सुविधा लिन 'नक्कली अपांग कार्ड'
सुर्खेत: सेवा तथा सुविधा लिन सांगहरूले पनि अपांगता परिचयपत्र लिने गरेको पाइएको छ । पहँचका आधारमा डाक्टरबाट अपांग भएको मेडिकल रिपोर्ट बनाउने र भुक्याएर परिचयपत्र लिने गरेको तथ्य महिला तथा बालबालिका कार्यालय सुर्खेतले जनाएको हो ।
अपांगता परिचयपत्र (कार्ड) कै आधारमा सरकारले भत्ता उपलब्ध गराउँदै आएको छ । यस्तै सरकारी सेवामा प्रवेश, बढुवा र लोकसेवामा पनि अपांगता भएकाहरूलाई आरक्षणको व्यवस्था गरिएको छ । यही सुविधा पाउने लोभमा सामान्य व्यक्तिले विभिन्न बहाना बनाएर अपांगताको कार्ड लिने गरेका छन् ।
'पहुँचका भरमा डाक्टरसँग मिलेर नक्कली रिपोर्ट बनाउँछन् । हामीकहाँ आउँदा पनि अपांग भएको अभिनय गर्छन्', प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले भनिन्, 'सुविधा पाउने लोभमा नक्कली अपांगले कार्ड लिन खोज्छन् । हामीलाई पनि झुक्याएर कार्ड लिएको भेटियो । मेडिकल रिपोर्ट देखाएपछि हामीले कार्ड दिनैपर्छ ।'
परिचयपत्र वास्तविक पीडितले मात्र पाऊन् भन्नेमा आफूहरू प्रतिबद्ध रहेको भन्दै पौडेलले थपिन्, 'अब हामी जिल्लाभरका अपांगता कार्डको छानबिन गर्छौं । नक्कली व्यक्तिबाट कार्ड खोसेर बदर गर्छौं । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ ।'
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले अपांगता परिचयपत्रको दुरुपयोग रोक्न आफूहरू तयार रहेको बताए । उनले भने, 'सुविधा वास्तविक पीडितले पाउने हो । राज्यको आँखा छलेर सुविधा दुरुपयोग गर्नेलाई छोड्दैनौं ।' उनले अब अपांगता कार्ड वितरणप्रक्रिया पनि सरल बनाउनुपर्ने बताए । राज्य जनताको दैलोमै पुगेर सेवा दिने अभियानमा रहेको भन्दै उनले वास्तविक अपांगता भएका व्यक्तिलाई कार्ड उपलब्ध गराउनेतर्फ सोच्नुपर्ने उल्लेख गरे ।
अपांगता भएकाहरूलाई आयआर्जनमा संलग्न गराएर आत्मनिर्भर बनाउन सबैको साझा पहल आवश्यक भएको उनको भनाइ छ । गाविस सचिवहरूले पहुँचका आधारमा अपांगता कार्ड वितरण भइरहेको गुनासो गरेका छन् । राकमका गाविस सचिव श्यामलाल खरेलले भने, 'पहिला हिँड्न नसक्ने भन्दै (क) वर्गको कार्ड लिएकाहरू अहिले दौडन थालेका छन् । यसले वास्तविक अपांगलाई घाटा भएको छ । नक्कलीले फाइदा लिने र वास्तविक पीडित ओझेलमा पर्ने अवस्था आयो ।'
सालकोट गाविसका सचिव तिलकराम अधिकारीले कार्ड वितरणमा ध्यान दिनुपर्ने बताए । हालको वितरण प्रणाली झन्झटिलो भएको भन्दै उनले दुर्गम गाउँबाट आउने सेवाग्राहीले सहज रूपमा प्राप्त गर्ने गरी कार्ड वितरण गर्नुपर्ने सुझाव दिए । आर्थिक अभावकै कारण धेरैले सदरमुकाम आएर कार्ड लिनसक्ने अवस्था नभएको भन्दै उनले गाउँमै शिविर सञ्चालन गर्न आग्रह गरे ।
अपांग सशक्तीकरण केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्मा भने अपांगता परिचयपत्र नपाएकै कारण अहिले पनि जिल्लाका अधिकांश अपांगता भएका व्यक्ति राज्यको सेवा तथा सुविधाबाट वञ्चित भइरहेको बताउँछन् । आफूहरूले अपांगता भएकालाई आयआर्जनका लागि सहयोग गरेको भन्दै उनले कार्ड वितरणलाई सहज बनाउन माग गरे ।
गाउँबाट कार्ड बनाउन सदरमुकाम आएकाहरू समयमा नै कार्ड नपाउँदा खाली हात फिर्ता हुने गरेको उनको गुनासो छ । यसका लागि सहज व्यवस्था गरिदिन उनले महिला तथा बालबालिका कार्यालयलाई आग्रह गरे । साथै उनले नक्कली अपांग बनेर कार्ड लिनेहरूमाथि छानबिन गर्न माग गरे ।