पूर्व गृहमन्त्री घिमिरेको गाडी दुर्घटनास्थलमा छानबिन टोली
चितवनः पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना त्रिशूली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको छानबिन समितिले बिहीदेखि स्थलगत अध्ययन थालेको छ ।
समितिमा पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजक तथा सदस्यमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, नेपाल प्रहरीका नायब महानिरीक्षक पङ्कज श्रेष्ठ, सडक विभागका उपमहानिर्देशक उमाकान्त झा र इन्जिनियर मधुसूदन साँखी रहेका छन् ।
समितिले घटनास्थलमा सडकको अवस्था, दुर्घटनाका कारण, उद्धार र खोजी लगायत विषयमा अध्ययन गर्नेछ ।
सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार समितिका सदस्यले आज बिहान १०:३० बजेदेखि स्थलगत रुपमा काम थालेका हुन् । यही असोज ९ गते काठमाडौँतर्फ जाँदै गर्दा घिमिरे सवार गाडी पृथ्वी राजमार्गको घोप्टेभिरबाट त्रिशूलीमा खसेको थियो ।
दुर्घटनामा परी पूर्वगृह तथा परराष्ट्रमन्त्री सहित दुई भाइ नदीमा बेपत्ता छन् भने आमासहित तीन जनाको मृत्यु भएको छ।
घाइते चालकको काठमाडौँमा उपचार भइरहेको छ । हालसम्म खोजी जारी रहे पनि गाडी र बेपत्ता व्यक्ति फेला पार्न सकिएको छैन ।