‘प्रधानमन्त्री प्रचण्ड ओलीकै बाटोमा’
वीरगन्जः तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकारले मधेसी मोर्चालाई ठगिरहेको बताएका छन् ।
विजया दशमीको उपलक्ष्यमा बाराको रामपुर टोकनीमा बिहीबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सोनलले सरकार गठनका बेला मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकार इमान्दार नदेखिएको बताए ।
मधेसको मुद्धामा अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि पूर्वप्रधामन्त्री केपी ओलीकै बाटोमा हिडेको भन्दै महामन्त्री सोनलले भने ,‘मधेसका एजेण्डको सवालमा प्रचण्ड पनि ओलीकै लाइनमा हिडेका छन्, यसले नतिजा सुखद ल्याउदैन ।’
सरकारको कामकारबाहीले मधेसी मोर्चा सन्तुष्ट नरहेको भन्दै महामन्त्री सोनलले भने, ‘सरकार गठन ताका भएको सहमतिप्रति सरकार प्रतिबद्ध देखिएन, मोर्चालाई प्रचण्डले ठगिरहेका छन् ।’
मधेसको माग सम्बोधनका लागि छठ सम्मको समयसीमा मोर्चाले दिएको भन्दै उनले छठसम्म पनि संविधान संशोधन मामर्फत् मधेसको माग पूरा नगरिए मोर्चा आन्दोलनको आँधीबेहरी लिएर मधेसमा फेरि झर्ने चेतावनी दिए ।
उनले आन्दोलनकै बलबाट मधेसीको माग पुरा गराउने दाबी गरे । उनले भने, ‘मधेसको मुक्ति कांग्रेस एमाले र माओवादीबाट सम्भव छैन, जे जस्तो भएपनि मधेसी दलले नै मधेशीलाई अधिकार सम्पन्न बनाउछन् ।
राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टी र तमलोपा बीच एकीकरणका लागि आन्तरिक तयारी भइरहेको भन्दै उनले भने ,‘पार्टी एकीकरणका लागि दुवै दलका उच्च तह बीच गम्भीर छलफल चलिरहेको छ, छिट्टै एकता हुन्छ ।
विगतका आन्दोलनमा मधेसी दलहरु अलग अलग भएका कारण आफूहरु कमजोर भएको स्वीकार्दै तमलोपाका महामन्त्री सोनलले भने, ‘मधेसी दल एक हुनुपर्छ भन्ने मधेसी जनताको चाहना छ, त्यही जनचाहनालाई मध्य नजर गरेर सद्भावनासँग पार्टी एकीककरणका लागि तयारी भइरहेको छ ।