दसैंमा पहिरनः टिनेजरको रोजाइमा लेहंगा
दसैं भनेकै नयाँ लुगा लगाउने, मीठो खाने, रमाइलो गर्ने समय हो । नयाँ लुगा लगाउन र मीठो खान दसैं नै कुर्नु नपर्नेहरूलाई पनि दसैंमा नयाँ लुगाको महत्व घटेको छैन ।
पारिवारिक जमघटसँगै टीका लगाउन दौडधुप गरिने हुँदा यो समयमा लगाउने पहिरनमा अलि ध्यान दिनुुपर्छ । हलुका र सजिलो लुगा लगाउँदा यताउता हिँडडुल गर्न सजिलो हुन्छ । ‘हेवी पार्टी वेयर’ लगाएर धेरै ठाउँमा टीका लगाउन पुग्न निकै सकस हुन्छ । पहिरन समाल्नु कि टीका थाप्नुजस्तो हुनसक्छ । सजिला र स्टाइलिस पहिरनमा नै आकर्षक देखिन सकिएला ।
मौलिक चाड भएकाले दसैंमा ‘वेस्टर्न ड्रेस’ भन्दा सारी कुर्ता लगाउनु नै राम्रो हुने सुझाव फेसन डिजाइनर रीता थापाको छ । दसैंमा कुर्ता सलवार, सारी ब्लाउज नै बढी प्रयोग हुन्छन् । हलुका खालका लेहंगा पनि दसैंका लागि राम्रो पहिरन हुन्छ । टिनएजरमा धेरैजसोको रोजाइ लेहंगा नै हुने गरेको छ । यसपालि चन्देरी सिल्कको कपडा धेरै चलेको छ ।
यो धेरै महँगो पनि छैन र क्लासको देखिन्छ । ‘हेवी वर्क’ भएका पहिरन लगाउनुभन्दा ‘कलर कम्बिनेसन’ मिलाएर ठीकै खालका पहिरन धेरैको रोजाइमा परेको छ । रीताका अनुसार उज्यालो रङहरू फेसनमा छ । पुरुषका लागि दौरा सुरुवाल, कमिज सुरुवाल, कुर्ता पाइजामा नै राम्रो देखिन्छ । ज्वारी कोट अहिलेको फेसन ट्रेन्डमा छ ।
नेतादेखि अभिनेतासम्मको रोजाइमा ज्वारी कोट परेको छ । चाडबाडको समयमा अँध्यारोभन्दा उज्यालो रङहरू नै बढी सुहाउँछ । सबैतिर खुसियाली हुने यो समयमा मानिसका अनुभूतिलाई पहिरनले प्रतिविम्बित गर्छन् । मनभित्रको उज्यालो र खुसी झल्काउन पहिरनले पनि केही मद्दत गरेको हुन्छ ।
यस्तो पहिरन नरुचाउनेले साधारण जिन्स प्यान्ट र टिसर्ट नै लगाउँदा राम्रो हुन्छ । जस्तो पहिरन लगाए पनि दसैंमा ढाका टोपी भने अनिवार्य हुन्छ । संस्कारअनुसार ढाका टोपीबिना टीका थाप्नु हुँदैन । ढाका टोपी लगाउनलाई दौरा सुरुवाल नै लगाउनु पर्दैन । यो जुनसुकै पहिरनमा पनि सुहाउँछ । धेरै हिँड्नुपर्ने हुँदा ‘फुटवेयर’ मा पनि विशेष ध्यान दिनुपर्छ ।
स्टाइलिस देखिने बहानामा पार्टी वेयर जुत्ता लगाइयो भने दिनभरि पछुताउनुपर्छ । महिलाका लागि हलुका र सजिलो हुनुका साथै स्टाइलिस देखाउने मखमलका जुत्ता नै उत्तम रोजाइ हुनसक्छ । हिलभन्दा फ्ल्याट जुत्ता रोज्नु राम्रो हुन्छ । पुरुषले पनि टिलिक्क देखिने पार्टी वेयरभन्दा सजिलो हुने जुत्ता नै रोज्नु बेस हुन्छ ।