पूर्वराजाले प्रश्नको झटारो हान्नु शुभसंकेत होइनः बाबुराम
काठमाडौँ: पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रका विषयमा प्रश्न गर्नु शुभ संकेत नभएको बताएका छन् ।
ज्ञानेन्द्रले शुक्रबार दसैंको शुभकामना दिँदै गणतन्त्रको दश वर्षमा केही उपलब्धि हासिल नभएको भन्दै प्रश्न गरेका थिए। तिनै प्रश्न तर्फ लक्षित गर्दै आइतबार बाबुरामले भनेका छन्, ‘वडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत हैन ।’
बाबुरामले ज्ञानेन्द्रलाई एउटा औँला अरुतिर फर्काउँदा चार औँला आफूतिर फर्किने कुरा बुझ्न समेत सुझाव दिएका छन् । बाबुराम ट्वीट गर्छन्, ‘वडादसैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दललाई ७ बुँदे प्रश्नको झटारो हान्नु शुभसंकेत हैन । १ औँला अरुतिर फर्काउँदा ४ आफूतिर फर्किन्छ है !’
वडादशैंको शुभकामना सन्देशमा पूर्वराजाले जनता र दलहरूलाई ७-वुँदे प्रश्नको झटारोहान्नु शुभसंकेत हैन।१औंला अरूतिर फर्काउँदा४आफुतिर फर्किन्छ है!
— Baburam Bhattarai (@brb1954) October 9, 2016
दसैंको शुभकामनामा ज्ञानेन्द्रले उठाएका सात प्रश्नः
१ वितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
२ राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
३ भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहीनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
४ विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
५ परिपक्व परराष्ट्रनीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
६ घरपरिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ?
७ अपराध र अपराधिकरणलाई निरुत्साहिक गरियो या जनताका निम्ति के–के गरियो ?