आँबुखैरेनीमा पहिरो जाँदा पृथ्वी राजमार्ग ८ घण्टादेखि अबरुद्ध
आँबुखैरेनीः पृथ्वी राजमार्गको आँबुखैरेनी नजिकैको सडकमा बिहान पौने आठ बजे झरेको पहिरो सात घण्टासम्म पनि पन्छाउन सकिएको छैन। सडक डिभिजन दमौलीको दुईवटा डोजरले पहिरो गएको दुईघण्टापछि पहिरो पन्छाउन थालेको थियो।
आँबुखैरेनीदेखि करिब एक किलोमिटर पूर्व ऐनापारमा सडकमाथिबाट पहिरो खस्दा करिब एक सय मिटर सडक ढाकिएको छ। पहिरोको दुवैतिरबाट दुई–दुईवटा डोजर लगाउँदा पनि दिउँसो अबेरसम्म पहिरो पन्छ्याउन नसकिएको इलाका प्रहरी कार्यालयका आँबुखैरेनीका प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
पहिरो पन्छ्याउन नसक्दा दशैंका बेला आउजाउ गर्ने यात्रु समस्यामा परेका छन्। सवारीसाधन आँबुखैरेनीसम्म लाम लागेका छन्। यात्रुहरु सडकभरि अलपत्र अबस्थामा छन्।
‘पहिरो फारिरहँदा माथिबाट पहिरो खस्ने क्रम पनि जारी छ’ प्रहरी निरीक्षक श्रेष्ठले भने,‘निरन्तर काम भइरहेकाले चारबजेतिरबाट एकातर्फी खुलाउ सकिन्छ कि भन्ने आशा छ।’ राजमार्ग जोडिने बैकल्पिक बाटो नहुँदा यात्रुहरु समस्यामा परेका हुन्।