कमल थापा परिवारसहित चीनको धार्मिक भ्रमणमा
काठमाडौँ: चीन सरकारको निमन्त्रणामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बिहीबार चीन प्रस्थान गरेका छन् ।
चिनियाँ सरकारको मैत्रीपुर्ण निमन्त्रणामा अध्यक्ष थापा ६ दिने चीन भ्रमणमा निस्किएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
थापा बिहीबार बिहान ११ बजे ल्हासातर्फ उडेका छन् । थापासँगै श्रीमती प्रलिसा थापा, छोरा सुवास थापा, बहिनी र राप्रपा नेपालका कोषध्यक्ष उद्धव पौडेल चीन गएका छन् ।
अध्यक्ष थापा शुक्रबार सिगात्से जाने कार्यक्रम छ । चीनको धार्मिक भ्रमणमा निस्किएका थापा चिनियाँ हेलिकोप्टरमा कैलाश मानसरोबर पुग्ने सहप्रवक्ता थापाले जानकारी दिए ।
चीनको उच्च राजनीतिक भेटवार्ताको कुनै कार्यक्रम नभए पनि तिब्बतमा केही नेतासँग राजनीतिक वार्ता हुने छ । थापा कात्तिक दुई गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।