अनेकतामा एकताको प्रतीक दसैंः राष्ट्रपति
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंले भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव, जातजाति र समुदायसमुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गरेकी छन् ।
उनले बडादसैंका अवसरमा शुभकामना वक्तव्य दिँदै भनेकी छन्, ‘ अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रूपमा रहेको बडादसैंका रूपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महŒवपूर्ण योगदान गरेका छन् ।’
यो महान् चाडले विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा कायम रहने विश्वास उनले व्यक्त गरेकी छन् ।
हाल मनाइरहेको महान् पर्व बडादसैं तथा विजयादशमीले हिमाल, पहाड र तराईमधेस तथा मेचीदेखि महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न विश्वास राष्ट्रपति भण्डारीले वक्तव्यमार्फत गरेकी छन् ।
‘नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माण अभियानमा अघि बढ्न सकौं ! शक्तिस्वरूपा दुर्गा भवानीले हामी सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन आशीष दिऊन्’, उनले कामना गरेकी छन् ।