लोकल खसीमै छ स्वाद

 लोकल खसीमै छ स्वाद

काठमाडौं: दसैंमा मासु खान खसीबोका खरिद गर्न खोज्दै हुनुहुन्छ भने खसीबोकासम्बन्धी सम्पूर्ण जानकारी लिएर किनमेल गर्दा उत्तम हुन्छ । आवश्यक जानकारीबिना खरिद गरिने खसीबोकाले दसैंपर्वको रमझम बेस्वादिलो बनाउन सक्छ ।

उपत्यकाको कलंकीस्थित खसीबजार, टुकुचा, बिजुलीबजारलगायतका ठाउँमा भारतबाट आयात हुने र स्वदेशमै उत्पादन हुने खसीबोका बिक्रीमा राखिएका छन् । बजारमा कोही सेता छन्, कोही काला छन् । कोही खैरो छन् भने कोही मधुरो रातो रङका भुत्ला भएका खसीबोका यत्रतत्र छन् । कुनै हृष्टपुष्ट छन् ।

कुनै निकै अग्ला छन् भने कुनै होचा पनि छन् । हेर्दा सबै खसीबोका किनौंकिनौं लाग्छ । लाग्छ ती सबै खसीबोका स्वस्थकर छन् । सबैको मासु एकनाश छ । सबैको मूल्य समान छ । यो सोचाइ राखेर खसीबोका खरिद गर्दै हुनुहुन्छ भने तपाईंको छनोट गलत हुनसक्छ ।

विज्ञहरूका अनुसार दसैंमा बिक्री हुने खसीबोका खरिद गर्दा केही आधारभूत विषयवस्तुमा ध्यान दिनुपर्ने हुन्छ । विज्ञहरू भन्छन्, 'स्वादिलो मासुको उपभोग गर्न सकेसम्म स्वदेशमा उत्पादन भएका 'लोकल' जातका खसीबोका रोजौं । भारतबाट आयात हुने खसीबोका व्यावसायिक नाफा प्रयोजनका लागि उत्तम मानिए पनि स्वाद र स्वास्थ्यका लागि लोकल जातको खसीबोका उत्तम मानिन्छ ।'

चौपाया खरिदबिक्री सेवा संघका पूर्व अध्यक्ष दीपक थापाका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर मिठो स्वाद भएको मासु खाने हो भने लोकल जातकै खसीबोका रोज्दा उत्तम हुन्छ । मूल्यमा लोकल जातका खसीबोका भारतीय खसीबोकाभन्दा केही महँगो भए पनि स्वदेशको उत्पादन राम्रो भएको उनले बताए । लोकल र भारतीय खसीबोका टाढाबाट हेर्दा उस्तै देखिए पनि नजिकबाट हेर्दा फरक छुट्ट्याउन सकिन्छ ।

दसैंमा बिक्री हुने खसीबोकामा सबैभन्दा पहिले सिङमा 'हरियो' र 'रातो' रङ लगाइएको आधारमा छनोट गर्नुपर्छ । हरियो रङले स्वास्थवद्र्धक छ भन्ने जनाउँछ भने रातो रङले अस्वस्थकर छ भन्ने बुझाउँछ । सरकारले दसैंमा उपत्यकामा भित्रिने सम्पूर्ण खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य भेटिएको अवस्थामा सिङमा हरियो रङ र अस्वस्थ भेटिएमा सिंहमा रातो रङ लगाइदिन्छन् । खसीबोका खरिद गर्दा पहिलो छनोटको आधार यसैलाई मान्नुपर्छ ।

त्यसपछि लोकल खसीबोका खरिद गर्ने वा भारतीय खसीबोका खरिद गर्ने भन्नेमा निक्र्योल गर्नुपर्ने पशुपन्छी मन्त्रालयका पशु चिकित्सक डा. मुकुल उपाध्यायले बताए । स्वादिलो मासु र धेरै दिनसम्म राखेर खानुपर्ने छ भने लोकल जातकै खसीबोका खरिद गरेको जाती । यसका लागि खसीबोकाको शरीरमा दाग ( शरीरका भुत्ला कैंचीले टाटेपाटे गरी काटिएको ) छ वा छैन हेर्नुपर्छ । लोकल खसीबोकाको शरीरमा दाग हुँदैन ।

अर्थात् कैंचीले शरीरको भुत्ला टाटेपाटे गरी काटिएको हुँदैन । भारतीय खसीबोकाको भुत्ला काटिएको हुन्छ । त्यस्तै लोकल खसीबोकाको शरीरमा भुत्ला बढी हुन्छ ।

लोकल खसीबोका फुर्तिला, हृष्टपुष्ट, चञ्चले हुन्छन् । त्यस्ता खसीले स्याउला, घाँसपात, मकैलगायत सबै सामग्री खान्छन् भने भारतीय खसीबोका एकलकाटे, दुब्ला, पातला र बिरामीजस्ता देखिन्छन् । भारतीय खसीबोका गहुँ र चना बढी रुचाउँछन् । 'भारतीय खसीबोकाको तुलनामा लोकल खसीबोकामा मासु केही कम हुन्छ । बोसो निकै कम हुन्छ । तर स्वस्थकर र स्वादिलो मासु लोकलमै हुन्छ', डा. उपाध्यायले भने । उनका अनुसार लोकल खसीबोकाको मासु केही दिनसम्म पनि जर्गेना गरी खान मिल्छ । तर भारतीय मासु धेरै दिनसम्म राखेर खान मिल्दैन ।

भारतीय खसीबोका खरिद गरेर घरमा पनि धेरै दिनसम्म राख्न मिल्दैन । हावापानी र चरन सामग्री अमिल्दो भएर केही दिनमै भारतीय खसीबोका बिरामी हुने खतरा हुन्छ । यसबाहेक स्वस्थ खसीबोका छनोट गर्न केही अन्य आधारभूत लक्षणमा पनि ध्यान दिनुपर्छ । श्वासप्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट र्‌याल-सिँगानजस्तो आएको र ज्वरो आएको खसीबोका सकेसम्म खरिद गर्नु हुन्न ।

यसैगरी टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिएका खसीबोका पनि खरिद गर्नुहुन्न । मुखबाट र्‌याल आउने, असामान्य रूपमा कराउने, छिनछिनमै दिसा गर्ने र खुट्टाले भुइँ कोट्याइरहने खसीबोका पनि अस्वस्थ मानिन्छ । त्यसैगरी खसीबोकाको गिजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त र झोक्राउनेजस्ता लक्षण देखिने खसीबोका पनि लगत रोजाइँ हुन सक्छ ।

भारतीय खसीबोका चार सय ४७ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ भने लोकल जातका जिउँदो खसीबोका प्रतिकिलो चार सय ६५ रुपैयाँका दरले व्यवसायीले बिक्री गर्दै आएका छन् । लोकल जातका खसीबोका लहान, जनकपुर, कटारी, सल्यान, सुर्खेत, कोहलपुर, बर्दिया, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लाबाट उपत्यकामा भित्र्याइन्छ । दसैंमा राजधानीमा १० देखि १५ हजारको संख्यामा लोकल खसीबोका बिक्री हुन्छ । उपत्यकामा खपत हुने खसीबोकामध्ये ८५ प्रतिशत भारतबाट आयात हुन्छ । दसैंमा मात्रै राजधानीमा ४५ हजार खसीबोका खपत हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.