारतीय विस्तारवादले पनि कांग्रेसभन्दा अरु दलकै नेतालाई सरकारको नेतृत्व खोजिरहेको छ।’ उनले प्रधानमन्त्री प्रचण्डलाई भारतीय विस्तारवादको कठपुतलीको संज्ञा दिए।
‘प्रधानमन्त्री प्रचण्ड भारतीय विस्तारवादका कठपुतली हुन् । गएको ६०–७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले प्रचण्डमार्फत गरेको छ’, बिजुक्छेले भने।
उनले प्रधानमन्त्री प्रचण्डका सचिव तथा सल्लाहकारहरुसमेत भारतीय दलाल भएको दावी गरे। ‘प्रचण्डका सचिव तथा सल्लाहकारहरु भारतीय विस्तारवादका दलाल नभएका भए नेपाललाई भूटानको स्थितिमा पु¥याउन सकिने थिएन’, उनले भने, ‘त्यसैले प्रचण्डले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु राम्रो संकेत होइन।’
उनले भारतीय विस्तारवादविरुद्ध कुनै पनि बेला संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको भन्दै त्यसको लागि तयार रहनु युवाहरुलाई निर्देशन दिए।
अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो।
बिजुक्छेले स्थानीय तहबारे तीन दलले गरेको सहमतिअनुसार चैतभित्र निर्वाचन हुने सम्भावना नभएको बताए। तीन ठूला दलहरुबीच भएको सहमति कार्यान्वयन हुनेमा त्यसका नेता तथा साँसदहरु नै विश्वस्त नभएको उनको भनाइ थियो। उनले निर्वाचनमा थ्रेस होल्ड राख्ने ठूला दलहरुको सोच र कार्यशैली पञ्चायती भएकोसमेत आरोप लगाए।