नाटकको कुनै देश र सीमा हुँदैन

नाटकको कुनै देश र सीमा हुँदैन

भक्तपुरः नेपाल भाषा एकेडेमीका कुलपति शताब्दीपुरुष सत्यमोहन जोशीले नाटकको कुनै देश र सीमा नहुने बताएका छन्। शताब्दीपुरुष जोशीको महाकाव्य अरनिकोको श्वेतचैत्यमा आधारित नेपाल भाषाको पूर्णांकी नाटक ‘अरनिको यागु श्वेतचैत्य’मा अभिनय गरेका कलाकारलाई भक्तपुरमा सम्मान गर्दै उनले साहित्य विश्वव्यापी हुने बताएका हुन् ।

चीन भ्रमणका क्रममा नेपाली कलाकार अरनिकोले बौद्ध दर्शनमा आधारित रहेर चीनमा बनाएको श्वेत चैत्यबारे अध्ययन अनुसन्धान गरेर ‘अरनिकोको श्वेतचैत्य महाकाव्य’ तयार गरेको उनले जानकारी दिए । उनले उक्त महाकाव्यलाई चिनियाँ दूतावासले चिनियाँ भाषामा समेत अनुवाद गर्ने चासो देखाएको बताए ।

नेपाल भाषामा लिखित उक्त महाकाव्य नेपाली र अंग्रेजी भाषामा अनुवाद गरिसकिएको छ । उक्त महाकाव्यले नेपाल भाषा साहित्यको सबैभन्दा ठूलो मानिने पुरस्कार ‘ श्रेष्ठ सिरपा’ पाइसकेको छ । सोही महाकाव्यमा आधारित रहेर काभ्रेका इतिहासकार ज्ञानकाजी मानन्धरले ‘अरनिकोयागु श्वेतचैत्य’ पूर्णांकी नाटक तयार गरेका थिए । नेपाल साहित्य मन्दिर भक्तपुरले निर्माण गरेको उक्त नाटकको निर्देशन मध्यपुरका कलाकार बालमुकुन्द प्रजापतिले गरेका हुन् ।

यसअघि नेपालभाषाकै ‘तापालय्’ चलचित्र निर्माण गरेका प्रजापति यस नाटकमा अरनिकोको प्रमुख भूमिकामा छन् । काठमाडौंको राष्ट्रिय नाचघर र काभ्रेको बनेपामा सार्वजनिक प्रदर्शन गरिएको उक्त नाटकलाई चलचित्रमा उतार्ने प्रयास भइरहेको निर्देशक प्रजापतिले जानकारी दिए ।

राष्ट्रिय विभूति अरनिकोको चीन यात्रासँग सम्बन्धित ऐतिहासिक नाटकमा अभिनय गरेका कलाकारको प्रतिभाको कदर गर्दै उक्त सम्मान गरिएको नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलकप्रकाश कायस्थले बताए ।

उनले ऐतिहासिक नाटक पहिलोपटक मञ्चन हुनु नै ठूलो उपलब्धि भएको बताए । दुई दशकअघि लेखिएको उक्त नाटक अहिलेसम्म मञ्चन भएको थिएन ।

नाटकमा नेपाल–चीन सम्बन्धका सेतु राष्ट्रिय विभूति अरनिकोको योगदान तथा नेपालको कलाकृति, वास्तु तथा कलाकारकोे क्षमता उजागार गरिएको छ । नाटकमा ऐतिहासिकतासँगै तत्कालीन नेपाली समाजको चित्रण पनि पाइन्छ ।

नौ भागमा विभक्त नाटकका तीन भागमा नेपालको सन्दर्भ छ । बाँकी ६ भागमा चीनका तिब्बत, उत्तरी चीन हुँदै युआन सम्राट् कुब्लाइ खाँको राजदरबारको सन्दर्भ उल्लेख छ ।

नाटकमा दुई दर्जनभन्दा बढी नेपालभाषाका कलाकारले अभिनय गरेका छन्, जसअनुसार अरनिकोकी नेपाली श्रीमती जयादलक्ष्मीको भूमिकामा रोजी बज्राचार्य रहेकी छन् । अरनिकोकी चिनियाँ श्रीमती न्याउको भूमिकामा भने रोश्मी भेले छिन् ।

त्यस्तै तात्कालीन लिच्छवि राजा भीमदेवको भूमिकामा राजु मानन्धर, अरनिकोका बाबु र आमाको भूमिका क्रमशः हरिसुन्दर पोतामाहाँ र अस्मिता मानन्धर छन् ।

चिनियाँ सम्राट् कुब्लाइ खाँको भूमिकामा महेशप्रकाश हाडा छन् भने चिनियाँ राजगुरुको भूमिकामा राजेश फाँजू छन् । यी चिनियाँ राजगुरुले सम्राट् कुब्लाइ खाँलाई नेपाली वास्तुकलासँगै भगवान् बुद्धको नाउँमा नेपालमा बनेका चैत्य तथा स्तूपाहरूको भव्यता तथा ख्यातिबारे जानकारी दिँदै चीनमा पनि नेपालमा जस्तै बौद्ध स्तूपा तथा चैत्य बनाउन अरनिकोको नेतृत्वमा नेपाली कलाकारहरूरु लैजान्छन् । त्यसअनुसार अरनिकोले चीनमा ख्याति पनि कमाउँछन् ।

तिनै कलाकार एवं वास्तुविद् अरनिकोको जीवनीमा आधारित नाटकका कलाकारहरूलाई शताब्दीपुरुष जोशीले खादा ओढाउँदै प्रशंसापत्रले सम्मान गरेका हुन् । त्यस्तै नाटक मञ्चन गर्न सहयोग गर्ने दाताहरूलाई पनि सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.